s

युएईमा कोरोना संक्रमित २ नेपालीको अवस्था स्थिर , दूतावासका सेवाहरु कटौती

रामकुमार परियार

युएई- युएईमा कोरोना भाईरसको संक्रमण पुष्टि भएका २ नेपालीको अवस्था स्थिर रहेको नेपाली दूतावासले जनाएको छ। कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागी उच्च सतर्कता अपनाएको युएईले यसबाट प्रभावितहरुलाई व्यवस्थितरूपमा उपचार गरिरहेको दूतावासको भनाई छ।

युएईको स्वास्थ तथा रोकथाम मन्त्रालयले गत साता २ नेपालीलाई कोरोना संक्रमणको पुष्टि गरेको थियो। दूतावासले आफ्ना नागरिकको स्वास्थ स्थिती बुझ्न स्थानीय प्रशासनसंग नियमित समन्वय गरिराखेको अबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताए। नागरिकसंग कुरा गर्दै राजदुत ढकालले युएईमा रहने सम्पूर्ण नेपालीहरुलाई कोरोनाको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।

महामारीको रूपमा विश्वभर फैलिईरहेको कोरोना भाईरसबाट युएईमा मंगलबार रातिसम्म ११३ जना संक्रमित भईसकेका छन्। ती मध्ये २ जना नेपाली रहेका छन। स्थानीय प्रशासनले संक्रमितहरुको नाम खुलाएको छैन।

द्रुत रूपमा फैलिईरहेको कोरोनाको प्रभावलाई ध्यान दिँदै युएईको स्थानीय प्रशासनले नागरिकलाई सावधानीका उपायहरु अवलम्बन गर्न आव्हान गरेको छ। साथै सार्वजनिक कार्यक्रमहरु आयोजना नगर्न , अत्यावश्यक काम बाहेक बाहिर हिँडडुल नगर्न , स्वास्थ मन्त्रालयले सार्वजनिक गरेका दिशानिर्देशहरु पालना गर्न अपिल गरिएको छ।

कोरोना संक्रमित सबै देशका नागरिकलाई यूएई सरकारले आफ्नै नागरिक सरह उपचार गर्ने तथा सम्बन्धित देशले चाहेमा सम्बन्धित देश फर्काउने लगायतका विषयमा सम्बन्धित देशका नियोगका प्रतिनिधिसँग छलफल पनि भईरहेको बताईएको छ।

दूतावासमा अत्यावश्यक बाहेकका काम ठप्प

खाडीमा रहेका नेपाली राजदूतावासहरुले अत्यावश्यक बाहेकका कामहरु अनिश्चितकालका लागि स्थगन गरेका छन्।कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी गरेका सूचनाहरु पालना गर्दै दूतावासहरुले अत्यावश्यक बाहेकका कामहरु स्थगन गरेका हुन्।

कतार स्थित नेपाली राजदूतावासले अत्यावश्यक सेवा प्रवाहका लागि सम्वन्धित कर्मचारीको नाम र संपर्क नम्बर तोकेर चैत्र २ गतेदेखि अर्को सूचना जारि नहुन्जेलसम्मका लागि राहदानी नविकरण , यात्रा अनुमती पत्र , कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा बन्द गरेको छ। ओमन स्थित नेपाली दूतावासले हिजो (चैत्र ४) देखि १ महिनासम्मका लागि कन्सुलर सेवा बन्द गरेको छ। अत्यावश्यक काम परे दूतावासमा संपर्क गरि बुझेर मात्रै दूतावास आउन दूतावासले आग्रह गरेको छ।

यसैगरी अबुधाबी स्थित नेपाली दूतावासले पनि चैत्र ४ गतेदेखि कन्सुलर सम्वन्धी सम्पूर्ण सेवाहरु स्थगन गरेको छ। तर ट्राभल डकुमेन्ट बनाउने , मृतक नेपालीको शव नेपाल पठाउन एनओसि जारी गर्ने , म्याद सकिएको राहदानी बनाउने लगायतका अत्यावश्यक सेवाहरु भने निरन्तर प्रवाह हुने नेपाली दूतावास अबुधाबीले जनाएको छ।

यसैगरी सरकारले गएको फाल्गुन २९ गते वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति रोक्ने निर्णय गरे लगत्तै खाडीमा रहेका नेपाली राजदुतावासहरुले कामदार मागपत्र प्रमाणिकरण गर्ने कार्य अनिश्चितकालका लागि स्थगन गरेका छन।

Published on: 19 March 2020 | Nagarik

Link

Back to list

;