s

युएईमा नेपाली पुरूषभन्दा महिला अवैधानिक बढी

संयुक्त अरब ईमिरेट्स (युएई) मा नेपाली महिला अवैधानिक कामदारको संख्या पुरूषको भन्दा बढी रहेको पाईएको छ।

युएई सरकारले अगष्ट १ देखि शुरू गरेको तीन महिने आममाफी कार्यक्रम (एम्नेष्टि) अन्तर्गत दूतावासमा सम्पर्क राख्ने नेपालीको प्रारम्भिक तथ्यांक हेर्दा यस्तो पाईएको हो।

आममाफी कार्यक्रमबारे बुझ्न दूतावास आउने सेवाग्राहीमध्ये अधिकांश घरेलु महिला कामदार छन्। यो कार्यक्रम शुरू भएपछिको ५ सातामा दैनिक २० देखि २५ जना घरेलु महिला कामदार दूतावास आउने गरेको नेपाली दूतावास युएईका द्वितीय सचीव विष्णु अधिकारीले जानकारी दिइन्।

यसबाहेक भिजिट भिसामा युएई आई अलपत्र बनेका, ओभर स्टे भएका र कम्पनी छाडेर भागेकासमेत दूतावास आएर आममाफीको बारेमा जानकारी लिने गरेका छन्।

युएई सरकारले विभिन्न कारण अवैधानिक बनेका विदेशी कामदारहरुलाई वैधानिक बनेर यहीँ काम गर्ने अवसर दिन र सहजरूपमा घरफिर्तीको अवसर प्रदान गर्न गत अगष्ट १ तारिख देखि आममाफी कार्यक्रम संचालन गरिरहेको छ।

यो कार्यक्रममा सहभागी हुँदै नेपाली दूतावासलेसमेत आममाफी केन्द्रहरूमा कर्मचारी खटाएर सहजीकरण गर्दै आएको छ ।

आममाफी केन्द्रमा पुग्ने अवैधानिक नेपाली कामदारलाई दूतावासका कर्मचारीले ट्राभल डकुमेन्ट बनाउन र अन्य प्रशासनिक काममा सहयोग गर्दै आएको दूतावासले जानकारी दिएको छ।

दूतावासका अनुसार आममाफी प्रक्रिया अगाडि बढाएका ३९२ जना नेपालीको राहदानी नेपाली दूतावासमा प्राप्त भएको छ। त्यसमध्ये ३९ जनाले राहदानी लिएका छन्।

युएईमा अनुमान गरेभन्दा कम नेपाली अवैधानिक

अन्य देशको तुलनामा युएईमा अवैध भएर बसेका नेपालीको संख्या न्यून रहेको छ।

नेपाली दूतावासले १० देखि १५ हजार नेपाली अवैधानिक रहेको अनुमान लगाएको थियो। तर, आममाफी कार्यक्रममा सहभागी भएका नेपालीको संख्या हेर्दा ३ देखि ५ हजार नेपाली अवैधानिक रहेको हुनसक्ने दूतावासले जनाएको छ।

एसियाका भारत, बंगलादेश, फिलिपिन्स, पाकिस्तान, श्रीलंका र अफ्रिकी मुलुकका कामदारको बाहुल्यता छ। ती मध्ये सबैभन्दा धेरै बंगलादेशका कामदार अवैधानिक रहेको पाईएको छ।

Published On: 7 September 2018 | Setopati

Back to list

;