s

... त्यसपछि बाख्रा हेर्ने भइयो

होम कार्की

कतारको राजधानी दोहाबाट झन्डै ४० किलोमिटरको दूरीमा पर्ने उपरसाइडमा ४ सय २० वटा भेडी फार्म छन् । त्यसमध्ये एउटा फार्ममा बोहरागाउँ-५ बागलुङका ३५ वषर्ीय मुक्ता शाही र उनका २१ वषर्ीय भाइ अमर भेटिए । वरिपरि जस्ताले घेरिएको फार्मभित्र चार हजारभन्दा बढी विभिन्न प्रजातिका परेवा, मयूर, घोडादेखि सुडानी बाख्रा, भेडालाई नियमित रेखदेख, दाननपानी गर्नु उनीहरूको नियमित ड्युटी हो ।

३ वर्षअघिदेखि भेडीगोठमा कार्यरत शाही बन्धुको बसाइ तुलनात्मक रूपमा नजिकको भेडी फार्मभन्दा सुविधाजनक छ । सोलारजडित विद्युत सेवा छ ।  दोहासँग उनीहरूको सहज पहुँच छ, जसले भेडी फार्ममा कार्यरत सुडानी, बंगालीदेखि नेपाली दाजुभाइको मोबाइल चार्जदेखि सुर्ती, पेप्सी, चुरोट किन्नेहरूको त्यहाँ बाक्लो उपस्थिति हुन्छ । 'दिनमा चार घन्टा खटे पुग्छ,' मुक्ताले भने, 'त्यसपछि मजाले बस्ने हो ।'

एसएलसी सकेर गाउँमा स्कुल पढाउँदै गरेका अमर थप पढ्न नसकेपछि दाइको पछि लागे । मुक्ताको भने बेग्लै कथा छ । बागलुङमा जन्मे पनि मुक्ता भारतको पन्जाबस्थित जालन्धरमा हुर्के । ४ वर्षैमा बाबुआमासँग भारत पुगेका मुक्ताका बुबा फ्याक्ट्रीका सुरक्षा गार्ड थिए । आमा चिया पसल गर्थिन् । ४ कक्षासम्म त्यहीं पढे । १३ वर्षको उमेरमा उद्योगमा सामान्य मजदुर बने । उद्योगमा ५ वर्षजति काम गरेर छाडिदिएपछि उनको बाल्यकालका दुई केटी साथीसँग भेट भयो । '४ कक्षासम्म सँगै पढिरहेका दुईजना केटी बाटोमा भेट भए । उनीहरू डान्सर बनेछन्,' उनले भने, 'दिनको एक सय आईसी दिन्छु, सँगै हिँड्ने हो भनेर प्रस्ताव राखेपछि स्वीकार गरिदिएँ ।'

उनको काम पार्टीमा नाच्दै हिँड्ने उनीहरूलाई पानी दिने, रुमाल समाइदिने सहयोगी काम गर्थे । 'चाडपर्वमा मात्रै मासु खान पाउँथ्यौं । पहिलो दिनमै मासुको परिकारयुक्त भोजमा पुग्दा मन रसायो,' उनले भने । पैसा आउने, त्योसँगै स्वादिला खानेकुरामा रम्न पाउने हुँदा डान्सरहरूसँग काममा नियमित हुन थाल्यो । त्यही क्रममा उनको सम्पर्क बढ्न थाल्यो । पन्जाबी भाषामा दख्खल भएका मुक्ताको बजारमा बिस्तारै पहुँच बढ्न थाल्यो ।

पितलो र कालो वर्णका मुक्ता पन्जाबमा काले शाहीको रूपमा चिनिन थाले । आफ्नो सम्पर्कका केटीहरूलाई बोलाउन थालेपछि काले शाहीले आफैंले कन्ट्याक्ट लिएर काम गर्ने योजना बनाए । 'अब तेरो काम, मेरो दिमाग,' आफूलाई यो क्षेत्रमा ल्याउने डान्सरलाई भने, 'अब पार्टनरमा काम गर्ने भए सँगै गर्छु । नत्र छाडिदिन्छु ।'

उनको योजनामा केटी डान्सरहरू सहमत भए । केही समयमै आफ्नै 'मस्त म्युजिक ब्यान्ड' खोले । यसमा उनले १० जना डान्सरहरू राखेर तलब दिन थाले । नाच्ने डान्सरहरूका सुन्दर तस्बिर राखेर एल्बम बनाए । त्यही एल्बमका केटी देखाएर पार्टीहरू पाउन थाले । 'तीन वर्षमै मेरो ब्यान्ड पन्जाब क्षेत्रमा चर्चामा थियो,' उनले भने, 'विवाह, किटी पार्टी र बर्थडेजस्ता ठूला ठूला कार्यक्रममा मेरो माग हुन थाल्यो ।'

