s

यूएई प्रमाणीकरणका लागि दुई ट्राभल्सद्वारा काम शुरु

यूएईको भीषाका लागि आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रमाणपत्रको प्रमाणीकरण गर्ने जिम्मा पाएका दुई ट्राभल्सले सोमबारदेखि काम शुरु गर्ने भएका छन् । राजधानीको उत्तरढोकास्थित याक्का ट्राभल्स एण्ड टुर्स प्रालि र नागपोखरीस्थित सिटी एक्सप्रेस ट्राभल्सले गत बुधबार दूताबासबाट उक्त अख्तियारी पाएसँग सोमबारबाट काम थाल्ने भएका हुन् ।
 
ती ट्राभल्सले सार्वजनिक विदा बाहेक प्रमाणपत्र लिएको सातौं दिनमा दूतावासबाट प्रमाणीकरण गराई सम्बन्धित व्यक्ति तथा म्यानपावर कम्पनीलाई फिर्ता गर्ने बताएका छन् । नेपालस्थित यूएई दूतावासमा प्रमाणीकरण गर्ने कर्मचारी एक जनामात्र भएकाले सेवाअवधि लम्बिएको र यूएईबाट थप कर्मचारी आएपछि यो अवधिलाई घटाइ तीनदेखि चार दिन भित्रमा प्रमाणीकरण गरी सेवाग्राहीलाई उपलब्ध गरिने बताइएको छ ।  उनीहरुले दूतावासले प्रमाणीकरण गर्न लिने शुल्कमा सेवा शुल्क वापत प्रति रिपोर्ट थप एक सय रुपैयाँ र सो को भ्याट १३ रुपैया गरी १ सय १३ रुपैयाँ लिई प्रमाणीकरण गराइदिनेछन् । सेवाग्राहीले भने दूतावासले तोकेको १ सय ५० दिराम ( करिव ४ हजार ४ सय रुपैयाँ) छुट्टै तिर्नुपर्नेछ । दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको थियो ।
 
आइतबार पनि लाजिम्पाटस्थित यूएई दूतावास अगाडि सेवाग्राहीहरुको लामो लाइन थियो । यद्यपि सेवाग्राहीलाई सहज बनाउन टोकन प्रणाली लागू गरिएको थियो ।
 
Published on: 12 March 2018 | Madhyanha

Back to list

;