s

युएईको आममाफीमा श्रम स्वीकृति सेवा दिइने

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)ले अलेखबद्ध (गैरकानुनी हैसियत) आप्रवासी श्रमिकलाई लेखबद्ध (कानुनी हैसियत) हुन दिइएको आममाफीको अवसरमा नेपालको श्रम स्वीकृति सेवा दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लेखबद्ध आउन युएई सरकारले राखिएको टेन्टबाटै नै श्रम स्वीकृतिको सेवा प्रदान गर्न लागेको हो । युएईले श्रम वा भिजिट भिसामा आइ भिसाको म्याद नाघेका (ओभरस्टे)हरू जरिवाना बुझाउन नसकी स्वदेश फर्कन नसकेको आप्रवासी श्रमिकलाई लक्षित गरी १ सप्टेम्बरदेखि ३० अक्टोबरसम्म आममाफी दिएको छ ।

‘युएईमा १० देखि १५ हजार नेपाली गैरकानुनी हैसियतमा रहेको छ । उनीहरूलाई युएईमा काम गर्न पाउने अवसर दिइएको छ । यो मौकामा नेपालको श्रम स्वीकृति दिइ नेपाल सरकारको संयन्त्र भित्र ल्याउनुपर्ने हाम्रो दायित्व हो,’ श्रम मन्त्री शरदसिंह भण्डारीले भने, ‘नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन मन्त्रालयका सहसचिव गोविन्द रिजालको नेतृत्वमा प्रतिनिधि पठाउनेछौं । जसमा वैदेशिक रोजागर बोर्ड र सामाजिक सुरक्षा कोषको प्रतिनिधि रहनेछ ।’

उनले रिजालको टोलीलाई पठाउन आन्तरिक गृहकार्य भइरहेको बताए ।

नेपाली दूतावासका अनुसार युएईमा ५ लाख नेपाली कार्यरत छन् । जसमध्ये भिजिट भिसा गई काम खोज्ने नेपालीको संख्या झन्डै २ लाख रहेको अनुमान गरिएको छ । त्यसमध्ये १० देखि १५ हजार जनाको आवासीय भिसाको म्याद छैन ।

दूतावासको अनुसार आममाफीमा जरिवाना मिनाहादेखि नयाँ रोजगारी पाउने अवसर दिइएको छ । पछिल्लो समयमा कामको खोजीमा भिजिट भिसामा गइ ओभरस्टे हुने नेपालीको संख्या बढिरहेको थियो । ओभरस्टे हुनेमा नेपाली पुरुष भन्दा महिलाहरू बढी रहेको दूतावासले जनाएको छ ।

नेपाली दूतावासले तोकिएको अवधिभित्र श्रम भिसा/भिजिट भिसामा आएर गैरकानुनी रुपमा कम्पनी छाडेका (भागेका) वा भिसाको म्याद नाघेर जरिवाना लागेका तथा अध्यागमनसम्बन्धी समस्या भोगिरहेका नेपाली श्रमिकलाई आममाफीमा सहभागी हुन अनुरोध गरेको छ ।

श्रम काउन्सेलर दिनबन्धु सुवेदीले ठूलो जरिवाना बोकेको नेपालीलाई यो आममाफीले ठूलो राहत दिएको बताए । ‘दूतावासले अलेखबद्धलाई सहजीकरण गर्न दुबई र आबुधावीमा हेल्प डेस्क राखेका छौं,’ उनले भने ।

युएईमा श्रम भिसाविना काम गर्ने आप्रवासीलाई १० हजार जरिवाना, ६ महिना जेलदेखि डिपोर्टसम्मको सजाय हुने व्यवस्था छ । गैरआवासीय नेपाली संघ, एनआरएनका अध्यक्ष विकास शाहीले अलेखबद्ध श्रमिकहरू स्वास्थ्य बिमा, तलब भुक्तानी नपाउनुको साथै कानुन प्रदत्त अधिकारहरू जस्ता रोजगारी सुविधाहरूबाट बहिष्कृत हुनुपर्ने अवस्था रहेको बताए ।

आममाफीमा सहभागी भएमा अलेखबद्ध श्रमिकले वैध रुपमा युएईमा बस्न वा जरिवाना नतिरी नेपाल फर्कन पाइने दूतावासले जनाएको छ । त्यसरी नेपाल फर्केका श्रमिक पुनः युएई आउन पाइनेछ ।

