s

युएईले लागू गर्‍यो नयाँ भिसा नीति, पर्यटक र पेसाकर्मीलाई के फाइदा?

संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भिसा नीति परिवर्तन गरेको छ। नयाँ अध्यागमन प्रणालीअन्तर्गत गत महिना संशोधन गरिएको भिसा नीति सोमबारबाट लागू भएको हो।

नयाँ भिसा नीतिअनुसार युएई घुम्न जाने पर्यटकलाई लामो समयको भिसा दिनुका साथै विभिन्न पेसाकर्मीलाई लामो अवधि बस्ने सुविधा दिइएको बिबिसीले लेखेको छ।

त्यस्तै उद्यमी, लगानीकर्ता र पेसाकर्मीहरूका लागि १० वर्षको ‘गोल्डन भिसा’ कार्यक्रम लागू गरिएको छ।

यसलाई युएईको नीतिमा आएको पछिल्लो समयको सबभन्दा ठूलो परिवर्तनका रूपमा लिइएको छ। युएईको वैदेशिक मामिला विभागका महानिर्देशक मेजर जनरल सुल्तान युसेफ अल नुआमीले भ्रमण, रोजगार र व्यवसाय निम्ति युएईलाई एक आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्न नयाँ भिसा नीति लागू गरिएको बताएका छन्।

युएईले लागू गरेको नयाँ भिसा नीतिले पर्यटक वा त्यहाँ रोजगार र बसोबास निम्ति जान चाहने व्यक्तिहरूलाई के असर पार्छ त?

सबभन्दा पहिला कुरा गरौं, ग्रिन भिसाको। ग्रिन भिसा भनेको नवीकरण गर्न सकिने आवासीय भिसा हो। यो भिसा लिएर आप्रवासीहरू युएईमा पाँच वर्षसम्म बस्न सक्ने छन्। अवधि सकिएपछि भिसा नवीकरण गर्न सकिनेछ।

ग्रिन भिसाको मुख्य विशेषता भनेको यो ‘सेल्फ स्पोन्सर्ड’ भिसा हो। यो भिसा नवीकरण गराउन आप्रवासीहरूलाई युएईका नागरिक वा रोजगारदाताको स्पोन्सरसिप आवश्यक पर्ने छैन। स्वतन्त्र पेसाकर्मी, दक्ष कामदार तथा लगानीकर्ता वा व्यावसायिक साझेदारहरू यो भिसाका हकदार हुनेछन्।

ग्रिन भिसा लिने आप्रवासीलाई युएई सरकारले थप सहुलियतको व्यवस्था पनि गरेको छ। उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, सन्तान र नजिकका नातेदारलाई युएईमा आफूसँगै राख्न सक्नेछन्।

ग्रिन भिसा लिएका आमाबाबुले २५ वर्षभन्दा कम उमेरका आफ्ना छोराहरूलाई त्यहाँ राख्न सक्नेछन्। पहिले यो उमेर सीमा १८ वर्ष थियो। अविवाहित छोरी र शारीरिक अपांगता भएका सन्तानका लागि उमेरको हद तोकिएको छैन।

ग्रिन भिसा लिएका आप्रवासीलाई भिसा अवधि सकिएको छ महिनासम्म युएईमा बस्ने सुविधा पनि दिइएको छ।

अब कुरा गरौं, १० वर्षको गोल्डन भिसाबारे।

गोल्डन भिसा युएईमा लगानी गर्ने विदेशी उद्यमी, अनुसन्धाता, मेडिकल पेसाकर्मी, विज्ञान तथा अन्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञ, अत्यन्त प्रतिभाशाली विद्यार्थी र स्नातकहरूलाई दिइनेछ।

युएईले सम्बन्धित क्षेत्रका विज्ञ र प्रतिभाशाली विद्यार्थी आकर्षित गर्ने उद्देश्यले सन् २०२० मा गोल्डन भिसा नीति लागू गरेको थियो। कार्यान्वयन भएको पहिलो वर्षमा दुबईमा मात्र ४४ हजार गोल्डन भिसा जारी गरिएको युएईको पत्रिका ‘द नेसनल’ ले जनाएको छ।

