s

टर्कीमा अपहरित नेपालीको वयानः सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती माग्यो

गौरव पोखरेल

आकर्षक रोजगारीको प्रलोभनमा टर्की पुगेका नेपाली युवा अपहरणपछि पाकिस्तानीलाई फिरौती बुझाएर शुक्रबार काठमाडौं आइपुगेका छन् । उनीहरु आइतबार नेपाल प्रहरीसमक्ष पुगेर दलालको ठगी प्रकरणबारे आफ्नो बेदना सुनाउने योजनामा छन् ।

मोरङको केराबारी-९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला-३ का टीका लिम्बु टर्कीमा पाकिस्तानीहरुबाट अपहरणमा परेका थिए । फिरौती बुझाएर अपहरणमुक्त भएपछि मगर र विश्वकर्मा नेपाल फर्किएका छन् भने लिम्बू टर्कीमै छन् ।
 
नेपाली दलालको सम्पर्कबाट भारतीय दलालको हातमा पर्दै टर्कीमा पुगेपछि पाकिस्तानी दलालको पञ्जामा परेका नेपाली युवा किरण र टीकारामसँग अनलाइनखबरले कुराकानी गरेको छ । काठमाडौं फर्किएका उनीहरुले आफ्नो कहालीलाग्दो वेदना र अपहरणको कथा यसरी सुनाएः
 
सुरुमा टीकाराम विश्वकर्मा
 
‘भारतीयले पाकिस्तानीसमक्ष बुझायो’
 
हामी पहिले मलेसियामा सँगै काम गथ्र्यौं । मलेसियामै पुगेर हाम्रो चिनजान भएको थियो । नेपाल आएपछि फेरि विदेशमा राम्रो काम खाजेर जाने सोचमा थियौं । यही सिलसिलामा एकजना साथीमार्फत गत चैतमा सप्तरीको कञ्चनपुरका एजेन्ट दीपेश गुप्ता, पर्शुराम यादव र ओमप्रकाश पञ्जियारसँग हाम्रो चिनजान भयो ।
 
उनीहरुसँग मकाउ जाने भनेर हामीले प्रक्रिया अगाडि बढायौं । हामीलाई भारत हुँदै मकाउ जानुपर्ने उनीहरुले सुनाए । त्यसको केही समयपछि मकाओका लागि हाम्रो भिसा लागेको खबर आयो । होला त नि भनेर हामी उनीहरुलाई भेट्न गयौं ।
 
सुरुमा हामीलाई भारतको पहाडगञ्जमा लगेर राखियो । र, त्यहाँ पुगेपछि थाहा भयो, हाम्रो भिसा लागेकै रहेनछ । हामीले भिसा लागेपछि फेरि आउँला भनेर घर र्फकने प्रयास गर्‍यौं । तर, उनीहरुले पटक्कै फर्किन दिएनन् ।
 
करिब ३ महिना पहाडगञ्जमा बसेपछि मकाउको प्रोसेस रद्द भएको उनीहरुले सुनाए । र, टर्कीमा अर्को आकर्षक जागिर रहेको अफर सुनाए । नेपालका एजेन्टहरुले पछि हामी पनि टर्कीमै आउँछौं भनेपछि हामी विश्वास गर्न बाध्य भयौं । टर्कीको टीआरसी कार्ड पाएपछि विना भिसा युरोपियन देशहरुमा जहाँ पनि छिर्न पाइन्छ भनेर हामीलाई भनियो ।
 
हामीले सुरुमा एजेन्टलाई १/१ लाख रुपैयाँ र पासपोर्ट दिएका थियौं । पछि भारत जाने बेलामा ६ लाख ५० हजार रुपैयाँका दरले नगद दियौं । हाम्रो सबै पैसा फसिसकेको थियो । त्यस कारणले पनि हामीसँग उनीहरुले भनेको ठाउँमा जानुपर्ने बाध्यता आइलाग्यो ।
 
त्यतिवेला हामीलाई टर्की पुगेर होटलको काम गर्नुपर्छ भनिएको थियो । ८ घण्टा काम गर्दा मासिक ७० देखि ८० हजार नेपाली रुपैयाँ हुन्छ भनिएको थियो । हामी सेप्टेक्बर २८ मा टर्की उड्यौं । तर, जब त्यहाँ पुगियो, तब थाहा भयो कि हामीले पाउने तलब त साह्रै थोरै रहेछ । हामीले तत्काल एजेन्टलाई फर्किन्छौं भन्यौं । तर, उनीहरुले वास्ता गरेनन् ।
 
एउटा सामान्य होटलमा जागिर लगाइयो । त्यहाँको ११/१२ सय हामीलाई महिनामा आउँथ्यो, त्यही पनि १२/१३ घण्टा काम गर्नुपर्ने । टर्कीमा हामीलाई एकजना भारतीय नागरिकले पाकिस्तानीलाई बुझाएको थियो । र, उसैले होटलमा जागिर लगाइदिएको हो ।
 
