s

यूएई जान ‘चालचलन प्रमाणपत्र’ नचाहिने

संयुक्त अरब इमिरेट्स (यूएई) ले रोजगार भिसाका लागि ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णय तत्कालका लागि रद्द गरेको छ ।
 
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयलाई सोमबार यूएईले यस्तो जानकारी गराएको हो । वैदेशिक रोजगारका लागि यूएई जाने नेपाली श्रमिकले ‘चालचलनको प्रमाणपत्र’ पेस गर्नुपर्ने निर्णयको आलोचना बढेपछि यूएईले यस्तो निर्णय गरेको जनाइएको छ ।
 
दूतावासले चालचलन प्रमाणीकरणका नाममा ४ हजार ३ सय रुपैयाँ लिन थालेपछि श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत यूएई सरकारको ध्यानाकर्षण गराएको थियो । प्रमाणपत्र लिन नेपाली कामदारले हैरानीसमेत बेहोरेका थिए । सुरक्षाको कारण देखाउँदै गत फेब्रुअरी ४ बाट यो नीति कार्यान्वयनमा ल्याइएको थियो ।
 
‘चालचलनको प्रमाणपत्र रद्द गरेको औपचारिक जानकारी सोमबार पाएका छौं,’ श्रम, रोजगार तथा सामाजिकमन्त्री गोकर्ण विष्टले कान्तिपुरसँग भने, ‘यूएई सरकारको पछिल्लो नीतिले नेपाली श्रमिकलाई राहत मिलेको छ ।’
 
यूएईले ५ वर्ष बसेको मुलुकबाट प्रहरी प्रतिवेदन बनाउने नियम ल्याएको थियो । यूएईले अर्को सूचना जारी नभएसम्म अप्रिल १ बाट लागू हुने गरी यो नियम रद्द गरेको जनाएको छ । ‘कामदार आपूर्ति गर्दा पेस गर्नुपर्ने असल आचारणसम्बन्धी मन्त्रिपरिषदको २०१७ को निर्णय नम्बर १/८ लाई मन्त्रिपरिषदको निर्णय नम्बर २०१८ को २० (४) ले अल्पकालीन रूपमा रद्द गरेको सूचित गरिन्छ,’ यूएईको मानव संसाधन मन्त्रालयले पठाएको सूचनामा छ ।
 
Published on: 10 April 2018 | Kantipur

Back to list

;