s

यूएईका संक्रमित नेपालीले ‘उचित’ उपचार पाएनन्

काठमाडौँ — आबुधावीस्थित नेपाली दूतावासले कोरोना संक्रमित राई थरका एक जनालाई दैनिकजसो अपडेट लिँदै फोनमा भनिरहेको हुन्छ, ‘बस्दै गर्नुस्, नआत्तिनुस् । हामी उद्धार गर्दैछौं । स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकेका छौं । तपाईंहरू पनि हटलाइनमा फोन गर्न नछोड्नु होला ।’ 

संक्रमित भएको रिपोर्ट आएदेखि राईले प्रत्येक दिन संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले व्यवस्था गरेको कोभिड–१९ को हटलाइन नम्बरमा सम्पर्क गरिरहेका छन्। दुबई स्वास्थ्य विभाग (डीएचडी) ले भने संक्रमितलाई लिन एम्बुलेन्स पठाएको छैन। 

एउटै कोठामा बसिरहेका सात जनालाई पोजेटिभ देखिएको हो। रक्तचाप र मधुमेहका रोगी दुई जनालाई भने उपचारका लागि लिएर गयो। बाँकी ५ जना भने दुबईको एउटै कोठामा एम्बुलेन्सको प्रतीक्षामा छन्। ‘म र अर्कोलाई चैत २१ गते पोजेटिभ देखिएको हो। अरू साथीहरूको पाँच दिन भयो। हामीलाई बस्दै गर मात्रै भन्छ। सम्पर्क नगरेको काँही छैन। सम्पर्क गर्ने ठाउँ भ्याइसक्यो। सबैलाई थाहा छ। दुबई पुलिसलाई पनि छ। आबुधावी पुलिसबाट फोन आइरहेको छ,’ राईले कान्तिपुरलाई फोनमा भने, ‘कसलाई के भन्ने? कहाँ भन्ने? दूतावासले पनि कुरा गर्दै गएपछि अन्तिम ८००३४२ नम्बर दिन्छ। त्यो नम्बरमा कति फोन गर्ने? जिब्रो नै दुखिसक्यो।’ 

‘हाम्रो अनुरोधमा धेरै नेपालीलाई अस्पताल लगिएको छ। केहीलाई लैजाने प्रक्रियामा छ। सबै संक्रमितले आवश्यक स्वास्थ्य उपचार पाउनेमा हामी आशा राख्छौं। हामीले पनि नेपालीलाई समयमै उपचार पाउने सुनिश्चित गर्न सम्भव भएका सबै उपायहरू अपनाइरहेका छौं।’ -कृष्णप्रसाद ढकाल, यूएईका लागि नेपाली राजदूत

उनीहरूले आफूहरू त्रासको बीचमै बसिरहेको बताए। ‘कहाँ कसको कमजोरी छ भन्ने स्पष्ट हामीलाई थाहा छैन। किन र कसको कारणले ढिलाइ भएको हो भन्ने पनि थाहा छैन। के गर्ने सम्बन्धित निकायले कान ठाडो बनाइदिएन,’ उनले भने,‘ हाम्रो एकदमै चित्त दुखेको छ। अर्काको देशमा हुँदाको बल्ल पीडाबोध भइरहेको छ।’ 

उनीहरूले पारासिटामोल खाइरहेको बताए। ‘जँचाउन जाँदा पारासिटामोल दिइएको थियो। ६ घण्टाको फरकमा औषधि खान्छौं, दिनको पाँच चोटि खान्छौं’, राईकै समूहमा रहेका अर्का संक्रमितले भने, ‘सुरुमा बहुतै ज्वरो आएको थियो। बेलुका बेलुका त सुत्नै नसकिने भयो। भित्रबाटै तातो हुन्थ्यो, पसिनाले जीउ भिज्थ्यो। पाँच दिन चाहिँ एकदम गाह्रो भयो। अहिले ज्वरो छैन, टाउको दुख्दैन। सुधार भएको हो कि।’ 

