s

युएई जाने प्रहरी रिपोर्ट बनाउन ओछ्यानै लिएर लाइनमा

सन्जिता देवकोटा

रुपन्देहीका राजकुमार खाँड गएको बुधबार राती १० बजे ओड्ने ब्ल्याङकेट बोकेर लाजिम्पाट पुग्नुभयो । राती १० बजे उहाँ पुग्दा लामो लाइनमा ओड्ने ओछ्याउनेको व्यवस्था गरेर मानिसहरुले ठाउँ ओगटीसकेका थिए । 

युएई जान भिसा प्रक्रियाका लागि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न राजकुमार संयुक्त अरब इमिरेट्स (युएई) को नेपालस्थित पानीपोखरीमा रहेको दूतावास जानुभएको थियो ।
 
तर दूतावास भन्दा धेरै तलसम्म लाइन थियो । ‘रातभर लाइन बसियो, बिहान पनि बसियो तर टोकन लिन पाइएन, बिहिबार र शुक्रबार बन्द भयो, आज पनि ३ बजेदेखी लाइन बसिरहेको छु, टोकन पाइन्छ कि पाइँदैन ठेगान छैन्,’ आइतबार दिउँसोको १ बज्दा समेत राजकुमारको पालो आएको थिएन ।
 
नयाँ बसपार्कको होटलमा बसेर चारित्रिक प्रमाणपत्र बनाउन धाउँदा धाउदै राजकुमारको १२ दिन बितिसक्यो । यो १२ दिनमा उहाँको २५ हजार रुपैयाँ खर्च भइसक्यो ।
 
राजकुमार जस्तै सुनसरीको धरानका उमेश खत्री चारित्रिक प्रमाणपत्र बनाउन काठमाडौं आएको १० दिन भयो ।  हप्ता दिनमा बल्ल उहाँले प्रमाणपत्र हात पार्नुभयो । ‘सुनसरीको मान्छे, काठमाडौंमा चारित्रिक प्रमाणपत्र बनाउन पर्ने, जिल्लाबाटै दिएको भए त यस्तो सास्ती हुने थिएन कि, झन यो दूतावासमा प्रमाणीकरण गर्नु त युद्ध जिते जस्तै हुनेभयो,’ उमेश भन्नुहुन्छ । 
 
चारित्रिक प्रमाणपत्र प्रमाणीकरणका लागि लाइन बसेका युवामा अन्यौलता थियो । ‘पाँच सय भन्दा बढीलाई टोकन दिँदैन रे, खै आज पाँच सयलाई बाढिसक्यो भन्छन्, बिहान चारबजेदेखि बसेको टोकन मात्र पाउन पाए हुन्थ्यो,’ उमेश भन्नुहुन्छ । 
 
युवा लाइनमा बसेका छन् तर कतिबेला टोकन बाँढ्छ, कहिले प्रमाणीकरण हुन्छ भन्ने उनीहरुलाई जानकारी छैन् । रातभर लाइन बस्नेहरु पछि छन् । तर लाइन व्यवस्थापन नहुँदा पालो कुर्न पनि दिनभर कुर्नुपरेको महेन्द्रनगरका तपेन्द्र जोशीले बताउनुभयो ।
 
दुई महिनाअघि होटलको काममा जान अन्तर्वाता दिएर घर फर्किएका तपेन्द्रलाई दुई महिनामा भिसा आउँछ भनेको थियो म्यानपावरले । तर फेब्रुवरी चार अर्थात माघ २१ गतेबाट युएईले नयाँ कामदार भिसामा आउने विदेशी कामदारका लागि चारित्रिक प्रमाणपत्र अनिवार्य गरेपछि उहाँलाई म्यानपावरले यो प्रक्रिया थाल्न सुझाएको थियो । ‘भिसा आयो होला भनेको खै के नियम पो आएछ, सास्ती धेरै भयो,’ तपेन्द्र भन्नुहुन्छ ।
 
