s

युएईमा चार नेपालीलाई ब्लडमनी वापत २ करोड १० लाख रुपैयाँ

रुपेश अधिकारी

संयुक्त अरब इमिरेट्स (युएई)मा दुर्घटनामा मृत्यु भएका चार नेपालीको परिवारले क्षतिपूर्ति वापत ‘ब्लडमनी’ पाउने भएका छन् । अन्य ३१ मृतकको अदालती प्रकृया पूरा हुन बाँकी छ ।

नेपाली दूतावासका द्धितीय सचिव विष्णुकुमारी अधिकारीले अदालतको फैसला अनुसार दूतावासले पाएको दुई करोड १० लाख रुपैयाँ पराराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई पठाइसकेको बताइन् ।उनका अनुसार, ब्लडमनी पाउनेमा धनुषाका शाहदेव यादव, लम्जुङका टुकबहादुर गुरुङ, नवलपरासीका वीरबल अहिर र नवलपरासीकै लक्ष्मीमाया श्रेष्ठका परिवार छन् । यसमध्ये लक्ष्मीमायाको ३० लाख र अन्य तीनजनाको एक करोड ८० लाख रुपैँया हो ।

दूतावासले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, प्रकृया पूरा भइसकेका अन्य ७ मृतकको ब्लडमनी अदालतमा जम्मा हुन बाँकी छ भने ७ जनाको रकम दूतावासमा आइपुग्न बाँकी छ । त्यस्तै २ जनाको रकम नेपाल पठाउन मात्र बाँकी छ भने २४ जनाको मुद्धा दर्ता प्रकृयामा छ । उनीहरुले ब्लडमनी पाउने निश्चित भएपछि मुद्दा दर्ता हुने द्धितीय सचिव अधिकारीले बताइन् ।

अबुधाबीस्थित नेपाली दूतावासले गत साउनदेखि नेपाली कामदारको सबै खाले मुद्धा लड्न थालेको हो । सुरुमा समन्वयको अभाव हुँदा मुद्धा टुङ्ग्याउन लामो समय लाग्थ्यो । अहिले समन्वय र निरन्तर ताकेता हुँदा पीडितहरुले छिटो न्याय पाउन थालेका छन् ।

दूतावासको पहलमा गत असोजमा पनि दुई नेपाली परिवारले ब्लडमनी पाए । दूतावासको टोलीले गत मंसिर, पुस र माघमा युएईका विभिन्न अदालत पुगेर नेपाली कामदारमाथि लागेको मुद्धाबारे जानकारी लिएको थियो । सोही आधारमा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।

प्रकृया पूरा हुन बाँकी रहेका मुद्धाबारे निरन्तर सोधपुछ गर्ने द्धितीय सचिव अधिकारीले बताइन् । अदालती प्रकृया पूरा भइ रकम प्राप्त भए रकम क्रमशः पठाउने दूतावासले जनाएको छ । फैसला हुन बाँकी रहेका मुद्धाको हकमा दूतावासले कानुनी उपचारका लागि पहल गर्ने कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

Published on: 15 February 2019 । Onlinekhabar

Back to list

;