केही दिनपछि हामीलाई एक हप्तासम्म इदको छुट्टी भनेर बेतलवी राख्यो । काम भनेजस्तो नभएको भन्दै हामी नेपाल फर्कादिन अनुरोध गरिरहेकै थियौं । यहीबीचमा हाम्रो जागिर परिवर्तन गराइदिने आवाश्वसन आयो ।
 
यही वीचमा पाकिस्तानी एजेन्टले हामीलाई १२/१३ सय तलब हुने गरी एक होटलमा जागिर खुलेको बताए । तर, उनले भनेजस्तो होटलमा जागिर होइन रहेछ । बरु झन् डरलाग्दो काम पो रहेछ । हामीलाई इदमा गोरुहरु काट्ने ठाउँमा पो पुर्‍याइयो ।
 
गोरुहरु काटेको फेाहोर भएको ठाउँ हामीले सफा गर्नुपर्ने भयो । एक दिन त जसोतसो कटाइयो । तर त्यसपछि हामीले काम गर्न नसक्ने जानकारी गरायौं । त्यसपछि हामीलाई उसले कुनै काम नै लगाइदिएन । पटकपटक काम लगाइदिन आग्रह गर्दा पनि न काम खोजिदिए, न त नेपाल फर्किने वातावरण नै बनाइदिए । अनि, हामी आफैंले एक दिन जागिर भेट्टायौं र काम गर्न थाल्यौं । त्यहाँ ८ सय तलब दिन्थ्यो । बिहान साढे ९ बजेदेखि बेलुकी ८ बजेसम्म काम गर्नुपर्ने ।
 
त्यहीँ काम गर्दागर्दै पाकिस्तानी एजेन्टको फोन आयो । उसले होटलमा एउटा राम्रो काम छ, जाऔं भन्यो । उसले १४/१५ सय त्यहाँको पैसा तलब हुने र खान बस्न पनि सुविधा भएको बताए । तिमीहरुलाई लिन आउँदैछौं, कामसाम छोडेर बस भनेर ती एजेन्टले हामीलाई भने ।
 
हामीले नेपाल जान सहयोग गरिदिनु भनिरहेको थियौं । तर, उनीहरुले टर्की आइसकेपछि एकपटक काम गरी हेर्न आग्रह गरे । उनीहरुले आफ्नै पुरानो एजेन्टसँग कुरा गर्न पनि भने । र, नेपालमा फोन लगाइदिए । एजेन्टसँग टिकट पठाउनुस, हामी फर्किन्छौं भनेर त्यसवेला पनि भन्यौं , तर एजेन्टले कुनै वास्ता गरेन । हामी अल्झेको अल्झै भयौं ।
 
फोनमा हामीलाई होटलमा काम छ भनिएको थियो, तर, गाडीमा चढेपछि चाहिँ होटलमा होइन, गाडीको पार्टपूर्जा बनाउने कम्पनीमा काम पाइएको हो भनियो र एकजना बंगालीकहाँ पुर्‍याइयो । त्यहाँ एक सिजनसम्म मात्रै काम चल्दोरहेछ । र, सिजन अफ भएपछि काम बन्द हुँदोरहेछ । हाम्रो काम बन्द भयो ।
 
काम नभए पनि हामी त्यहँ त्यतिकै बस्दै थियौं । उनीहरुले टीआरसी नआउञ्जेलसम्म नफर्किनु भनेका थिए । त्यसपछि अर्को ठाउँ पठाइदिन्छौं भनेका थिए । चार महिना बसेपछि त्यहाँको कार्ड आयो । कार्ड आएपछि थाहा भयो, त्यो कार्डको काम केही रहेनछ । स्ट्याड बाइ भन्ने रहेछ, त्यो र त्यसको केही अर्थ रहेनछ । त्यस्तो कार्ड हुने नेपाली धेरै छन् । त्यहाँको रेसिडेन्स कार्ड रहेछ, त्यो । त्यसबाट हामीले जागिर पाउने कुरै भएन । हामीलाई त काम चाहिएको थियो ।
 
यतिकैमा अर्को एजेन्टले हामीलाई आकर्षक तलबसहितको नयाँ जागिर अफर गर्‍यो । उसले ५ सय डलरको काम छ भनेको थियो । होटलमा नै भनेको थियो । त्यत्रो रकम हाम्रा लागि धेरै थियो । हामी उसले भनेको ठाउँमा गयौं । उसले हामीलाई रुम छुट्टै लिनुपर्छ भनेको थियो । र, एउटा रुम पनि देखायो । सायद फेब्रुअरी ४ तारिखको दिनमा होला ।
 
त्यहाँ पुगेपछि हामीलाई बस्दै गर्नु, भोलि होटलमा काम गर्न जानुपर्छ भनिएको थियो । तर, हामीलाई जागिरका लागि होइन, अपहरण गर्नका लागि त्यो कोठामा पुर्‍याइएको रहेछ । जुन कुरा हामीले कोठामा बसेको केहीबेरमै चाल पायौं ।
 
