s

टर्कीमा अपहरित नेपालीलाई विदेश पठाउने एजेन्ट पक्राउ

गौरव पोखरेल

टर्कीमा तीन जना नेपालीलाई अपहरण गरेर फिरौती असुली गर्ने समूहका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुरका एजेन्ट २८ वर्षीय ओमप्रकाश पञ्जियार छन् ।

यसअघि मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु टर्कीमा पाकिस्तानी नागरिकबाट अपहरणमा परेका थिए ।
 
करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर मगर र विश्वकर्मा नेपाल फर्किएका छन् । लिम्बू पनि फिरौती बुझाएर अपहरणमुक्त भएका छन् । यद्यपि, टर्कीमै छन् ।
 
पञ्जियार किरण र टीकारामलाई वैदेशिक रोजगारीमा पठाउने एजेन्ट हुन् । पञ्जियारसँगै अन्य दुई एजेन्ट दीपेश गुप्ता र पर्शुराम यादव फरार छन् ।
 
तीन नेपाली र ४ विदेशी एजेन्टविरुद्ध मुद्दा
 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पञ्जियारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । तर, प्रारम्भिक बयानका क्रममा उनले आफूले पैसा लिएर पठाउने काम मात्रै गरेको बताएका छन् ।
 
सीआईबीले दुई भारतीय र दुई जना पाकिस्तानी एजेन्टलाई समेत प्रतिवादी बनाएको छ । भारतीय एजेन्टले नेपाली युवालाई टर्कीसम्म पठाउने व्यवस्था मिलाएका थिए । त्यहाँ पाकिस्तानी एजेन्टले उनीहरुलाई रिसिभ गरेका थिए ।
 
मंगलबार जिल्ला अदालत, काठमाडौंबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा ५ दिनलाई म्याद थप गरी पञ्जियारविरुद्ध अनुसन्धान थालिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डिएसपी राजकुमार सिलवालले अनलाइनखबरलाई बताए ।
 
यस्तो थियो घटना
 
नेपाली एजेन्टमार्फत मकाउ जानका लागि नेपाली युवाले रकम बुझाएका थिए । तर, उनीहरुलाई भारतीय बाटो हुँदै जानु पर्ने बताइएको थियो ।
 
केही समयमै उनीहरुको भिसा लागेको भन्दै ६ लाख ५० हजार रुपैयाँ प्रति व्यक्तिका दरले रकम तिर्न लगाइयो । र, भारतको पहाडगञ्जमा लगियो । जब उनीहरु भारत पुगे, तब थाहा भयो, भिसा लागेकै रहेनछ । त्यस अवधिमा उनीहरुलाई नेपाल फर्किन समेत दिइएन ।
 
बरु उल्टै मकाउभन्दा राम्रो जागिर टर्कीमा भएको भन्दै प्रलोभन देखाइयो । र, टर्की पुर्‍याइयो । जहाँ नेपाली युवा पाकिस्तानी एजेन्टबाट अपहरणमा परे । र, करिब १५ लाख रुपैयाँ फिरौती पाकिस्तान पठाइदिएपछि उनीहरु अपहरणमुक्त भए ।
 
Published on: 20 February 2018 | Onlinekhabar

Back to list

;