s

यूएई दूतावासको प्रमाणीकरण नरोकिने

नेपालस्थित यूएई दूतावासले नेपाल प्रहरीले जारी गरेको आफ्नो देश जाने नेपाली कामदारको असल चालचलन सम्बन्धी पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने हालको प्रक्रिया तत्काल रोक्न नसक्ने बताएको छ ।
 
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा संघका दुई पूर्व अध्यक्ष सहित मंगलबार यूएई दूतावास पुगेको टोलीसँगकोे छलफलमा नेपालकालागि यूएईका राजदूतले उक्त जानकारी दिएका हुन् ।
 
संघको टोलीले यूएईको विकास निर्माण र आर्थिक समृद्धिमा सहयोग पुर्याउन नेपालको सरकारी निकायबाट जारी रिपोर्ट लिएर जाने कामदारलाई प्रमाणीकरणका नाममा आर्थिक तथा भौतिक समस्यामा नपार्न आग्रह गरेपछि राजदूतले उक्त जवाफ दिएका हुन् ।
 
संघ अध्यक्ष गुरुङ सहित पूर्व अध्यक्षद्वय प्रेमबहादुर कटुवाल र वलवहादुर तामाङ, महासचिव नरेश गेलाल, प्रथम उपाध्यक्ष रामप्रसाद भान्तना र साउण्ड लाइन्स रिक्रुटमेन्टका सञ्चालक सञ्जय देवकोटा दूतावास पुगेका थिए । राजदूतसँगको छलफलमा राजदूतले दूतावास आसपास बढेको भीड नियन्त्रण गर्न संघलाई आग्रह गरेका थिए । तर, संघले प्रहरी रिपोर्ट प्रमाणीकरणका नाममा कामदारबाट ४ हजार  ३ सय शुल्क लिइरहेको अवस्थामा दूतावास आसपास हाल देखिएको भीड व्यवस्थापन गर्न सहयोग गर्न नसक्ने बताएको अध्यक्ष गुरुङले बताए ।
 
नेपाली निकायले जारी गरेको प्रमाणपत्र दूतावासले अनिवार्य प्रमाणीकरण गर्दा नेपाली निकायमाथि अविश्वास गरेजस्तो भएको भनी संघले राखेको विषयमा राजदूतले यो यूएई सरकारको निर्णय भएकाले आफू एक्लैले त्यसलाई परिमार्जन वा संशोधन गर्न नसक्ने जवाफ दिएका थिए । संघले नेपालमा नयाँ श्रममन्त्री नियुक्त हुन थालेको भन्दै राजदूतलाई यस विषयमा आफ्नो सरकारसमक्ष कुरा राखिदिन आग्रह गरेको थियो ।
 
यसैबीच, यूएईले आफ्नो मुलुकमा आउने नयाँ विदेशी कामदारलाई चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) अनिवार्य गरेको जनाएको छ । दूतावासले मंगलबार एक विज्ञप्ति जारी गदै उक्त जानकारी गराएको हो । विज्ञप्तिका अनुसार विदेशी नयाँ कामदारलाई यस्तो चारित्रिक प्रमाणपत्र अनिवार्य गरिएको हो । यो नियम यूएईमा काम गर्न जाने नयाँ नेपाली कामदारहरुलाई पनि लागू हुने विज्ञप्तिमा उल्लेख छ । आफ्नो सरकारको नयाँ नियम नबुझेको कारण कार्यालय परिसरमा भिडभाड भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । नयाँ कामदारहरुले आफ्नो चारित्रिक प्रमाणपत्र म्यानपावर तथा रोजगारदाता कम्पनीहरु मार्फत पेश गर्न सकिने पनि दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएकोे छ ।
 
Published on: 7 March 2018 | Madhyanha

Back to list

;