s

यूएई प्रमाणीकरण सहज हुने दावी

वैदेशिक रोजगारीका लागि यूएई जाने नयाँ भीषा आवेदक कामदार, विद्यार्थी, पर्यटक लगायतको आवश्यक पर्ने असल चालचलन सम्बन्धी प्रमाणपत्रको प्रमाणीकरण गर्ने जिम्मा पाएका दुई ट्राभल्सले यथाशक्य छिटो प्रक्रिया सहज पार्ने बताएका छन् ।
 
राजधानीको उत्तरढोकास्थित याक्का ट्राभल्स एण्ड टुर्स प्रालि र नागपोखरीस्थित सिटी एक्सप्रेस ट्राभल्सले गत बुधबार दूताबासबाट उक्त अख्तियारी पाएका हुन् । दूतावासबाट चालचलन सम्बन्धी प्रमाणपत्रको प्रमाणीकरण गर्ने जिम्मा पाएका दुई ट्राभल्सले दुई–तीन दिन भित्रै आ–आफ्नो तर्फबाट सेवा सूचारु गर्ने बताएका छन् । उनीहरुले दूतावासले चालचलन सम्बन्धी प्रमाणपत्रको प्रमाणीकरण गर्न लिने शुल्कमा प्रति रिपोर्ट एक सय रुपैयाँ सेवा शुल्क लिई प्रमाणीकरण गराइदिने भएका हुन् ।
 
नागपोखरीस्थित सिटी एक्सप्रेस ट्राभल्सका सञ्चालक शिद्धार्थ थापाले व्यवसायिक भन्दा पनि समाज सेवाको भावनाले काम थालेको बताए । उनले भने, ‘एकमुष्ट कामदारहरुको म्यानपावर कम्पनीले रिपोर्ट उपलब्ध गराएपछि हामीले दूतावास प्रमाणीकरण गरेर परिचय खुल्ने पचियपत्र वाहक म्यानपावर कम्पनीको कर्मचारी मार्फत पठाइदिन्छौं । अब रोजगारीमा जाने महिला तथा पुरुष कामदार बाटोमै खाने तथा बाटोमै दिशा–पिसाव गर्ने र त्यही सुत्ने अवस्थाको अन्त्य हुने छ ।’ यस्तै याक्का ट्राभल्सका सञ्चालक भीम रोक्काले आफूहरुले दिने सेवा केही समयका लागि मात्र भएको र दूतावासले केही समयपछि यो प्रक्रियालाई व्यवस्थित गरेर सहज बनाउने जानकारी दिए ।
 
दूतावासले गत माघ २१ गतेदेखि नेपाल प्रहरीद्वारा जारी गरिएको असल चालचलन सम्बन्धी रिपोर्ट अनिवार्य प्रमाणीकरणको व्यवस्था गरेको हो । तर बिहीबार दुई ट्राभल्सलाई जिम्मेवारी दिएपछि प्रमाणीकरण कार्य रोकिएको छ । दूृतावासको प्रमाणीकरण लिन हजारौं कामदारले निकै सास्ती पाएका थिए ।
 
Published: 11 March 2018 | Madhyanha

Back to list

;