s

टर्कीमा अपहृत नेपाली मुक्त

लोकेन्द्र प्रसाईं

टर्कीमा अपहरणमा परेका एक नेपाली युवक नाटकीय रूपमा उम्केर स्वदेश फर्किएका छन् । रुकुमको गरायलका झलक नकाल गत साता नेपाल फर्किएका हुन् ।

युरोप जानका लागि गत वैशाखमा त्यसतर्फ प्रस्थान गरेका उनी टर्कीभन्दा अगाडि बढ्न सकेका थिएनन् । टर्कीमा बसेर काम गर्नेक्रममा उनलाई दुई बंगलादेशी र दुईजना टर्किसले अपहरण गरेका थिए । अपहरणमा पर्नेमा उनीबाहेक दुईजना भारतीय पनि थिए । अपहरणमा परेको १० औं दिनमा उनीहरू भाग्न सफल भएका थिए ।

अपहरणमा परेपछि उनले दक्षिणकोरियामा काम गरिरहेका दाजुलाई फोन गरी आफू अपहरणमा परेको र २५ लाख नेपाली रुपैयाँ मागेको बताएका थिए । त्यसपछि उनका दाजुले कोरियाबाट नेपालमा फोन गरी भाइ टर्कीमा अपहृत भएको जानकारी गराएका थिए । आफन्तले प्रहरीलाई घटनाबारे जानकारी गराएपछि इन्टरपोलमार्फत यी नेपाली युवा अपहरणमुक्त भएका हुन् । बंगाली अपहरणकारीले बंगलादेशमा भएको आफन्तको खातामा पैसा पठाउन लगाएका थिए ।

अपहरणकारीले भनेअनुसार खातामा नौ हजार अमेरिकी डलर पनि हालिएको थियो । तर इन्टरपोलले पैसा हालेको बंगलादेशको बैंक खाताका आधारमा अपहरणकारीका आफन्तलाई पक्राउ गरेपछि अपहरणकारी फन्दामा परेका थिए । प्रहरीका अनुसार आफन्त पक्राउ परेको जानकारी पाएपछि बंगाली अपहरणकारी नेपालीसहित दुई भारतीयलाई भगाएर आफू पनि भागेका थिए ।

टर्की ट्रान्जिट प्वाइन्ट

युरोप प्रवेशका लागि टर्की ट्रान्जिट बन्ने गरेको देखिएको छ । ‘टर्की पुगेपछि त्यहाँबाट युरोपका राम्रा मुलुक जान सजिलो हुने सुनेकाले म भारतीय दलालमार्फत दिल्ली हुँदै लगभग नौ लाख तिरेर टर्की पुगेको थिएँ । मसँगै अन्य नेपाली पनि थिए । भारतीय एजेन्टको काम हामीलाई टर्कीसम्म पुर्‍याउने मात्र थियो । तर टर्की पुगेपछि स्थिति अर्कै भयो', अन्नपूर्णसँगको कुराकानीमा झलकले भने ।

टर्कीमा तीन महिना बसेपछि त्यहाँको कार्ड पाउने र उक्त कार्डले युरोपका राम्रा मुलुक छिर्न सजिलो हुने सुनेका झकलले त्यहाँ पुगेपछि थुप्रै नेपाली टर्कीमा रहेको थाहा पाए । उनी भिजिट भिसामा नयाँदिल्लीबाट साउदी अरब हुँदै करिब २४ घन्टामा टर्की पुगेका थिए । झलकले भने, ‘मैले तीन महिना काम गरेर १५ सय डलर तिरी त्यहाँको कार्ड पनि लिएँ । म वैध बाटो भएर अन्य देश जान चाहन्थें । त्यहाँबाट अवैध बाटो भएर जाने धेरै थिए । एजेन्टले वैध बाटो जाने भए अब नसक्ने बताएपछि त्यहीं काम खोज्दै बसेका थियौं ।'

यसक्रममा उनले घरबाट मगाएको चार हजार डलर खर्च गरिसकेका थिए । ‘सुरुको दुई महिनामात्र काम गरें तर त्यहाँ काम गर्न र पैसा पाउन गाह्रो रहेछ । दुई महिनापछि काम गरिएन । फेरि काम गर्न खोज्दा अपहरणमा परियो', झलकले भने । झलकसँगै टर्की गएका बाँकी दुई नेपालीमध्ये एकजनाचाहिँ उनीसँगै स्वदेश फर्किन सफल भएका छन् । युरोपका राम्रा देशमा प्रवेश गर्न थुप्रै नेपाली युवा टर्कीमा मौका पर्खेर बसिरहेका छन् ।

‘यसरी भयो अपहरण'

अरू देशमा जान नसक्ने देखिएपछि हामी काम खोज्न थाल्यौं । त्यहीं बसेका एकजना दाइको बंगाली साथी रहेछ । उनले बंगालीसँग भेटाएर मलाई काम लगाइदिन भने । ती बंगालीले हामीलाई अर्को बंगालीको जिम्मा लगाए ।

तिनले साँझपख एक बंगाली र एक टर्किसलाई बोलाएर गाडीमा राखी म र दुईजना भारतीयलाई एउटा अन्डरग्राउन्ड ठाउँमा पुर्‍याए । त्यो ठाउँ कुनै कारखानाजस्तै देखिन्थ्यो । त्यो साँझ हामीलाई राम्रै व्यवहार गरियो तर भोलिपल्टदेखि बाँधेर राखियो । बंगालीले १५ लाख भारतीय रुपैयाँ फिरौती दिएमात्र मुक्त हुने नत्र जे पनि हुनसक्ने भन्दै यातना दिन थाले ।

त्यहाँ दुई बंगाली र दुई टर्किस थिए । हामीलाई बारम्बार कुटपिट हुन थाल्यो । मैले दक्षिणकोरियामा रहेका ठूलो दाइलाई खबर गरी आफू अपहरणमा परेकाले फिरौती रकम पठाउन भनें । उनीहरू फिरौती नदिए मार्नेसम्मको चेतावनी दिइरहेका थिए । तर अपहरणमा परेको आठौं दिन बंगालीको व्यवहार एकाएक परिवर्तन भयो ।

उनीहरूले हामीलाई यहाँबाट भाग्नुपर्छ भने । त्यही राति भाग्ने योजना थियो तर टर्किसका कारण सफल हुन सकेन । नवौं दिनको राति टर्किस नभएको मौका छोपेर बंगालीले हामीलाई पनि भगाए, आफू पनि भागे । त्यो घटना सोच्न पनि सक्दिनँ । अब अमेरिका नै जान पाए पनि जान्नँ, नेपालमा बसेर काम गर्छु ।
(झलकसँग गरिएको कुराकानी उनकै शब्दमा )

 

Published on: 31 January 2017 | Annapurna Post

Back to list

;