उनीहरू १२ जना दुईवटा कोठामा बस्थे। सात जनालाई मात्रै पोजेटिभ देखिएको हो। ‘हामी हाम्रो कोठाबाट बाहिर निस्कने गरेको छैन। बाँकी साथीहरू अर्को कोठामा बस्छन्। ट्वाइलेट अलगअलग छ। नेगेटिभ नतिजा आएका साथीहरूले ढोकामा ल्याएर खाना राखिदिन्छन्। आआफ्नो थाल छ। बाथरुम भित्रै छ,’ राईले भने। 

उनीहरूमध्येकै एक जनाको साउदी जर्मन अस्पताललाई उपचार भइरहेको छ। अर्का साथीलाई क्वारेन्टाइनमा राखेको छ। त्यहाँ खाना र बस्न सुविधा छ। ‘दैनिक तीन पटक खाना दिन्छ भनेर भनिरहेका छन्। उनीहरूलाई अहिले राम्रो छ,’ राईले भने, ‘हामी भने आफ्नै बेडमा छौं।’ 

अकालमै ज्यान जाने डर 

आबुधावी बस्दै आएका अर्का नेपालीले शनिबार राति सास फेर्न निकै गाह्रो भएको बताउँदा पनि एम्बुलेन्स लिन आएन। उनलाई चैत ७ देखि नै सन्चो भएन। त्यसपछि अस्पताल गए। अस्पतालले सामान्य औषधि दियो। त्यतिखेर कोरोनाको शंका गरेन। हल्का ज्वरो पनि थियो। टाउको दुखिरहेको थियो। हड्डीमा दुखाइ बढिरहेको थियो। त्यो औषधिले काम गरेन। पखाला सुरु भयो। उनी फेरि अस्पताल गए। चैत १६ गते कोरोनाको परीक्षण गराए। सात दिनपछि चैत २२ मा पोजेटिभ देखिएको रिपोर्ट थियो। त्यसपछि सेल्फ क्वारेन्टाइनमा बसेका छन्। 

‘मेरो ज्वरो त ३७.६ माथि गएन। जीउ एकदमै दुख्यो। खानेकुराको टेस्ट छैन। पिसाब गनाइरहेको छ। बीचमा केही रिकभर भएको जस्तो लागेको थियो। सुक्खा खोकी धेरै आइरहेको छ,’ उनले कान्तिपुरलाई फोनमा भने, ‘एम्बुलेन्सलाई फोन गर्न नसक्ने अवस्थामा थिएँ। एकछिन त क्रिटिकल नै बन्यो। एम्बुलेन्सलाई फोन गर्दा तँ बोलिरहेको छस्, बोल्न नसक्ने भएपछि मात्रै हामीले उठाउन मिल्छ भन्छ। कोठामा एक्लै छु। बोल्न नसक्ने भएपछि कसले फोन गर्छ? यही तरिका हो भने कोठामै मर्ने अवस्था भयो।’ आफूहरूप्रति यूएई गम्भीर नभएको जस्तो लागेको उनले गुनासो गरे।

आफैं अस्पतालमा जान्छु भन्दा कलसेन्टरबाट मिल्दैन भन्ने जवाफ आउने गरेको उनले बताए। ‘मैले आफ्नो तरिकाले अस्पतालमा गएर रिटेस्ट गर्छु नि भन्दा पनि दिएन। घरमै बस् भन्छ। कोभिड बिरामीलाई उठाउने छुट्टै हाम्रो टिम छ भन्छ। लिन आउँदैनन्,’ उनले भने। उनी आबुधावीमा ६० वर्षीया आमा, श्रीमती, बहिनी र दुई महिनाको शिशुसँग बस्दै आएका थिए। ‘मलाई पोजेटिभ देखिएपछि परिवारका अरू सदस्यको पनि परीक्षण गर्दा आमालाई देखियो। श्रीमती, बच्चा र बहिनीलाई धन्न देखिएन। उनीहरूका लागि फेरि परीक्षण गर्न वैशाख १ गतेको समय पाइएको छ, उनले भने, ‘निकै अनुरोधपछि आमालाई भने अस्पतालमा लगिएको छ। हामी एउटा परिवार तीनतिर बाँडिएका छौं।’ परिवारले खाना पनि ल्याउन सक्ने अवस्था नभएकाले रेस्टुरेन्टबाट खाना मगाएर खाइरहेको उनले बताए। 

