s

यूएईका श्रमिकसँग दूतावासको संवाद कार्यक्रम

काठमाडौँ — नेपाली दूतावास अबुधावीले यूनाईटेड अरब ईमिरेट्स (यूएईमा) कार्यरत श्रमिक मजदुरहरुसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रमको थालनी गरेको छ ।

'श्रमिक संवाद कार्यक्रम' नाम दिएको उक्त कार्यक्रमको पहिलो दिन गत आइतबार अप्रिल ९ तारिखमा दूतावास टोली राजधानी अबुधावीबाट ३ सय किमी टाढा रहेको अर्को प्रान्त रसअलखेमा पुगेर झण्डै डेढ सय श्रमिकहरुसँग प्रत्यक्ष संवाद गरेको थियो ।

संवाद कार्यक्रमको नेतृत्व कार्यवाहक राजदूत विशाल भट्टराईले गरेका थिए । यस क्रममा कार्यवाहक राजदूत भट्टराईले श्रमिकहरुले सोधेका प्रत्येक प्रश्नहरुको जवाफ दिएका थिए ।

रसअलखेमामा कार्यरत गोबिन्द घिमिरेले श्रम नवीकरण गर्दा भोगेको समस्या श्रम काउन्सिलर दिनबन्धु सुवेदी समक्ष व्यक्त गरेका थिए । सुवेदीले बोल्दैगर्दा श्रम सहचारी अबिन्द अन्सारीले समस्याको समाधानको पहलकदमी लिए ।

अर्को प्रान्त फुजेराबाट आएका एक नेपाली ६ महिनादेखि आफू अलपत्र परेको दु:ख पोखे । कार्यवाहक राजदूत भट्टराईको निर्देशनमा उनको भिसा स्टाटस जाँच गरियो । उनी गैरकानुनी स्टाटमा रहेको देखिएकाले दूतावासले यात्रा अनुमति पत्र बनाएर पठाइदिने बचन दिएको छ । दूबईमा कार्यरत तिलक श्रेष्ठले दुबईबाट सय किलोमिटर धाएर आफू समस्या लिएर रसअल खेमा आएको बताए ।

राक सेरामिक्समा आईटी म्यानेजर पदमा कार्यरत सन्तोष भट्टराईले श्रम नवीकरण र सामाजिक सुरक्षा कोषको बारेमा जिज्ञासा राखेका थिए । अनलाईन प्रविधि जटिल र झन्झटिलो रहेको भन्दै उनले अनलाईन प्रविधिलाई सरल बनाउन सुझाव दिए ।

औपचारिक कार्यक्रमपछि पनि दूतावासको टोलीले श्रमिकका जिज्ञाशा सुनेर उपाय सुझाइरहेको थियो । नेप्लिज स्पोर्ट्स ग्रुपका गणेश केसी, दैलेख समाज यूएईका धन बहादुर चन्द र जनसम्पर्क समितिका सन्तोष पौडेल, एनआरएनए यूएईका सदस्य रेशम लामा लगायतले १० वर्षपछि पहिलो पटक दूतावासलाई रसअल खेमामा देख्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।

सोही दिन दूतावास टोलीले अजमानको थुम्बे अस्पतालमा उपचाररत अवस्थामा रहेका हरिवन सर्लाहीका मदन सिंदन र रासअल खेमाको साकार अस्पतालमा कोमामा रहेका गुल्मीका गिरिजा पन्थीको अवस्थाबारे जानकारी लिएको थियो । पन्थी ४ महिनाअघि सडक दुर्घटनामा परी उपचाररत छन् ।

Published on: 12 April 2023 | Kantipur

Link

Back to list

;