s

युएईमा मृत्यु हुने नेपालीको संख्या बढ्दो, आत्महत्या गर्ने अधिक

लक्ष्मण खनाल

सन् २०१७ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या ८४ जना रहेको नेपाली राजदूतावास युएईले जनाएको छ । जस मध्ये आत्महत्या गर्नेको संख्या बढी रहेको छ ।

सन् २०१७ मा युएईमा २६ जना नेपालीले अत्महत्या गरेका छन् । युएईको वातावरण, अत्यधिक गर्मी, कामको चाप, पारिवारिक चिन्ता, मानसिक दवाव, अनावश्यक तनाव आदीका कारण आत्महत्या गर्ने गरेको पाइएको छ ।
 
त्यसैगरी प्राकृतिक मृत्यु हुनेहरु मध्ये हृदयघातका कारण २४, विभिन्न रोगका कारण ९, मादक पदार्थ सेवनका कारण १ र अन्य कारणले २ जना नेपालीको मृत्यु भएको दूतावासको तथ्यांकमा उल्लेख छ ।
 
विभिन्न दुर्घटना अन्तर्गत काम गर्ने सिलसिलामा ९ जना, आगलागी र पानीमा डुबेर २ जना, दुर्घटनाका कारण २ जना र अन्य कारणले ७ जनाको मृत्यु भएको छ भने २ जनाको हत्या भएको छ । तथ्यांक अनुसार मृत्यु हुने ८४ जना मध्ये ८ जना महिला रहेका छन् भने बाँकी ७६ जना पुरुष रहेका छन् ।
 
नेपाली राजदूतावास युएईका द्वितिय सचिव कृष्ण अर्यालका अनुसार विगतका बर्षहरुको तुलनामा सन् २०१७ मा युएईमा मृत्यु हुने नेपालीहरुको संख्या बढ्दो रहेको छ । सन् २०१६ मा नेपालीहरुको मृत्यु संख्या ६६ रहेको थियो भने सन् २०१५ मा ६४ जना रहेको थियो ।
 
Published on: 8 January 2018 | Naya Patrika

Back to list

;