s

यूएईमा नेपालीलाई एजेन्टद्वारा यातना

होम कार्की
 
‘भोलिदेखि कसैले उचालेर उचालिइस भने सेटिङमै गाडिदिन्छु,’ चितवनका साजन भनिने प्रेम पाण्डेले पीडितलाई कुट्दै भने,‘तैले के सोचेको ? यूएईमा बस्यो भन्दैमा केही गर्न सक्तैन भनेको ?’
 
रक्सीको नसामा डुवेका पाण्डे कोठामा अलपत्र भएका कामदारलाई पिट्दै थर्काइरहेका थिए,‘यहाँ दिराममा खेल हुन्छ । २० हजार दिराम प्रहरीलाई खुवाए भने सब मिल्छ । कसैले थाहा नै पाउँदैनन् ।’ 
 
कान्तिपुरलाई प्राप्त भिडियोमा पीडित कामदारलाई एउटा कोठामा पाण्डे र उसका अरु नेपाली सहयोगीले जथाभावी गालीगलौज गर्दै पिट्दै सोधिरहेका थिए,‘तिमीहरुलाई यहाँ खाना कसले दिएको छ ? तिमीहरु सुर्ता (प्रहरी)लाई बोलाउने ?’ 
 
पीडितहरु भने उनीहरुले शारीरिक र मानसिक यातना दिँदा पनि एक शब्द बोल्न सकिरहेका थिएनन् । ‘पशुको जस्तो ब्यवहार हुन्छ । रक्सी खाएर हरेक रात जस्तो पिट्छ । धम्की दिन्छ,’ एक पीडितले भने,‘जागिर पनि छैन । चिनेको कोही छैन । कहाँ जाने ? एउटा कुनोमा गएर बिरालो जस्तो भएर बस्न पर्छ ।’
 
 राम्रो काम र तलबको प्रलोभनमा परी उनीहरु भिजिट भिसामा यूएईको राजधानी आबुधावी पुगेका थिए । जसमा ४० जना नेपाली कामदार छन् । ‘हामी ४० जना छौं,’ ती पीडितले भने,‘कसैलाई पनि नेपालमा भनिएको जस्तो काम लगाउन सकेको छैन ।’ उनीहरु काठमाडौंस्थितअर्थलाईन ट्राभल्स र क्रोमोजो ट्राभल्सलाई तीन लाख ५० हजार रुपैयाँ तिरेर यूएई पुगेका थिए । 
 
२० जना कामदार उद्धारको लागि नेपाली दूतावासलाई अपील गरेका छन् । दूतावासलाई अपिल गर्नेहरुमा कुलबहादुर केसी, लोकबहादुर डाँगी, विनोद नेपाली, प्रेमप्रकाश केसी, कनार गुरुङ, मुकेश घले, तेजबहादुर गुरुङ, अर्जुन नेगी, रोशनप्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ, चन्द्रबहादुर डाँगी, नेत्र रावल, सुरेन्द्रप्रकाश चन्द, पूर्णबहादुर पुन, प्रेमलाल वली, पूर्ण राजवंशीलगायत छन् । 
 
तीमध्ये कुलबहादुर, लोकबहादुर डाँगी, प्रेमप्रकाश दुई महिनादेखि ओभरस्टे भइसकेका छन् । उनीहरुले स्वदेश फिर्नको लागि ५ हजार दिराम यूएईको अध्यागमनलाई बुझाउनुपर्छ । पीडितहरुलाई साजनले कोठामा बस्न दिएपछि सोमबार रातभर बाहिर नै बसेर नेपाली दूतावास पुगेका थिए । दूतावासमा पीडक र पीडितपक्षबीच छलफल भइरहेको छ । 
 
वैदेशिक रोजगारको लागि भिजिट भिसामा जान नपाउने भए पनि विचौलियाले मानव तस्करी गरेर पठाउँदै आएको छ । स्क्वाड ह्युमन रिसोर्सका मार्केटिङ्ग अफिसरको रुपमा कार्यरत पाण्डेले ट्राभल एजेन्सीबाट मानव तस्करी गर्दै आएका हुन् । उनलाई अवैध रुपमा कामदार पठाउने इर्थ लाईन ट्राभल्सका सञ्चालक पवित्र अधिकारीले पाण्डेको सम्पर्कमा कामदार पठाउने गरेको स्वीकार गरे । ‘साजन पाण्डे र कमलसँग सम्पर्क छ । जान इच्छुक भएकालाई उनीहरुलाई चिनाइदिन्छु । त्यसबापत एकलाख १० हजारसम्म मेरो सेवा खर्च लिन्छु,’ उनले कान्तिपुरलाई भने,‘कामदारले कमिसन, खाना बस्नको लागि थप एक हजार डलर बुझाउनुपर्छ ।’
 
उनले कसैको जिम्मा भने नलिने बताए । ‘हामी पठाइदिने हो । मान्छे चिनाइदिने हो । कसैले काम पाउँछन् । कसैले पाउँदैनन्,’ उनले भने,‘फर्केमा एकतर्फी टिकटको खर्च भने फिर्ता गरिदिन्छौं ।’
 
Published on: 5 July 2017 | Kantipur

Back to list

;