s

यूएईका लागि प्रहरी रिपोर्ट प्रमाणीकरण स्थगन

यूएईमा रोजगारीका लागि जाने नेपालीका लागि असल चालचलनको प्रहरी रिपोर्ट नचाहिने भएको छ । असल चालचलनको प्रहरी रिपोर्ट चाहिने यूएईको नयाँ प्रावधानको चर्को आलोचना भइरहेका बेला युएई सरकारले असल व्यवहारको प्रहरी रिपोर्ट बुझाउनुपर्ने व्यवस्था आइतबारदेखि स्थगित गरेको बताएको छ । नोपलसँगै उक्त मुलुक जाने सबैका लागि यो प्रावधान हटेको छ ।
 
यूएईले गत फेब्रुअरी ४ तारेखदेखि प्रहरी रिपोर्ट अनिवार्य गरेपछि रोजगारीका लागि त्यहाँ जान चाहने नेपालीले नेपाल प्रहरीले जारी गरी असल चालचलन सम्बन्धी रिपोर्ट परराष्ट्र मन्त्रालय कन्सुलर शाखाबाट प्रमाणित गराई ४ हजार ४ सय नेपाली रुपैयाँसहित पानीपोखरी स्थित यूएई दुतावासमा रकम बुझाउनपर्ने व्यवस्था थियो ।
 
यूएईको मानव संशाधन मन्त्रालयलाई उद्धृध गर्दै गल्फ न्यूजले लेखेको समाचार अनुसार अप्रिल १ तारिख (आइतबार)देखि अर्को सूचना जारी नभएसम्मका लागि उक्त व्यवस्था हाललाई स्थगित गरिएको जनाइएको छ । यूएईको मानव संशाधन मन्त्रालयले आइतबार बिहान ट्वीटरमार्फत जानकारी गराएको छ ।
 
यसअघि गत हप्ता यूएईले सार्क अन्तरगतका भारत र श्रीलंका सहित अन्य आठ मुलुकबाट जाने कामदारलाई भीषाका लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी रिपोर्ट आवश्यक नपर्ने व्यवस्था गरेको थियो ।
 
यूएईले असल चालचलन सम्बन्धी प्रहरी प्रतिवेदनको व्यवस्था हटाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आभार व्यक्त गर्दै नेपाल सरकार, यूएई सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालय र मन्त्री लगायतलाई धन्यवाद व्यक्त गरेको छ ।
 
युएई दुतावासले निजी क्षेत्रका केही ट्राभल्सहरुलाई उक्त कामको जिम्मा दिनुअघि चाल चलनको रिपोर्ट प्रमाणीकरण गराउन युवाहरु लामो लाइनमा बस्नुपर्ने बाध्यता थियो ।
 
राजधानीको उत्तरढोकास्थित याक्का ट्राभल्स एण्ड टुर्स प्रालि, नागपोखरीस्थित सिटी एक्सप्रेस ट्राभल्स प्रा.लि. र सोही स्थानमा रहेको वीसीएन ट्राभल्स एण्ड टुर्स प्रालि तथा अन्य ७ वटा ट्राभल्सले यूएईको भीषाका लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रहरी प्रमाणपत्र यूएई दुतावासबाट प्रमाणीकरण गर्ने जिम्मा पाएका थिए ।
 
यूएईको असल चालचलन प्रमाणीकरण सम्बन्धी प्रावधान स्थगित भनिएका कारण फेरि कहिलेदेखि लाग्ने हो भन्ने आशंका व्यवसायी र कामदारहरुमा कायमै छ । यद्यपि यो प्रावधान स्थगनले व्यवसायी र कामदारलाई सहज बनाएको छ ।
 
Published on: 2 April 2018 | Madhyanha

Back to list

;