s

युएईमा नयाँ भिसा नीति लागु, भ्रमण र परिवार भिसामा आउनेलाई फाइदा पुग्ने

यही अक्टोबर २१ बाट संयुक्त अरब इमिरेटस -युएई) मा नयाँ भिसा नीति लागु भएको छ । युएईको सरकारको फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनसीप -एफएआइसी) ले आइतबारदेखि नयाँ नीति लागु भएको घोषणा गरेको हो ।

नयाँ नीति लागु भएसँगै त्यसले पर्यटक र परिवार भिसामा युएई आउनेलाई फाइदा पुग्ने छ । युएई सरकारले यो नयाँ नीतिले आफ्नो अर्थतन्त्रलाई बलियो बनाउने विश्वास लिएको छ ।

करिब साढे दुई लाख नेपाली रहेको युएईमा नयाँ भिसा नीति लागु भएसँगै त्यसले नेपालीहरुलाई पनि प्रभाव पार्ने देखिन्छ । धेरै संख्यामा नेपाली नागरिकहरु पनि भ्रमण भिसामा युएई आइ काम खोजेपछि भिसा थपेर बस्ने गरेका छन् । त्यसैले नयाँ नीतिले नेपालीहरुलाई पनि केही हदसम्म सजिलो बनाउने देखिएको छ ।

भिसा नीतिमा के के परिवर्तन भयो ?

नयाँ नीति लागु भएसँगै भ्रमण भिसामा युएई आएका पर्यटकले युएई नछोडिकन एक पटकमा ३० दिनको दरले दुई पटकसम्म भिसा थप्ने सुविधा प्राप्त गर्नेछन् ।

यस्तै नयाँ स्किम अनुसार परिवार भिसामा युएई आएपछि विधवा भएका र डिभोर्स भएका महिलाहरु र उनीहरुका बच्चालाई एक वर्षको आवासीय भिसा थप्न मिल्ने सुविधा दिइएको छ ।

आफ्नो आमाबुबाले स्पोन्सर गरेका विद्यार्थीहरुले पनि १२ कक्षाको पढाई सकेपछि युएईको दुई वर्षे भिसा पाउन सक्नेछन् । एफएआइसीका फरेनर्स अफेयर्स एण्ड पोर्ट्सका निमित्त महानिर्देशक बि्रगेडियर सइद रखन अल रसिदीका अनुसार विधवा र डिभोर्सीलाई एक वर्ष भिसा थप्ने समय डिभोर्सको वा पतिको मृत्युको दिनदेखि एक वर्षसम्मका लागि थपिनेछ । साथै भिसाको आवेदन दिनको लागि उनीहरुलाई कुनै स्पोनसरको आवश्यकता नपर्ने पनि उनले बताए ।

‘घरमुलीको मृत्युपछि महिलाहरुलाई आफ्नो सामाजिक र आर्थिक अवस्थामा घुलमिल हुने अवसर दिने हाम्रो उद्देश्य रहेको छ’ उनले भने ।

यसभन्दा अघि महिला र उनीहरुका बच्चाहरुलाई पतिसँग डिभोर्स वा पतिको मृत्यु पछि देश छोड्नुपर्ने अवस्था थियो । भ्रमण र विद्यार्थी भिसा नयाँ नीतिअनुसार भ्रमण भिसा लिएकाहरुले देश नछोडिकन दुईपटक सम्म ३०/३० दिन भिसा थप्न सक्नेछन् । त्यसका लागि प्रत्येकपटक भिसा थप्दा ६०० दिराम शुल्क लाग्ने छ ।

यसभन्दा अघि तीन महिने भ्रमण भिसा वा एक महिने पर्यटक भिसा लिएका पर्यटकहरुले भिसा अवधि सकिएपछि युएई छोड्नुपर्ने हुन्थ्यो । नयाँ नीतिअनुसार कक्षा १२ वा विश्वविद्यालय तहको पढाइ सकेका विद्यार्थीहरुलाई एक वर्षको भिसा दिइनेछ । यो भिसा १ वर्ष नवीकरण गर्न सकिन्छ । आमाबुबाले त्यसका लागि ५ हजार दिराम धरौटी राख्नुपर्छ । यसका लागि विद्यार्थीहरुले युएईमा पढेको पुष्टि गर्न आफ्नो प्रमाणित शैक्षिक प्रमाणपत्र र अन्य सहायक कागजात पेश गर्नुपर्छ बि्रगेडियर अल रसिदीले भने ।

Published on: 24 October 2018 | Onlinekhabar

Back to list

;