त्यतिखेर भर्खर भारतमा मोबाइल भित्रिएको थियो । 'फोन गर्दा ९ र उठाउँदा ४ आईसी लाग्थ्यो,' उनले भने, 'हात जत्रो मोबाइल बोकेर नाम चलेको बाइक लिएर हिँड्दा मसँग प्रतिस्पर्धा गर्नेहरू निकै तल थिए ।' उनी दुबईमा आफ्नो समूह लिएर हरेक वर्ष तीन/तीन महिनाको लामो टुरमा जान थाले । उनले भने, 'एकचोटि जाँदा १२ लाख आईसी आउँथ्यो । सबै खर्च कटाएर दुई लाखभन्दा बढी नाफा हुन्थ्यो ।' पन्जाबतिरको कमाइ बेग्लै थियो । दिनमै ७५ हजार आईसीसम्म हात पार्थे । 'अरूले डान्सरलाई एक सय दिने गरेकोमा मैले तीन सय दिन्थें । खाने-बस्नेदेखि लाउनेसम्म मेरो हुन्थ्यो,' उनले भने, 'मैले पार्टीसँग प्रतिडान्सर १३ सय लिन्थें ।'  

एकपट्ट िमस्त ब्यान्डमा मस्त भइरहेका काले शाही अर्कोपट्ट िभारतीय जनता पार्टीको त्यस क्षेत्रको कार्यकर्ता बनिरहेका थिए । 'मलाई एरिया प्रधान चुनिएको थियो । त्योसँगै जनजागरणको नेता चुनिए । साथमा पैसा र पावर भएका काले शाहीको पछि लाग्नेको ताँती हुन्थ्यो । 'रासन कार्ड, बोर्डर पासदेखि लाइसेन्स बनाउन मेरो सिफारिस चल्थ्यो,' उनले भने, 'मुद्दामामिला मिलाउन आउनेहरूको लाइन हुन्थ्यो ।' बागलुङकै ८०/९० जना रासन कार्ड, बोर्डर कार्ड बनाइदिएका थिए ।

२००३ बाट तीन वर्षसम्म विशेष कार्यकर्तामा मनोनीत भए । सानातिना कार्यक्रमहरूको रिबन काट्ने काम काले शाहीबाटै हुन्थ्यो । 'बोल्ने क्षमता थिएन । बोल्नुको सट्टा पैसा बोल्थे,' उनले भने, 'स्कुल, मन्दिर, क्लब र स्थानीय कार्यक्रममा सबैले बोलाउँथे । चन्दा पनि त्यहीअनुसार कवुल हुन्थ्यो ।' आफ्ना नजिकका साथीभाइले काले शाही जिन्दावाद भन्नेदेखि वरिपरि पोस्टर/ब्यानरसमेत टाँगिन थालेपछि उनलाई लाग्न थालेछ, 'यो प्रहरी, नेता भनेका झ्यास हुन् ।' बागलुङदेखि भेट्न जाने आफन्त, बुबाआमालाई आवश्यकताअनुसार पैसा दिएर पठाउँथे । झन् गाउँघरमा जग्गा, घर भएको ठानेपछि आफू आर्थिक रूपमा सम्पन्न ठान्थे ।

राजनीतिमा बढ्दा चासो बढेपछि उनको मस्त ब्यान्डमा ध्यान क्रमशः कम हुँदै गयो । आम्दानी कम हुन थालेपछि चन्दा संकलन हुन थाल्यो । त्यतिखेर आइपुग्दा उनको विवाह भइसकेको थियो । आफैंले ५ वर्षे करार गरेको पन्जाबकै एक डान्सर युवतीसँग प्रेम विवाह भएको थियो । छोरा पनि जन्मिसकेका थिए । आर्थिक रूपमा निकै कमजोर ती युवतीले आफ्नो पारिवारिक सहमतिबिना काले शाहीलाई साथ दिएकी थिइन् ।

तर, एकबिहान सासूआमा र श्रीमतीबीचको आधा घन्टा टेलिफोन चलेको सुनेपछि काले शाहीको सातो उड्यो । 'त्यो बहादुर, त्यो गोर्खेको घरको ठेगाना छैन । जति पैसा, सुन, बैंकको खाता आफ्नो नाममा सार्नु,' सासूले यस्तो भनिराख्दा श्रीमतीले जवाफ दिइछिन, 'हुन्छ त्यसै गर्छु ।' त्यसरी माया गरेर विवाह गरेकी श्रीमतीको जवाफ सुनेपछि उनको मन टुट्यो । 'केही भनौं त चार वर्ष लामो प्रेमपछि विवाह भएको,' उनले भने, 'केही भन्न सकिनँ । त्यसको सट्टा रक्सी खान थालें ।'

