s

युएईको अस्पतालमा ४ वर्षदेखि अचेत नेपालीको कथा

जङ्गबहादुर फर्किए, ५ नेपालीको कोमामा उपचार हुँदै

रुपेश अधिकारी

डेढ महिनादेखि युएईको अस्पतालमा कोमामा उपचारत इलामका जङ्गबहादुर लुङ्गेली साउन १६ गते नेपाल फर्किएका छन् । कोमामै रहेका अन्य ५ नेपाली भने कहिले फर्किएलान् भन्ने टुंगो छैन ।

नेपाल सरकारले विदेशका अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने बताएको छ । तर, सरकारको निर्णय कार्यान्वयनको पर्खाइमा युएईमा छन्- पर्वतका कुमार फकामी पुन, धनुषाका इण्डल पासवान, काठमाडौँका आत्माराम बस्नेत, फूलमाया मगर र ओमनारायण अधिकारी ।
 
चार वर्षदेखि अस्पतालमा अचेत
 
पर्वतका कुमार फकामी पुन अबुधाबीको बदिना जायदस्थित अल गार्विया अस्पतालको उपचार कक्षमा ४ बर्षदेखि अचेत अवस्थामा छन् । उनको स्वास्थ्यमा कुनै सुधार नदेखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् ।
 
कुमार युएईस्थित एक कोरिएन कन्ट्रक्सन कम्पनीमा काम गर्थे । त्यहीँ काम गर्दैगर्दा उनी २ मिटरमाथिबाट झरेका थिए । टाउकोमा असर परेका कारण मस्तिष्कमा समस्या देखिएको उनको स्वास्थ्यलाई नजिकबाट नियालिरहेका सुनसरीका एकराज थापाले अनलाइनखबरलाई बताए ।
 
परिवारसँग समन्वय हुन नसकेका कारण पुनलाई नेपाल फर्काउन कठिनाई भएको छ । उनलाई नेपालमा सुविधासम्पन्न अस्पतालमा उपचार गराउने ग्यारेन्टी भएमात्रै हाल उपचाररत अस्पतालले नेपाल लैजान स्वीकृति दिने दुतावासका पीआरओ इरफान आलम बताउँछन् ।
 
कम्पनीले नेपाल लैजाँदा लाग्ने सबै खर्च व्यहोर्ने बताए पनि अहिलेकै अवस्थामा पुनलाई नेपाल लगे समस्या झनै जटिल बन्ने आलमको भनाइ छ ।
 
साउदीबाट फर्कंदा युएईमा बेहोस !
 
धनुषाका इण्डल पासवान साउदीबाट नेपाल फर्कंदै थिएँ । युएई उनको ट्रान्जिट थियो । तर, युएई ट्रान्जिटमै उनी अचानक बेहोस भएर ढले । अचेत अवस्थामा रहेका उनी मस्तिष्कमा पक्षघात भएपछि युएईमै अड्किए ।
 
करिब एक महिनादेखि उनी दुवईको रशिद अस्पतालको कोमामा उपचारत छन् । उनको उपचार युएईको सरकारी अस्पतालको निगरानीमा भइरहेको छ । उनलाई नेपाल लैजान एयर एम्बुलेन्सको व्यव्स्था भए यहाँको अस्पतालले स्वीकृति दिने नेपाली दुतावास अबुधावीका श्रम सहचारी मोतिराम भुसाल बताउँछन् ।
 
मस्तिष्काघातसँगै प्यारालाइसिस !
 
काठमाडौंका आत्माराम बस्नेत र फूलमाया मगर पनि दुबईको रसिद अस्पतालमा छन् । बस्नेतलाई पहिले मस्तिष्कघात भएको थियो । अहिले प्यारालाइसिस भएको छ । उनी अचेत अवस्थामा छन् ।
 
बस्नेतको नेपालमा रहेका परिवारजन सम्पर्कमा नआएका कारण नेपाल लैजान कानुनी प्रक्रियामा समस्या भएको दूताबास स्रोत बताउँछ ।
 
कुवेतबाट आएकी फूलमाया युएईमा ढलिन्
 
कुवेतमा घरेलु कामदारमा कार्यरत काठमाडौंकी फूलमाया स्वदेश र्फकदै गर्दा युएई ट्रान्जिटमा परेकी थिइन्, उनी यहीँ ढलिन् ।कामको सिलसिलामा विभिन्न यातनाका कारण फूलमायाको शरीरमा गम्भीर समस्या देखिएको छ । उनी एक सातादेखि दुवईको रशिद अस्पतालमा अचेत अवस्थामा छिन् ।
 
अर्का हुन्-ओमनारायण अधिकारी । उनको नेपाल ठेगाना भने नखुलेको दुतावासले जनाएको छ । उनी तीन सातादेखि सारजहास्थित अलकुज अस्पतालमा रहेको दुतावासका सूचना अधिकारी विष्णुकुमारी अधिकारीले जनाइन् ।
 
