s

युएईको कम्पनीले दिएन २५ नेपाली कामदारको पौने तीन करोड पारिश्रमिक

युनाइटेड अरब इमिरेट्स (युएई)को अल फलाह सेक्युरिटी सर्भिसेज कम्पनीले २५ नेपाली श्रमिकको करिब पौने तीन करोड (७,५८,९३९ दिराम) रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको छैन । कम्पनीले कोभिडको बहाना देखाउँदै २०१८ को डिसेम्बरदेखि श्रमिकको ओभर टाइमको पारिश्रमिक पेन्डिङ राख्दै आएको थियो । भुक्तानीका लागि विभिन्न समयको भाका दिए पनि कम्पनीले आजसम्म भुक्तानी नगरेको श्रमिकले गुनासो गरेका छन् ।

युएईको दुबईमा जाएद फलाह हामुद जराह अल कतानीले अल फलाह सेक्युरिटी सर्भिसेज र नाइट बृज ग्लोबल सेक्युरिटीको नाममा दुईवटा कम्पनी सञ्चालन गर्दै आएका थिए । यी दुवै कम्पनीमा नेपाली श्रमिक कार्यरत छन् । तर, अल फलाह सेक्युरिटी कम्पनीको काम–कारबाही पारदर्शी नभएपछि युएईमा सरकारले नै कम्पनीलाई समय–समयमा जरिवाना तिराएको थियो । सरकारको दबाबमा नै कम्पनी बन्द हुने अवस्थामा पुगेपछि कम्पनी सञ्चालक कतानीले युएईको आबुधाबीमा नाइट बज ग्लोबल नाममा नयाँ कम्पनी खोल्ने तयारी गरेको श्रमिकहरू बताउँछन् । तर, यसका लागि अल फलाह र पुरानो नाइट बृज कम्पनीको कारोबार पूर्ण रूपमा क्लियर भएको हुनुपर्ने युएई प्रशासनको नियम छ ।

तसर्थ, कतानीले श्रमिकलाई सबै पारिश्रमिक भुक्तानी पाएको भन्दै बयान दिन दबाब दिएको पीडित कृष्ण विश्वकर्माले बताए । साथै नयाँ नाइट बृज कम्पनीमा काम गर्न भिसाका लागि ४५ दिराम (एक लाख ६२ हजार रुपैयाँ) भुक्तानी गर्नसमेत दबाब दिएको पीडित विश्वकर्माको भनाइ छ ।

तर, नेपाली श्रमिकले यसअघिको पाश्रिमिक भुक्तानी नगरेसम्म कुनै पनि बयान नदिने र नयाँ कम्पनीमा पनि काम नगर्ने भने पनि राजीनामा दिन दबाब दिएको पीडितहरूले सामाजिक सञ्जालमार्फत नयाँ पत्रिकालाई बताए । कम्पनीले पारिश्रमिक भुक्तानी नगरेपछि श्रमिकहरूले कम्पनीको कार्यालयमा नै धर्ना बसेका थिए । तर, कम्पनीले विभिन्न डर, धम्की देखाएर लखेटेको उनीहरूको गुनासो छ । यस विषयलाई लिएर नेपाली श्रमिक विभिन्न निकाय धाउँदा पनि कतैबाट पनि सहयोग प्राप्त नभएको उनीहरूले सुनाए ।

नेपाली श्रमिक भन्छन्– बन्धक जस्तै बनेका छौँ

आबुधानीस्थित अल फलाह कम्पनीले बन्धक बनाइराखेका नेपाली २५ श्रमिकमध्ये केही श्रमिक ओभरस्टेमा परेको पीडित बताउँछन् । भिसा अवधि सकिएको र कम्पनीले भिसा अवधि थप नगरेपछि उनीहरू थप जरिवानामा परेका छन् ।पीडितमध्येका एक कृष्ण विश्वकर्मा विगत दुई वर्षदेखि ओभरस्टेमा परेको बताए ।

युएई सरकारको नियमअनुसार भिसा अवधिभन्दा बढी समय कुनै पनि आप्रवासी बस्न पाउँदैनन् । बसेको खण्डमा विदेशी नागरिकले प्रतिदिन ५० दिराम (१८०० रुपैयाँ) भुक्तानी गर्नुपर्ने हुन्छ । ओभरस्टे जरिवाना भुक्तानी नगरेसम्म कुनै पनि विदेशी नागरिक युएई छाड्न पाउँदैनन् । त्यस्तै, भिसा अवधि सकिएका विदेशी नागरिक भेटिएमा युएई प्रहरीले नियन्त्रण लिन्छ । त्यसैले उनीहरू क्याम्पभन्दा बाहिर भाग्न पनि नसकेको पीडित विश्वकर्माले बताए । ‘हामीसँग अहिले भिसा पनि छैन । भिसा नभएको आप्रवासीलाई प्रहरीले भेट्यो भने जेलमा हाल्छ । जेल पर्‍यो भने हामी झन् सम्पर्कविहीन हुन्छौँ । त्यसैले पनि हामी कही निस्कन सकेका छैनौँ । हामी जोखिममा छौँ,’ उनले भने ।