बेड र एम्बुलेन्सको अभाव 

चैत २५ गते २५ वर्षीया तामाङलाई पोजेटिभ देखियो। उनी अबुुधावीमा एक क्लिनिङ कम्पनीमा कार्यरत छिन्। उनीहरू पाटेसन गरिएको एउटा कोठामा तीन जना बस्दै आएका थिए। सँगै बस्ने दुई जनालाई पनि पोजेटिभ देखिएको छ। अर्काको रिपोर्ट आउन बाँकी छ। पोजेटिभ देखिएपछि आबुधावी स्वास्थ्य सेवाले अहालिया अस्पतालमा रिफर गरेको थियो। ‘रिपोर्ट पोजेटिभ आएपछि अस्पताल लैजान्छ होला भन्ने लागेको थियो। तर, परीक्षण केन्द्रले अहिलेलाई तिमी जाऊ, अस्पतालबाट फोन आउँछ भनेर पठायो। म कोठामा नै आएर बसें,’ उनले भनिन्, ‘अस्पतालबाट भने फोन आएको छैन।’ 

अस्पतालले फोन नगरेपछि उनी आफैंले हटलाइनमा बारम्बार फोन गरिरहेकी छन्। पछिल्लो पटक भने बेड र लिन आउने एम्बुलेन्स नभएको भन्दै अस्पतालले जवाफ दियो। ‘बेड खाली भएको दिनमा एम्बुलेन्स लिन आउनेछ,’ उनलाई प्रहरीले फोनमा भन्यो, ‘कोठामा नै बस्नुहोला। बाहिर निस्कएको भेटिएमा कारबाही हुनेछ।’ 

उनले आफू कसरी संक्रमित हुन पुगियो भन्ने अझै भेउ पाएकी छैनन्। 

यूएईमा कोरोना संक्रमितको सख्या ह्वात्तै बढेपछि बेडको अभाव देखिएको हो। नेपाली दूतावासमा अस्पताल नलगेको भन्दै फोन गर्ने संक्रमितको संख्या बढिरहेको छ। यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बिरामी र यूएईका निकायहरूसँग निरन्तर समन्वय बढाइरहेको बताए। ‘हामीले पाएको सूचनाअनुसार सबै कोभिड–१९ का संक्रमितलाई अस्पतालको जरुरी छैन। जब उनीहरूलाई अस्पतालको जरुरी पर्छ, त्यतिखेर लैजानेछौं’, यूएई निकायबाट दूतावासलाई प्राप्त जानकारी दिँदै राजदूत ढकालले भने, ‘सुरुमा सेल्फ आइसोलेसनमा बस्न प्रोत्साहित गरिरहेको छ। जुन विश्वब्यापी अभ्यास हो।’ 

संक्रमित नेपालीका लागि आवश्यक प्रबन्ध मिलाउन यूएई सरकारलाई निरन्तर अनुरोध भइरहेको उनले बताए। ‘हाम्रो अनुरोधमा धेरै नेपालीलाई अस्पताल लगिएको छ। केहीलाई लैजाने प्रक्रियामा छ। सबैले आवश्यक उपचार पाउनेमा हामी आशा राख्छौं,’ उनले भने। 

यूएईको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म ३ हजार ७ सय ३६ जनालाई पोजेटिभ देखिएको छ। जसमध्ये ५ सय ८८ जनालाई निको भएको छ। २० जना मृत्यु भएको छ। समयमा उपचार नपाएर घरेलु कामदार रुपन्द्रेहीकी बिनु पराजुलीको चैत २२ मा कोठामै मृत्यु भएको थियो। मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। उनको दुबईमा नै अन्त्येष्टि गरिँदै छ। संक्रमित नेपालीको सख्या भने ११ जना मात्रै औपचारिक रूपमा बताइएको छ। पराजुलीबाहेक कोरोना पोजेटिभ भएर रिपो

Published on: 13 April 2020 | Kantipur

Link

Back to list

;