s

टर्कीसँग श्रमको सम्झौता तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टर्कीसँग श्रम सम्झौताको तयारी गरेको छ । नेपाल–टर्की परामर्श समितिमा भएको दुई मुलुकबीचको छलफलमा टर्की पनि श्रम सम्झौताका लागि इच्छुक देखिएपछि नेपालले प्रक्रिया अगाडि बढाउन लागेको मन्त्रालयका वैदेशिक रोजगार विभागका सहसचिव दीपक ढकालले बताए । ‘हामी प्रारम्भिक चरणमा छौँ । सम्झौताका लागि मस्यौदा बनाउँदै छौँ । हामीले बनाएको मस्यौदा सम्बन्धित मुलुकलाई चित्त बुझे मात्रै सम्झौताको प्रक्रिया अगाडि बढाइनेछ,’ उनले भने ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित रोजगार दाताले नै खर्च व्यहोर्ने गरी टर्कीसँग श्रम सम्झौता गर्ने तयारी गरेको छ । यसअघि सरकारले मलेसिया, युएई र मरिसियससँग पनि यस्तै खालको सम्झौता गरेको थियो । टर्कीसँगको सम्झौतामा सरकारले रोजगारीमा जाँदा र आउँदा ठगी नियन्त्रण, भर्ना प्रक्रियाको पारदर्शिता, श्रमिकको न्यायमाथिको पहुँच, नियमित तलब र सुनिश्चितता, बिदा, महिला कामदारका लागि आवश्यक सुविधा, आवासलगायतका सुविधालाई प्राथमिकतामा राखेको छ । तत्कालका लागि २ वर्षको भिसा अवधि हुनेछ ।

मन्त्रालयका अनुसार टर्कीले निर्माण, कृषि, मार्केटिङ, सरसफाइलगायतका क्षेत्रका नेपालबाट कामदारको अपेक्षा गरेको छ । टर्कीमा श्रमिकको न्यूनतम ज्याला ५० हजार रुपैयाँ रहेको मन्त्रालयका सहसचिव ढकालले बताए । साथै कामदारले पारिश्रमिकसहित ओभर टाइमको समेत सुविधा पाउनेछ । सरकारले यसअघि जापानसँग पनि श्रम सम्झौता गरिसकेको छ  । गत आर्थिक वर्षमा म्यानपावर एजेन्सीको माध्यमबाट १ हजार ३ सय ९९ जनाले टर्कीका लागी श्रम स्वीकृति लिएका छन् । २ सय १० जनाले व्यक्तिगत रूपबाट श्रमको स्वीकृति लिएका छन् ।

Published on: 12 August 2019 | Naya Patrika

Back to list

;