उहाँ दूतावासको गेट धाएको ठ्याक्यै पाँच दिन भयो । दुई दिन लाइनमा बस्नुभयो । टोकन पाएपछि दूतावासले तीन दिनपछि बोलायो । ‘आजपनि बिहान चार बजेदेखि लाइनमा बसेको, खै आज त प्रमाणीकारण होला भनेको के हुन्छ के,’ आइतबार ११ बजे दूतावास अगाडि भेटिँदा तपेन्द्र अन्यौलमै हुनुहुन्थ्यो । 
 
राम्रो आचरण र व्यवहार सम्बन्धी चालचलनको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरेपछि दूतावास धाउनेको संख्या बढेको छ । लाजिम्पाटको साङ्ग्रीला होटलदेखि दूतावासको गेटसम्म युवाको लर्को छ । ‘यहाँ भन्दा तलबाट लाइनबस्न दिँदैन्,’ रिपोर्ट हात पर्ने बित्तिकै लाइन बस्न आइपुगेका सुर्खेतका रामजी बिक भन्नुहुन्छ ।
 
लाइनमा बस्न पनि उस्तै सास्ती छ । ‘धेरै जनाको लाइन भएकाले ठेलमठेल धेरै हुने, त्यो भन्दा पनि  समस्या ट्वाइलेटको छ,’ कोटेश्वरबाट आएकी पूर्णीमा आचार्य भन्नुहुन्छ । रातदिन नभनेर लाइन बस्दा पनि टोकन नपाउने समस्या भएको उहाँ बताउनुहुन्छ।
 
प्रहरीबाट राम्रो बानी व्यवहारको प्रमाणपत्र पाएपछि त्यसलाई काठमाडौंको त्रिपुरेश्वरमा रहेको कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरेर दूतावासमा प्रमाणीकरण गर्नुपर्छ । 
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले प्रमाणिकरण गरिसकेको प्रहरी रिपोर्ट नेपालमा रहेको युएईको दूतावासले फेरि प्रमाणीकरण गर्नुको कुनै औचित्य नभएको भन्दै विरोध गरिरहेको छ ।
 
यस्तै रिपोर्ट बनाउँदा लाग्ने ४ हजार ३ सय रुपैयाँले कामदारलाई आर्थिक भार थपिने भन्दै संघले यस्तो काम नगर्न नगराउन सम्बन्धित सबैको ध्यानाकर्षण पनि गराएको छ । 
 
तर दूतावसले अहिले एक सय रुपैयाँ बढाएको कोटेश्वरकी पूर्णिमाले गुनासो गर्नुभयो । ‘खै पैसा पनि अस्ति तिर त ४३ सय भन्थे, अहिले त ४४ सय रे, एक सय के को बढेको हो थाहा छैन, कसलाई सोध्नु, केहि थाहा पनि हुँदैन्, यो त साह्रै सास्ती र महङ्गो भयो,’  पूर्णिमा भन्नुहुन्छ ।
 
पछिल्लो पाँच वर्षमा आफ्नो देश बाहेकको देशहरुमा बसोबास गरेको भए सोही देशबाट प्रहरी प्रतिवेदन बनाउनुपर्ने र पाँच वर्षभन्दा बढी युएईमा बसोबास भएमा युएईकै प्रहरी निकायबाट यो प्रमाणपत्र बनाउनु पर्ने कानुनी व्यवस्था गरिएको छ ।
 
भिजिट भिसामा आउनेका लागि पुलिस रिपोर्ट अनिवार्य छैन । युएईमै काम गरिरहेका कामदारको हकमा भने स्पोन्सर परिवर्तन गर्दा यो प्रमाणपत्र नचाहिने युएइले बताएको छ । यो नियम लागूहुँदा भने विदेशी कामदार सबैलाई यो नियम अनिवार्य गरेको थियो ।
 
Published on: 4 March 2018 | Ujyaaloonline

Back to list

;