s

टर्कीमा बन्धक ९ नेपाली स्वदेश फर्किए

एकको मृत्यु

कामको खोजीमा संयुक्त अरब इमिरेट्सको दुबईबाट युरोपेली मुलुक ग्रीस जाँदा अपहरणमा परेका ९ नेपाली १८ दिनको बन्धक जीवनपछि स्वदेश आइपुगेका छन् । उनीहरूसँगै गएका स्याङ्जा कुवाकोटका अर्जुन भण्डारीको भने मृत्यु भएको छ । वैदेशिक रोजगारीमा दुबई पुगेका उनीहरूलाई अपहरणकारी समूहले मासिक १७ सय युरो कमाइ हुने प्रलोभनमा त्यहाँबाट ग्रीस लगेका थिए । स्थल र समुद्री मार्ग हँुदै २५ औं दिनमा टर्की र ग्रीसको सिमानामा पुर्‍याई अपहरणकारीले फिरौती माग्दै बन्धक बनाएका थिए ।

पटक-पटक फिरौती रकम दिँदासमेत अपहरणकारीले मुक्त नगरेपछि झगडा गरेर भागेका उनीहरू टर्की प्रहरीको शरणमा पुगेका थिए । त्यहाँ गैरकानुनी प्रवेशबापतको कानुनी प्रक्रिया पूरा गरेर बिहीबार काठमाडौं आइपुगेका हुन् । जसमा बागलुङका दलबहादुर बुढाथोकी र तुलबहादुर घर्ती मगर, दाङका तिलक पुन, रोल्पाका चित्रबहादुर पुन र झपेन्द्र खड्का, कास्कीका सुरेश गुरुङ, धरानका कुर्साङ तामाङ तथा म्याग्दीका मेघबहादुर छन्त्याल र वीरबहादुर पुन छन् । सँगै गएका भण्डारीको भने दुबईबाट ग्रीस जाने क्रममा तीव्र गतिको डुंगा चढेका बेला बाटैमा मृत्यु भएको उनीहरूले जानकारी दिए । 'स्पिड बोटमा अगाडिपट्ट िभण्डारी सुतेका थिए, २ घन्टापछि बोलाउँदा बोलेनन्, मृत्यु भइसकेको रहेछ,' तिलकले भने । मृतक भण्डारीका साला कृष्ण खनालका अनुसार चिनजानका व्यक्तिले नेपालमै रहेका भण्डारीलाई ग्रीस जान बोलाएका थिए । साथीहरू दुबईबाट ग्रीस जाने भनेपछि उनी नेपालबाट दुबई हँुदै ग्रीसका लागि हिँडेका थिए । झापा घर भएका एक व्यक्तिले 'माफिया'सँगको मिलोमतोमा दुबईमा काम गरेर बसिरहेका नेपालीलाई अपहरणको धन्दा चलाइरहेको आरोप उनीहरूले लगाएका छन् । 

तिलकका अनुसार उनीहरूलाई ग्रीसको सुपरमार्केटमा रोजगारी र त्यसबापत मासिक १७ सय युरो कमाइ हुने बताएका थिए । सुरुमा उनीहरूले बुटवलका अच्युत कँडेललाई पठाए । २५ औं दिनमा अच्युतले ग्रीसबाट फोन गरेर तिलक, झपेन्द्र र तुलबहादुरलाई बोलाए । अपहरणकारीले अच्युतलाई पनि बन्धक बनाएर सुरुमा नेपालबाट पैसा मगाएका थिए । परिवारका सदस्यले पैसा दिन नसक्ने जवाफ दिएपछि  साथीहरू बोलाएपछि मात्र छाड्ने भन्दै उनलाई यातना दिएका थिए ।

उनीहरूका अनुसार त्यहाँ पुगेका धेरै नेपालीले २ लाख ५० हजारदेखि २० लाखसम्म फिरौती बुझाएका छन् । जस्तो ः तिलकले २० लाख, सुरेशले २० लाख, कुर्साङले १२ लाख, तुलबहादुरले ९ लाख, वीरबहादुरले २ लाख ५० हजार र झपेन्द्रले २ लाख ५० हजार बुझाएका छन् । नेपालमा रहेका परिवारलाई फोन गरेर उनीहरूले फिरौती रकम मगाएका थिए । रकम बुझाउँदासमेत उनीहरूलाई नछाडी चिनजानका अन्य १० नेपालीलाई बोलाउन लगाएका थिए । उक्त समूहले समुद्रमा आफूसँगै यात्रारत साथीको निधनपछि मात्र आफूहरू ठगिएको सुइँको पाएको थियो । 'बोटमा बसेको साथीको मृत्यु भयो, उसलाई छाडेर जाँदैनौं भन्दा दलालले तिमीहरू पनि मर्छौ भन्दै तर्सायो,' तिलकले भने, 'सेनाको हेलिकप्टर गस्ती आउँछ, आकाशबाटै गोली हानेर मार्छ भन्दै डर देखाए ।' भण्डारीलाई बचाउन नसकेकामा उनीहरूले दुखेसो गरे । 'बचाउन त सकेनांै नै, लाससमेत थान्को लगाउन सकिएन,' उनले भने, 'ज्यान जोगाउनै गाह्रो भयो ।'

नेपालीलाई युरोपको आस देखाएर रकम असुल्ने गरेको यसअघि नै खुलासा भइसकेको छ । सन् २०१० यता सक्रिय दुबईदेखि टर्कीसम्मको गिरोहले नेपाली, बंगलादेशी, पाकिस्तानी र श्रीलंकालीलाई लालचमा पारेर बन्धक बनाई फिरौती असुल्दै आएको पाइएको छ ।

Published on: 25 July 2013 | Kantipur

Back to list

;