s

युएईबाट आठ महिलाको उद्धार

लक्ष्मण खनाल

पीडितहरूका अनुसार एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा बन्द गरेर राखेका थिए । अवैधानिक बाटो हुँदै युएई पुगेर अलपत्र परेका नेपाली महिलाहरूलाई एनआरएन युएईको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । उद्धार गरिएका आठजना महिला नौमती घर्ती, युना राई, रितु सुनार, स्वस्तिका योञ्जन, कल्पना विश्वकर्मा, गंगा थापा, अञ्जना लिम्बू र रीता सुनारलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनीले बताए ।

नेपाल र भारतको बाटो हुँदै सारजाह विमानस्थल आएका उनीहरूलाई एजेन्ट सुजन भण्डारीले युएईस्थित आफ्नो कोठामा लगेर राखेका थिए । त्यसपछि आफूहरूलाई सम्पर्कबाट वञ्चित गरेर राखिएको पीडितहरूको आरोप छ । पीडितहरूका अनुसार एजेन्ट भण्डारीले श्रीमती शान्तिमाया राई (एलिसा) र बिरु पौडेलको सहयोगमा उनीहरूलाई कोठामा बन्द गरेर राखेका थिए । मोबाइल र पासपोर्ट नदिने, खाना नदिने, विभिन्न अरबीहरूको घरमा जागिर लगाउने भन्दै लैजाने र तलब नदिने, केही कुरामा विमति राख्यो भने धम्की दिने, पिट्ने गरेको पीडितहरूको आरोप छ ।
 
गीता राईको दलाल एउटै, कथा फरक
 
अवैधानिक बाटो हुँदै युएई ल्याएर ओमान, कुवेत, लेबनानजस्ता देशमा पठाउने महिलाको बिक्री गर्ने प्रक्रियामा नेपाली नै भेटिन्छन्।
 
भोजपुर जिल्ला घर भएकी गीता राई नेपालबाट ३५ हजार रुपैयाँ तिरेर दलाल प्रवीण राईमार्फत एअरपोर्ट सेटिङ गरी युएई आएकी थिईन् । उनीलाई युएईकी दलाल शान्तिमाया राई (एलिसा)ले कोठामा लगेर राखेकी थिइन् ।
 
उज्जेकिस्तान पठाउन लागेको थाहा पाएपछि उनी त्यहाँबाट भागेर साथीहरूको सहयोगमा नेपाली राजदूतावास पुगेकी थिइन् । दूतावासको आश्रयस्थलमा करिब पाँच महिना बसेर उनी ८ फेब्रुअरी २०१८ मा नेपाल फर्किइन् ।
 
ओमानमा बेच्ने तयारी
 
विभिन्न माध्यममार्फत एनआरएन युएईका तत्कालीन दुबई क्षेत्रीय सचिव प्रकाश सुनारको सम्पर्कमा पुगेका पीडितहरूले आफूहरूलाई ओमानमा बेच्ने तयारी गरिएको जानकारी गराएका थिए । त्यसपछि एनआरएन युएईको विशेष पहलमा युएईको स्थानीय सिआइडीलाई खबर गरी एनआरएन युएईका उपाध्यक्ष बालकृष्ण मरासिनी, आइसिसी सदस्य मनोज श्रेष्ठ, दुबई क्षेत्रीय अध्यक्ष मदन अधिकारी, दुबई क्षेत्रीय सचिव प्रकाश सुनार, एभरेस्ट मार्सल आर्ट एन्ड स्पोर्टस् युएईका अध्यक्ष रवि शाहीसहितको टोली अजमान पुगेर उनीहरू बसेको कोठमा छापा मारी उद्धार गरेको थियो ।
 
उनीहरूको साथमा रहेका दलालहरूलाई पनि सिआइडीले पक्रेर हिरासतमा लिएको थियो । तत्पश्चात् उनीहरू एनआरएन युएईको पहलमा नेपाली दूतावासको महिला आश्रयमा पुगेर बसेका थिए । उनीहरूमध्ये आठजनालाई पटक–पटक गरी प्रक्रिया पूरा गरेर नेपाल पठाइएको थियो ।
 
Published on: 14 February 2018 | Naya Patrika

Back to list

;