s

टर्कीमा काम परेको गुनासो गर्दा अपहरण !

प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ। पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाउ लैजान नसकेपछि टर्कीमा राम्रो कमाई हुन्छ भनी प्रलोभनमा पारी रु ६ लाख ५० हजारका दरले रकम लिई पठाएको केही समयपछि पीडितहरु टर्कीमा अपहरणमा परी १३ हजार अमेरिकी डलर फिरौती रकम बुझाइ केही दिनअघि मात्रै नेपाल फर्किएका थिए ।
 
नेपाल फर्किएपश्चात् पीडितहरुले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएको जाहेरीका आधारमा पञ्जियारलाई पक्राउ गरिएको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजुकमार सिलवालले जानकारी दिए । उनले भने– ‘टर्कीमा पुगेपछि पीडितहरुले पञ्जियारलाई भनेअनुसारको काम नभएको भन्दै गुनासो गरेका रहेछन्, त्यसको केही समयपछि उनीहरु अपहरणमा परेका थिए ।’
 
अपहरणमा पाकिस्तानी नागरिकको हात रहेको खुले पनि अपहरणकारी र अभियुक्त पञ्जियारबीच सम्बन्ध रहे नरहेकोबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । पञ्जियारलाई काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्धामा पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।
 
Published on: 21 February 2018 | Madhyanha

Back to list

;