उनी पारिवारिक विश्वास, आर्थिक आम्दानी, राजनीतिक पहुँचमा बिस्तारै तल झर्दै गए । पैसा दिन नसक्ने भएपछि साथीभाइको जयजयकार पनि घट्दै गयो । एक दिन जिम्मा पाएको भव्य डान्स पार्टीमा करार गरिएको तीनजना डान्सरले पैसा लिएर नआइदिएपछि उनी तनावमा परे । साथीभाइको उक्साहटमा डान्सरको घरमा गएर तोडफोड गरिदिए । त्यसको फाइदा प्रतिस्पर्धी साथीले उठाए । 'त्यो साथीसँग मेरो राजनीतिक र व्यावसायिक प्रतिस्पर्धा थियो । उसले त्यो केटीलाई लुकाएर अपहरण र लुटपाटको मुद्दा हालिदियो,' उनले भने, 'त्यसपछि म पक्राउ परें, तारेखमा छुटें ।' यो घटनापछि मुद्दा मामिलाको झन्झट पर्‍यो । अदालतमा गएर मुद्दा हार्ने स्थिति देखेपछि उनी भारत छोडेर २००८ मा बागलुङ आए । त्यतिखेर श्रीमतीसँग पनि लगभग सम्पर्क विच्छेद भइसकेको थियो ।

उनी बागलुङ पुग्दा २९ वर्षका थिए । साथमा केही थिएन । गाउँघर सोचेको भन्दा एकदमै भिन्न थियो । 'पन्जाबमा रहँदा घरजग्गा पन्जाबकै मूल्य बराबरको होला भन्ने सोचेको थिएँ,' उनले भने, 'घरको आर्थिक अवस्था अर्कै रहेछ । यसले निकै दुःखित बनायो ।' घरमा बुबाआमा, एक भाइ र बहिनी दाइ फर्किएकोमा खुसी थिए । 'जिन्दगीमा निकै ठूलो भूल गरेछु । आमाबुबालाई बिर्सिएछु,' उनले भने, 'मैले हिजो साथीभाइलाई खर्चेको पैसा आमाबुबालाई दिएको भए आज के हुन्थ्यो ?'

बल्ल बल्ल फर्केको छोराको विवाह गर्न बुबाआमा तातेपछि उनले टार्न सकेनन् । नहेरी विवाह गरे । विवाह गरेलगत्तै घरको डामाडोल आर्थिक अवस्था सुधार्ने कोसिस गरे । कतारमा आफन्त भएकाले भिसा पठाइदिन अनुरोध गरे । 'भतिजाले बाख्रा हेर्ने भिसा छ । केही महिना पर्खनुस्, राम्रो भिसा खोज्छु भनेको थियो । मलाई घरको अवस्थाले साह्रै चिन्तित बनायो । त्यही भएर यसमै आएँ,' उनले भने, 'बाख्रामा भए पनि निकै सन्तोष मिलेको छ ।' अहिले उनलाई यो जीवन 'बेस्ट' लागेको छ । 'परिवार खुसी छ, म पनि खुसी छ,' उनले भने । 

उनको उतारचढावपूर्ण जीवनको भोगाइमा सबैभन्दा ठूलो परिवार रहेछ । 'पहिला पैसाले पेलेर बनाएका साथी थिए,' उनले भने, 'अहिले भगवान्जस्ता आमाबुबाको साथ पाएको छु । प्यारी श्रीमती छिन् । भाइ आफन्तको वरिपरि छु । टाउकोमा हात राखिदिने मान्छे चाहिँदो रहेछ । आमाबुबा, श्रीमतीको गाइड चाहिँदोरहेछ । मलाई कसैको डर थिएन,' भने, 'अहिले परिवारको चिन्ता छ । टेन्सन छ । भाइबहिनीको भविष्यको चिन्ता छ । मलाई जीवनमा केही गरुँला भन्ने छैन ।'

उनी पहिलाको 'काले शाहीको जीवन' भुल्न प्रयास गर्दै छन् । भारतको जीवनलाई सम्झाउने उनीसँग एउटा सानदारको 'फोटो एल्बम' छ । जुन भारतका साथीहरूले ल्याइदिएपछि यहाँ आइपुगेको थियो । अब यो यहीं छाडेर जाँदै छु । 'म पूर्ण रूपमा नयाँ सामान्य जीवन बिताउँछु,' उनले भने, 'विगतबाट गतिलो पाठ सिकेको छु । बाख्रा चराएर कमाएको हजार रियालले सुखद जीवन चलेको छ । जसलाई निरन्तरता दिन्छु ।

Published on: 16 March 2013 | Kantipur

Back to list

;