जंगबहादुर नेपाल फर्किए
 
मष्तिस्कमा रक्तसञ्चार बन्द भई डेढ महिनादेखि दुबईस्थित एनएमसी अस्पतालमा कोमामा उपचारत थिए इलामका जङ्गबहादुर लुङ्गेली । एनआरएनए युएईका पूर्वमहासचिव सन्तोष प्रसाई लगायतका केही व्यक्तिको सहयोगमा दुतावासले उनलाई नेपाल पठाएको छ । तर, उनी पहिलेको अवस्थामा र्फकन अझै बाँकी छ ।
 
दुबईको फार्म फ्रेस एलएलसी कम्पनीमा कार्यरत जंगबहादुरलाई जून १९ तारिखमा काममै रहँदा ह्रदयाघात भएको थियो । उनलाई दुवईस्थित एनएमसी अस्पतालमा उपचार गरिएको थियो ।
 
हाल परिवारको आग्रहमा लुङगेलीलाई काठमाडौंस्थित नर्भिक अस्पतालमा राखिएको प्रसाईंले जानकारी दिए । पारिवारिक वातावरणमा रहँदा उनमा सुधार देखिने चिकित्सकहरुको अनुमान छ ।
 
नेपाल सरकारबाट पहल जरुरी
 
नेपाल सरकारले विदेशका अस्पतालमा कोमामा उपचार गरिरहेका नेपालीलाई स्वदेश फर्काएर उपचार गर्ने बताए पनि विदेशमा यस्ता नेपाली कति छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग छैन ।
 
वैदेशिक रोजगार प्रवर्द्धन वोर्डले २३ जना नेपाली कामदार विभिन्न देशमा कोमामा रहेको तथ्यांक देखाएको छ । बोर्डका अनुसार कतारमा ११ जना, साउदी अरबमा ७ जना, कुवेतमा ४ जना र ओमनमा १ जना विरामी अचेत अवस्थामा छन् ।
 
तर, बोर्डको यो तथ्यांकमा युएईमा उपचारत कामदारको संख्या उल्लेख छैन । नेपाली दुतावास अबुधाबीको पछिल्लो जानकारी अनुसार ५ जना नेपाली कामदार यहाँ कोमामा छन् ।
 
यस्ता बिरामीहरुलाई नेपालमा फर्काएर उपचार गर्ने वातावरण सरकारले बनाउनुपर्ने एनआरएनए युएईका पूर्वमहासचिव सन्तोष प्रसाई बताउँछन् ।वैधानिक बाटोबाट वैदेशिक रोजगारमा आएका नेपाली कामदार समस्यामा पर्दा हेर्ने दायित्व नेपाल सरकारको रहेको उनी बताउँछन् ।
 
दूतावासको पहल
 
मुख्यतः यस्ता बिमारीलाई स्वदेश लैजान नेपाल सरकारसँग एयर एम्बुलेन्स नभएका कारण समस्या आएको दूताबासका अधिकारीहरू बताउँछन् । नेपाल एयरलाइन्स मार्फत लैजान पनि बिमारीको अवस्थाअनुसार आवश्यक सुविधा नभएकाले समस्या देखिन्छ । एयर एम्बुलेन्समा लैजान बिमारीका आफन्तले खर्च जुटाउन सक्दैनन् ।
 
यहाँ अस्पतालहरुमा उपचाररत बिरामीको खर्च रोजगारदाता कम्पनीले नै व्यहोरिरहेका छन् । यी समस्याका बाबजुद पनि अब दूतावासले कोमामा उपचाररत कामदारलाई नेपाल फर्काउन पहल गर्ने जनाएको छ । पासवानको हकमा भने श्रम मन्त्रालय र अन्य सम्बन्धित मन्त्रालयमा जानकारी गराइसकेको श्रम सहचारी भुसालले बताए ।
 
तर, परिवारका नातेदारहरु सम्पर्कमा नआएका कारण उनलाई स्वदेश फर्काउन समस्या भएको बताइएको छ । तर, अब परिवारजन सम्पर्कमा नआए पनि वैदेशिक रोजगार प्रर्वद्धन वोर्डलाई पत्र पठाएर उनलाई नेपाल लैजान आवश्यक प्रक्रिया अघि बढाउने दुतावासको तयारी छ ।अन्य बिरामीको विषयमा पनि बोर्डको सहयोगमा नेपाल फर्काउने तयारीमा दुतावास रहेको भुसाल बताउँछन् ।
 
तर, सरकारले भनेअनुसार यस्ता बिमारीलाई नेपाल फर्काउन आवश्यक नीतिको अभाव देखिन्छ । नेपालमा ल्याएपछि कुन अस्पतालमा राख्ने भन्नेबारे अस्पतालको स्वीकृति पत्र सम्बन्धित देशमा उपचाररत अस्पतालााई जानकारी गराउनुपर्छ । कतिपयको परिवार सम्पर्कमा नआउनाले समन्वयमा समस्या छ ।
 
अर्कोतर्फ उनीहरुलाई स्वदेश ल्याउन एयर एम्बुलेन्समा लाग्ने खर्चका बारेमा पनि सरकारले स्पष्ट नीति नबनाएका कारण खर्च कसरी जुटाउने भने समस्या सम्बन्धित देशका दुतावासहरुलाई छ ।
 
Published on: 9 August 2018 | Onlinekhabar

Back to list

;