s

यूएईबाट अढाई महिनामा १३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २८ गते । संयुक्त अरब इमिरेट्स ( यूएई) बाट करिब अढाई महिनाको अवधिमा स्वदेश फर्कनैपर्ने अवस्थामा रहेका १३ हजार ७८५ जना नेपाली स्वदेश फर्किएका छन् ।

अबुधाबीस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । साथै, यो अवधिमा भएको उडानमा २६ वटा शव पनि स्वदेश पठाएको दूतावासले जनाएको छ ।

कोरोनाका कारण नियमित अन्तराष्ट्रिय उडान बन्द भएको अवस्थामा नेपाल फर्कनैपर्ने नेपालीलाई जुन महिनादेखि नेपाल सरकारले चार्टर उडानको व्यवस्था गरेको थियो ।

दूतावासले नेपाल फर्कने अवस्थामा रहेका नेपालीको विवरण सङ्कलन २८ अप्रिलदेखि अनलाइन रजिष्ट्रेसन फाराम खुला गरेको थियो ।

उक्त रजिष्ट्रेसन फाराम भर्नेको सङ्ख्या हाल सम्म ४२ हजार पुगेको छ ।

यसका अतिरिक्त राजदूतावासको ईमेल र टेलिफोनमार्फत् नेपाल फर्किन नाम टिपाउनेहरूको सङ्ख्या करिब पाँच हजार हाराहारीमा रहेको दूतावासको भनाइ छ ।

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, विद्यार्थी, रोजगारी गुमाएकालगायत व्यक्तिहरूलाई नेपाल फर्काउने क्रम जारी छ ।

साथै, गत मार्च ११ देखि ११० जना नेपाली नागरिकले यूएईमा ज्यान गुमाएको छ ।

प्राकृतिक मृत्यु, कोरोना सङ्क्रमण, आत्महत्या, दुर्घटना, हत्या आदिबाट मृत्यु भएका छन् ।

यस क्रममा २६ वटा शव नेपाल पठाइएकोमा चार शव पठाउने क्रममा रहेको दूतावासले जानकारी दिएको छ ।

साथै, ६९ जनाको शव यूएईमा दाहसंस्कार गरिएको छ भने बाँकी ११ वटा शवको विस्तृत रिपाेर्ट प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।

Published on: 12 August 2020 | Gorkhapatra

Link

Back to list

;