दूतावासका अनुसार आवासीय कानुन उल्लंघन भएका चारथरी नेपाली श्रमिक आममाफीमा सहभागी हुन पाउने छन् । रोजगारदाता कम्पनीको काम गर्न आइ रोजगारदाताको अनुमति बिना कम्पनी छाडेर हिँडेको श्रमिक, युएईमा घुम्न वा भिजिट भिसामा कामको खोजीमा आएर ‘ओभरस्टे’ भई जरिवाना लागेका, युएईमा बस्न पाउने गरी अनुमति प्राप्त गरे पनि युएईका अध्यागमन नियमहरू उल्लंघन गरेकाहरू, युएईमा रहेका विदेशी बाबु वा आमाले आफ्ना छोराछोरीलाई ल्याइ युएईमा अनुमति बिना बसेकाहरू र युएईमा बस्न पाउने अनुमति प्राप्त नगरी अध्यागमन नियम उल्लंघन गरेकाहरू आममाफीमा सहभागी हुन पाउने छन् ।

अलेखबद्ध श्रमिक युएईमा वैध रुपमा बस्न चाहने व्यक्तिले मानव संसाधन तथा इमिरेती मन्त्रालयबाट जारी भएको ‘जव अफर लेटर’ लिई आफ्नो हैसियत परिवर्तन गर्न पाइनेछ । आममाफीको सुविधा लिन खोलिएको सेवा केन्द्रमा नै ठूला रोजगारदाताहरूले युएईमा बस्न खोज्नेलाई कामको अवसर दिइरहेका छन् । युएईको ठूलो निर्माण कम्पनी शोभा कन्स्ट्रक्सनका विभागीय प्रमुख जमीर फरीदले आफूहरूलाई १८ देखि २० हजार जना दक्ष र अदक्ष श्रमिक चाहिएकोले अन्तर्वार्ता भइरहेको बताए । ‘हामीसँग १८ वटा आयोजनाहरू सञ्चालनमा छन्,’ उनले भने,‘हामीलाई दक्ष र अदक्ष श्रमिकहरू चाहिएको छ । यसको लागि सेवा केन्द्रमा नै अफर लेटर दिइरहेका छौं । यसले तीनै पक्षलाई फाइदा पुर्‍याइरहेको छ ।’

ट्रान्सगार्ड समूहले पनि युएईमा नै बस्न खोज्नेलाई रोजगारको अफर लेटर दिइरहेको छ । ट्रान्सगार्ड समूहका सीईओ रबी एटिएहले आममाफीको दुई महिनामा ट्रान्सगार्डका विभिन्न कम्पनीहरूमा धेरै अर्ध–दक्ष श्रमिकहरू भर्ती गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।

आममाफीको लागि आफ्नो भिसा जारी भएको इमिरेट्सको अध्यागमन विभागमा नै आवेदन गर्न जानुपर्नेछ । युएईमा रहेका इमिरेट्सहरूमा दुबई, आबुधावी, अजमान, सारजाह, फुजेरा, रस अल खेमा र उम अल क्वाइन रहेका छन् । युएईले आबुधावीको भिसा भएकालाई अल दर्फा, अल मकाम, अल समाह, दुबईको लागि अल अवेर अध्यागमन र अन्य इमिरेट्सका लागि नजिकको ‘आइसिपी सर्भिस सेन्टर’ तोकिएको छ ।

युएईमा बस्न इच्छुकले आफ्नो पूर्व हैसियत परिवर्तन नगरी बसेमा युएईको अनुसार सजायको भागीदार हुने जनाएको छ । नेपाली दूतावासले राहदानी नभएका श्रमिकलाई स्वदेश फिर्न ट्राभल डकुमेन्ट जारी गर्ने जनाएको छ । तर, त्यसअघि श्रमिकले युएईको अध्यागमन कार्यालयबाट जरिवानाको बक्यौता नभएको र प्रहरी प्रतिवेदन अनिवार्य पेस गर्नुपर्नेछ । त्यसरी ट्राभल डकुमेन्ट पाएपछि १४ दिनभित्र आफ्नै हवाई टिकटमा स्वदेश फिर्नुपर्ने दूतावासले जनाएको छ ।

जनरल डाइरेक्टोरेट अफ रेसिडेन्सी एण्ड फरेनर्स अफेयर्सका महानिर्देशक मोहम्मद अहमद अल मारीले युएई अलखेबद्ध आप्रवासीको साथमा उभिएको बताए । ‘युएई अलेखबद्ध आप्रवासीको साथमा उभिएको छ । उनीहरूले सामना गरिरहेको समस्यालाई समाधान गर्ने बाटोमा युएई छ । आममाफीको खाँचो परेकालाई सेवा दिन अध्यागमन अधिकारीहरू सक्रिय छन्,’ उनले स्थानीय सञ्चारमाध्यमसँग भने, ‘खाँचो परेकालाई सहयोग गर्नु हाम्रो कर्तव्य हो ।’

Published on: 10 September 2024 | Kantipur

Link

Back to list

;