अल फलाह कम्पनीमा कार्यरत अन्य मुलुकका श्रमिकले समेत पारिश्रमिक पाएका छैनन् । भारतीय, पाकिस्तानी र बंगलादेशीसहित करिब एक सय ५० आप्रवासी श्रमिक पीडित भएको श्रमिकले जानकारी दिए । सो कम्पनीमा नेपाली श्रमिकको संख्या करिब ३५ थियो । तर, कम्पनीले विभिन्न डर धम्की देखाएपछि १० जना नेपाली श्रमिक पाउनुपर्ने पारिश्रमिक नलिई नेपाल फर्किएको बताए ।

१० महिनादेखि दूतावासले सुनेन श्रमिकको गुनासो

१० महिनादेखि बन्धकमा परेका नेपाली श्रमिकको गुनासोलाई नेपाली दूतावासले भने बेवास्ता गर्दै आएको छ । युएईका लागि नेपाली दूतावास आबुधाबीमा छ । दूतावासलाई कम्पनीले पारिश्रमिक नदिई बन्धक बनाई राखेको गुनासो पत्र नै पठाएर नै जानकारी गराउँदासमेत दूतावासले चासो नदिएको श्रमिकको गुनासो छ ।

यता आबुधाबीस्थित नेपाली दूतावासका श्रम काउन्सलर दीनबन्धु सुवेदीले भने एक–अर्कालाई दोषारोपण गर्नुको कुनै औचित्य नभएको बताए । श्रमिकको विषयमा दूतावास जानकार रहेको बताउँदै, दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गर्न बारम्बार प्रयास गरेको उनले बताए । यद्यपि, कम्पनीको व्यवस्थापनले कुनै प्रतिक्रिया नदिएको उनले बताए । ‘श्रमिकले उजुरी गरेपछि हामीले कम्पनीसँग छलफलका लागि विभिन्न प्रयास गर्‍यौँ । तर, कम्पनीले कुनै प्रतिक्रिया दिएन,’ उनले भने, ‘त्यसपछि श्रमिकहरूले स्थानीय श्रम अदालतमा उजुरी दिएका थिए । तर, बीचमा नै उनीहरूले उजुरी फिर्ता लिएछन् । जसका कारण यो केस लम्बिएको हो ।’

परराष्ट्र मन्त्रालयको छलफलमा पनि यो विषयको उठान गरिएको उनले बताए । यद्यपि, युएईको अन्य निकायसँग श्रमिकको पारिश्रमिक भुक्तानीका विषयमा दूतावासले छलफलका लागि प्रयासरत रहेको उनले दाबी गरे । त्यस्तै, गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष फणीन्द्र ढकालले पीडित श्रमिकको विषयमा संघले कम्पनीको क्याम्प नै गएर जानकारी लिएको बताए ।

नेपाली श्रमिकलगायत अन्य मुलुकका श्रमिक पनि क्याम्पमा नै छन् । कम्पनीले पारिश्रमिक नदिएपछि १० महिनादेखि २५ नेपालीसहित अन्य मुलुक श्रमिक पनि बेरोजगार भई क्याम्पमा नै बसेका छन् । यस विषयमा युएईस्थित श्रम मन्त्रालयलाई जानकारी गराइएको उनले बताए । ‘युएईस्थित श्रम मन्त्रालयले उनीहरूलाई पारिश्रमिक दिलाउने विषयमा छलफल गरिरहेको छ,’ उनले भने ।

श्रम अदालतमा दिएको मुद्दा फिर्ता लिनुहुँदैनथ्यो
दीनबन्धु सुवेदी, श्रम काउन्सलर,नेपाली दूतावास, युएई

हाम्रा नेपाली श्रमिकले युएईको श्रम अदालतमा दिएको मुद्दा फिर्ता लिनुभएछ । जसका कारण केस कमजोर बनेको छ । कम्पनीसँग हामीले कुरा गर्ने प्रयास गरेका थियौँ । जुन सम्भव भएन । श्रम अदालतबाट उहाँहरूले उजुरी फिर्ता गर्नुभएछ । यद्यपि, हामीले युएईका विभिन्न निकायसँग समस्या समाधानका लागि छलफलको प्रयास गरेका छौँ ।

श्रम मन्त्रालयले यस विषयमा चासो लिएको छ
फणीन्द्र ढकाल, उपाध्यक्ष,गैरआवासीय नेपाली संघ, युएई

श्रमिकहरूको समस्याका विषयमा नेपाली दूतावास र हामी नै गएर क्याम्पको अवलोकन गरेका छौँ । उहाँहरूको मुख्य समस्या भनेको पारिश्रमिक नपाउनु हो । यस विषयमा युएईको श्रम मन्त्रालयसम्म कुरा पुुगेको छ । मन्त्रालयले भुक्तानी कसरी गर्न सकिन्छ भनेर बाटो खोजिरहेको छ । श्रम मन्त्रालयले यस विषयमा चासो लिएको छ ।

Published on: 14 August 2023 | Naya Patrika

Link

Back to list

;