s

युएई र साउदी अरेवियामा अलपत्र ८ नेपाली कामदारको उद्दार

काठमाडौं : काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा युएई गइ अलपत्र परेका नेपालीको उद्धार गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि उक्त म्यानपावरले सोमबार आठजनालाई उद्धार गरी नेपाल ल्याएको हो।

नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई गरेका छन् ।

युएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले पक्राउ समेत गरेको थियो ।

केही समयअघि साउदी अरेवियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरबको जेद्धामा स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले साउदी अरवस्थित जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए । नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो ।

रानासहित साउदी अरबमा अलपत्र परेका चार नेपालीलाई स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए।

Published on: 8 February 2022 | Annapurna Post

Link

Back to list

;