गोल्डेन भिसा अवधि १० वर्षको हुनेछ भने यस्तो भिसा पाउनेहरूलाई विभिन्न सुविधा दिइएको छ। यस्तो भिसा लिएका आप्रवासीले आफ्नो शतप्रतिशत स्वामित्वमा व्यापार–व्यवसाय सञ्चालन गर्न सक्नेछन्।

पहिला युएईबाट छ महिना बाहिर बस्नेहरूको भिसा स्वतः खारेज हुने व्यवस्था थियो। तर १० वर्षको गोल्डन भिसामा यो व्यवस्था खारेज गरिएको छ। गोल्डन भिसा लिएका आप्रवासी जतिसुकै अवधिका लागि युएईबाट बाहिर रहे पनि उनीहरूको भिसा कायम रहनेछ।

यति मात्र होइन, उनीहरूले आफ्नो घरमा काम गर्ने घरेलु कामदारलाई स्पोन्सर पनि गर्न सक्नेछन्। यसरी घरेलु कामदार स्पोन्सर गर्न कुनै अधिकतम संख्या तोकिएको छैन।

उनीहरूले आफ्ना श्रीमान वा श्रीमती, कुनै पनि उमेरका सन्तान र परिवारका अन्य सदस्यलाई पनि भिसा स्पोन्सर गर्न सक्नेछन्।

गोल्डन भिसा लिएका व्यक्तिको मृत्यु भएको अवस्थामा उनको स्पोन्सरमा युएई आएर बसिरहेका परिवारका सदस्यले भिसा अवधि समाप्त नभएसम्म युएईमै बसिरहन पाउने छन्।

युएईले गोल्डन भिसा लिन पाउने व्यक्तिहरूको सूची पनि बढाएको छ। अब विज्ञान, इञ्जिनियरिङ, मेडिसिन, सूचना प्रविधि, व्यवसाय, प्रशासन र शिक्षा क्षेत्रका दक्ष पेसाकर्मीले १० वर्षको गोल्डन भिसा लिन पाउने दुबईबाट प्रकाशित हुने ‘खलिज टाइम्स’ ले जनाएको छ।

यो भिसा लिन आवश्यक पर्ने मासिक तलब सीमा पनि घटाइएको छ। पहिले महिनाको करिब १८ लाख रूपैयाँ कमाउने व्यक्तिहरूलाई मात्र यो भिसा दिने गरिएकोमा अब साढे १० लाख कमाउनेहरूले पनि गोल्डन भिसा पाउने छन्।

पर्यटक र अन्य व्यक्तिहरूका लागि पनि लचिलो नीति लागू गरिएको छ।

पर्यटक भिसामा आउनेहरूलाई ६० दिनसम्म युएईमा बस्ने छुट दिइएको छ। पहिले पर्यटक भिसाको बसाइ अवधि ३० दिन मात्र थियो।

पाँच वर्षको मल्टि–इन्ट्री (पटकपटक गइरहन सकिने) भिसा पनि सुरू गरिएको छ। उनीहरूले एकचोटिमा लगातार ९० दिनसम्म युएईमा बस्न पाउने छन्।

अत्यन्त प्रतिभाशाली पेसाकर्मीहरूलाई युएईमा जागिर खोज्न सजिलो होस् भनेर छुट्टै भिसा नीति लागू गरिएको छ। त्यस्ता व्यक्तिलाई भिसाको निम्ति कुनै युएई नागरिक वा अरू कसैको स्पोन्सरसिपको आवश्यकता पर्दैन।

युएईको मानव संशाधन मन्त्रालयले पहिलो, दोस्रो वा तेस्रो श्रेणीमा वर्गीकरण गरेका पेसाकर्मी र संसारका ५०० उत्कृष्ट विश्वविद्यालयबाट स्नातक गरेका विद्यार्थीले युएईमा जागिर खोज्न यो भिसाको निम्ति आवेदन दिन सक्नेछन्।

Published on: 10 October 2022 | Setopati

Link

Back to list

;