s

युएईका मानव संसाधनमन्त्री र श्रममन्त्री श्रेष्ठबीच भेटवार्ता, श्रम समझदारी कार्यान्वयनबारे समीक्षा

लक्ष्मण खनाल

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारसँग भेट गरेका छन्। 

श्रेष्ठ नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति बैठकमा भाग लिन सोमबार युएई आएका हुन्।  उनलाई युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए।  मंगलबार युएईको राजधानी अबुधाबीमा आयोजना गरिएको नेपाल युएई संयुक्त समितिको बैठकको उद्घाटन हुनुपूर्व  मन्त्री श्रेष्ठले समकक्षी युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारसँग भेट गरेका हुन। 

भेटमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम समझदारी कार्यान्वयनबारे समीक्षा भएको र त्यसलाई कसरी कार्यान्यवन गर्दै जाने भन्ने विषयमा छलफल भएको  मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले नयाँ पत्रिकालाई जानकारी गराए।  

नेपालको तर्फबाट मन्त्री श्रेष्ठले भिजिट भिसामा अलपत्र परेका नेपालीको समस्या समाधानको लागि पहल गरिदिन समकक्षी मन्त्री अल आवरसँग अनुरोध गरेका थिए।  भिजिट भिसामा आएर ओभर स्टे जरिवाना भएर नेपाल फर्कन नपाएका नेपालीलाई आममाफी दिएर नेपाल फर्काउन पनि मन्त्री श्रेष्ठले अनुरोध गरेको प्रवक्ता भुसालले बताए।  

जवाफमा युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारले नेपालीलाई युएईमा ल्याएर अलपत्र पार्ने जो–कोहीलाई पनि युएईको कानुन अनुसार कडा कारबाही गर्ने प्रतिबद्धता गरेका थिए।  

नेपालबाट दक्ष कामदारहरू युएई ल्याउने विषयमा पनि छलफल भएको भुसालले नयाँ पत्रिकालाई बताए।  दक्ष कामदार उत्पादनका लागि नेपालमा तालिम केन्द्रहरू स्थापना गरेर कामदारहरूको दक्षताअनुसार काममा ल्याउन पहल गर्ने प्रतिबद्धता युएईका मानव संसाधनमन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारले गरेका थिए।  

नर्स, इन्जिनियर, डक्टर जस्ता प्राविधिक कामदारहरूको हकमा नेपाल र युएई दुवै देशमा परीक्षा दिनुपर्ने झन्झटिलो अवस्थाको समाधानका लागि अध्ययन गरि दोहोरो परीक्षा प्रणाली हटाएर समाधान गर्ने समझदारी भएको पनि भुसालले बताए।  

साथै, श्रममन्त्री श्रेष्ठले मन्त्री डा. अब्दुलरहमान अब्दुलमनान अल अवारलाई नेपाल भ्रमणको निम्ता दिएको र जवाफमा मन्त्री अवारले छिट्टै नेपाल भ्रमण गर्ने जानकारी दिएका थिए। 

नेपाल युएई संयुक्त कार्यसमितिको बैठकमा नेपालको तर्फबाट श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र श्रम मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसाल सहभागी थिए। 

उक्त बैठकमा वैदेशिक रोजगारीका लागि युएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य बिमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका विषयमा छलफल भएको थियो।  

मन्त्री श्रेष्ठले मंगलबार साँझ नेपाली राजदूतावास अबुधाबीले आयोजना गरेको नेपाली समुदायसँगको अन्तर्क्रियात्मक भेटघाट गरेका थिए।  युएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले युएईमा रहेका नेपालीहरूका  समस्याहरू, भिजिट भिसा, दाोहोरो श्रम सम्झौतालगायका समस्याहरू राखेका थिए जवाफमा मन्त्रीले समस्या समाधानका लागि  विभिन्न अभियानमार्फत पहल गर्ने बताएका थिए।

Published on: 18 March 2022 | Nayapatrika

Link

Back to list

;