s

यूएईमा अलपत्र युवतीको उद्धार

यूएईको सारजहामा अलपत्र परेकी नेपाली युवतीलाई काभ्रे ल्याइएको छ। राहदानीमा काभ्रेको वाल्टिङ १ घर भएको देखेपछि सिन्धुपाल्चोक सेलाङ ९ का जगतबहादुर सिलवालले ती युवतीलाई नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाइदिएका हुन्।

यूएईबाट उद्धार गरी काभ्रे ल्याइएकी मुना दर्जी जिल्ला प्रहरी कार्यालयमा

उनको राहदानीमा हरिमाया विक नाम छ। युवतीको जन्ममिति १८ अक्टोबर १९८९ उल्लेख छ। उनी बोल्न नसक्ने अवस्थामा छिन्।

यस्तै हरिमायाको नजिकको व्यक्तिको नाम पदमबहादुर कामी लेखिएको छ। राहदानीअनुसार उनी २३ नोभेम्बर २०१३ मा विदेश गएको देखिन्छ। ती युवती गत मंगलबार सारजहामा अलपत्र अवस्थामा फेला परेको सिलवालले बताए। 'मैले उनको पासपोर्ट हरें, पासपोर्टमा काभ्रेको वाल्टिङ ठेगाना भएको देखेपछि यी नानीको उद्धार गर्नका लागि प्रहरीको जिम्मा लगाइदिएको हुँ', उनले भने।

त्यहाँ रहेका नेपालीले उनको परिवारका लागि केही राहत मिलोस् भनरे केही पैसा संकलन गरेर सँगै ल्याइदिएको उनले बताए। ती युवती आफ्नो नाम मुना दर्जी र बुवाको नाम मानसिं दमाईं बताउँछिन्।

आफ्नो र परिवारका बारेमा केही बताउन नसकेपछि उनलाई धुलिखेलस्थित सेफ हाउसमा राखिएको छ।

राहदानीमा वाल्टिङ १ हरिमाया विक नाम भएकी महिला भक्तपुरमा बस्दै आएकी छिन्। उनको माइती वाल्टिङ भए पनि केही वर्षदेखि विवाह गरी भक्तपुरमा बस्दै आएको प्रहरीले जनाएको छ। हरिमायाको पासपोर्टमा उक्त फोटो टाँस गरी ती युवतीलाई दुबई पठाइएको अनुमान प्रहरीको छ।दुबईमा शारीरिक तथा मानसिक यातना दिएका कारण उनी बोल्न नसक्ने भएको अनुमान गरिएको छ।

 Published on: 3 February 2014 | Annapurna Post

Back to list

;