s

युएईबाट १ सय ५१ नेपाल फर्कदै, ३ जनाको उडान स्थगित

रामकुमार परियार 

हिमालय एयरलाईन्सको पहिलो उद्दार उडानमार्फत आईतबार बिहान युएईबाट १ सय ५१ जना स्वदेश फर्किएका छन्। दूतावासले तयार गरेको प्राथमिकताको सुचिका आधारमा कोभिड १९ को महामारीका कारण स्वदेश फर्किन नपाएका २ शिशु सहित १ सय २६ पुरुष र २५ महिला  लिएर हिमालय एयरलाईन्सको विमान आईतबार बिहान ४ बजेर २० मिनेटमा काठमाडौ प्रस्थान गरेको हो। 

आईतबार बिहान हुने उडानका लागि यात्रुहरु शनिबार साँझनै अबुधाबी स्थित अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए। स्वदेश फर्किन राहदानी र टिकट बोकेर विमानस्थल पुगेका यात्रुहरूको विमानस्थलमै कोरोना परीक्षण गरिएको थियो। यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क कोरोना परीक्षण गरिदिएको हो। आज परीक्षण गरेका मध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन्।

युएईबाट हुने उद्दार उडानका लागि एयर अरेबिया र फ्लाई दुबईले ५ सय डलरमा टिकट बिक्री गरेपनी हिमालय एयरलाईन्सले सरकारले तोकेकै भाडादर ३ सय ६० डलरमा उडान भरेको हो। विपतको घडिमा समस्यामा परेका नेपालीहरुलाई राहत हुनेगरी सरकारले तोकेकै भाडा लिईएको हिमालय एयरलाईन्सकी सेल्स मेनेजर गिता विष्टले बताईन। उनले यात्रुहरुको सुविधाका लागि दुबईबाट आउने यात्रुका लागि निशुल्क सटलबसको सुविधा समेत उपलब्ध गराएको जानकारी दिईन। 

यसअघि शुक्रबार नेपाल एयरलाईन्सले दुबईबाट पहिलो उद्दार उडान भरेको थियो। जसमा १ सय १ जना महिला र ४७ जना पुरुष गरि कुल १ सय ४८ जना स्वदेश फर्किएका छन्। यस्तै शनिबार सारजाहबाट एयर अरेबियामार्फत १ सय ४२ पुरुष र २६ महिला गरि १ सय ६८ जना नेपाल फर्किएका थिए। आज यूएईबाट फ्लाई दुबईले समेत पहिलो उद्दार उडान भर्दैछ। स्थानीय समय अनुसार बिहान ८ बजे  १ सय ५८ जना नेपाली यात्रु बोकेर फ्लाई दुबईले पहिलो उडान भर्न लागेको हो। यसअघि जेठ २३ मा दूतावासले उपलव्ध गराएको नामावली भन्दा फरक १ सय ६८ व्यक्तिहरुलाई लिएर एयर अरेवियाको जहाज नेपाल गएको थियो। त्यसैले प्राथमिकता सूचिको अगाडि रहेकाहरु  पहिलो उडानमा स्वदेश फर्किन पाएका थिएनन्।

Published on: 21 June 2020 | Nagarik

Link

Back to list

;