s

'युएइ भन्दा कुखुराको आम्दानी राम्रो'

उपेन्द्र लामिछाने

युनाइटेड अरब इमिरेट्स (युएई) मा एक दशक काम गरेर दुई वर्षअघि फर्केका दोलखाका अमर कार्कीले राजधानी नजिकैको थली गाउँमा कुखुरापालन सुरु गरे। अरबको भन्दा कुखुराको आम्दानी उनलाई राम्रो लाग्यो। तत्कालै उनले अबुधाबीमा काम गर्दै गरेका दुई भाइलाई घर डाके।

भाइहरु सुमन र वीरेन्द्र पनि दाजुको आग्रहमा घर फर्केर त्यही व्यवसायमा व्यस्त छन्। दुई भाइ फर्केलगत्तै अमरले मुलपानीस्थित निजी निवासनजिकै अर्को फाराम खोलेका छन्।

'थलीमा साझेदारीमा ६ हजार लेयर्स कुखुरा पालेको छु,' अमरले भने, 'भाइहरुलाई यता बोलाउने भएपछि घरनजिकै फाराम खोलेर थप २ हजार कुखुरा ल्याएँ।' प्रति गोटा ६ देखि ८ रुपैयाँसम्ममा बिक्री हुने अन्डाले दिने आम्दानी उताको दिराम (युएईको मुद्रा) भन्दा निकै मूल्यवान भएको उनको अनुभव छ। 'अहिले कुखुराले नै 'दिराम' पार्न थालेजस्तो लागेको छ,' उनले हास्दै भने। अरबमा भएको कमाइभन्दा बेसी आम्दानी त छँदै छ त्योभन्दा बढी आफ्नै देशमा गरिखान सकेकोमा उनी खुसी छन्।

'फारमका ८० प्रतिशत कुखुराको दैनिक अन्डा जोड्ने हो भने पनि ४० हजार रुपैयाँको हुन्छ,' उनले थपे, 'सबै खर्च कटाउँदा पनि अरबको आम्दानीभन्दा बढी बच्छ।' भाइहरुले अरबमा कमाउने मासिक २०/२५ हजार रुपैयाँ यही कुखुराबाट सजिलै प्राप्त हुने उनले बताए।

कामको सिलसिलामा दैनिक सयौंको संख्यामा विदेशिने युवालाई उनी नेपालमै काम गर्ने सल्लाह दिन्छन्। 'अधिकांश युवाहरु कम्तीमा ८० हजार खर्चेर खाडी मुलुक जाँदैछन्,' उनले आफ्नो अनुभव सुनाए , 'त्यही रकमबाट सानो उद्यम सुरु गर्ने हो भने उताको आम्दानी यहीं पाउन सकिन्छ।'

अरब जानुको साटो यतै तरकारी खेती, कुखुरापालन, गाईपालन या अन्य कुनै व्यवसाय गर्न सकिने उनको बुझाइ छ। '१० वर्ष उता काम गर्दा कहिल्यै खुसी हुन सकिन,' उनले भने, 'अहिले यहाँ रमाएर व्यवसाय सञ्चालन गर्दै छु।'

अरबबाट फर्केर गरेको कुखुरापालनमा लागेका कार्की परिवारलाई आर्थिक समृद्धिमात्र हैन, पारिवारिक सुख पनि मिलेको छ। तिनै सन्तान खाडीमुलुकमा रहँदा उदास उनीहरुकी आमा निरमायाको अनुहार यति बेला हसिलो छ। 'आफ्नै घर दैलामा काम गरेको देख्दा खुसी लाग्छ,' उनले भनिन्, 'एकैपटक तीनै छोरालाई आँगनमा देख्न पाउदा निकै खुसी लागेको छ।'

अमरकी बहिनी लक्ष्मी पनि परदेसिएका दाजुभाइको स्वदेश आगमनले खुसी छिन्। 'यसपालिको तिहारमा तिनै भाइलाई एकैपटक मखमली माला लगाउने छु, ' उनले भनिन्, 'मलाई निकै रमाइलो लागेको छ।' 

Published on: 28 October 2012 | Nagarik

Back to list

;