सुरुमा हामी दुईजना (टीकाराम विश्वकर्मा र टीका लिम्बु) मात्रै थियौं । किरण भोलिपल्ट लुगाफाटो लिएर आउने सल्लाह भएको थियो । उनीहरु चारजना व्यक्ति थिए । उनीहरु बाहिर गएर केही कुरा गरिरहेका थिए । एकैछिनमा भित्र आए । म (टीकाराम) मोबाइल चलाइरहेको थिएँ । एउटाले मोबाइल थुत्यो । त्यसपछि किन यसो गरेको भनेर सोध्दा बोल्नै दिइएन । निहुरिन पनि पाइएन । मुखमा पट्टी बाँधियो । र, ट्वाइलेटमा लगेर ७ दिनसम्म थुनिदिए ।
 
त्यो दिन आइतबार थियो । भोलिपल्ट किरणलाई लिएर आउँछु भनेर अर्को एजेन्ट निस्कियो । बिहान किरण पनि आइपुगे । हामी अपहरणमा परेको किरण थाहै थिएन । तर, आइपुग्नेवित्तिकै किरणलाई पनि धकेलेर शौचालयमा थुनियो । अनि, पो उसले अपहरणमा परेको चाल पाए ।
 
टीकारामपछि किरण मगरले अपहरणको कथा सुनाए
 
सात दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागियो
 
म कपडाहरु लिएर आएको थिएँ । साथीहरु जागिर खान थाले होलान् भन्ने लागेको थियो । एकैछिन मलाई रुममा बस्न भनियो । त्यहाँ टीकालाई देखिनँ । त्यसपछि ढोका छेऊमा बसेका उनीहरु बाहिर निस्किन लागेको जस्तो गरे । म पनि बाहिर गएँ ।
 
त्यसपछि एउटा व्यक्तिले एक्कासी मलाई छुरी देखायो । अनि, छामछाम छुमछुम गर्न थाल्यो । त्यसबेला मलाई लुट्न आँटेजस्तो लगोका थियो । तर, मलाई धकेलेर ट्वाइलेटतिर छिराउन खोज्यो अनि पो थाहा पाएँ, दुईजनालाई अगाडि नै ट्वाइलेटमा थुनेर राखिरहेको रहेछ ।
 
अनि, तीनै जनालाई एकैठाउँमा राखियो । हामीसँग साथमा भएको मोबाइलसहित सबै थोक उनीहरुले नियन्त्रणमा लिए । हामीलाई कसैको सम्पर्कमा बस्न दिइएन । अनि, साँझमा, नेपालको ९ बजेतिर हामीलाई नेपालमा फोन गर भन्यो ।
 
हामीसँग नम्बर थिएन । म्यासेन्जरमा कुरा भइहाल्छ भनेर नम्बर वास्ता गरिएन । त्यसपछि उनीहरुले म्यासेन्जरको आइडी र पासवर्ड मागे । उसले नै हाम्रो म्यासेन्जरबाट हाम्रा आफन्तलाई नेपालमा कल गर्‍यो । यसोयसो भन् भनेर भन्न लगायो । ती व्यक्तिले घरमा कुरा गर्दा कसरी हुन्छ, पैसा ल्याइदिने, नत्र मारेर फाल्दिन्छौं भन्थ्यो । हाम्रो त एकदमै होसहवास उडिसकेको थियो।
 
सुरुमा १० हजार डलर मागेको थियो । पछि त्यत्रो पैसा दिन नसक्ने भनेर घरबाट भनेपछि तीनैजनालाई मान्दिर्न्छु भन्यो । हामीलाई एकदमै कुटपिट पनि गर्‍यो । घरमा पनि फोन गरेर तेरो मान्छे बचाउनु छ भने यति घण्टामा पैसा पठा, नत्र घाँटी काटेर फालिदिन्छु भनेपछि घरमा सबैजना डराउनुभएछ ।
 
दिदीसँग उनीहरुले म्यासेन्जरबाट सम्पर्क गर्थें । म्यासेन्जरबाट मोबाइल नम्बर मागेर लगे । त्यसपछि हिन्दीमा बोलेर पटकपटक फोनमा दिदीलाई धम्क्याए । मार्दिन्छु र काटिदिन्छु बाहेक केही पनि भन्दैनथे । बोल्दाबोल्दै पनि फोन चट्ट काटिदिन्थे ।
 
हामीलाई थुनेको करिब ७ दिनपछि नेपालबाट उनीहरुले भनेजति पैसा उनीहरु भनेको पाकिस्तानीकहाँ पुग्यो र छुटेर नेपाल आउन सक्यौं । त्यसरी शौचालय थुनिँदा त अब फर्किएर आउन सकिन्छ होला भन्ने लागेको थिएन ।
 
यसपछि नेपालमा रहेकी किरणकी दिदी मुना मगरले परिवारले भोगेको पीडा सुनाइन्
 
अपहरणकारीलाई पटक-पटक फिरौती बुझायौः मुना मगर
 
घरमा पटक-पटक फोन आएपछि हामीले पैसाको जोरजाम गर्न थाल्यौं । प्रहरीलाई सुरुमै जानकारी त गराएको थियौं । तर, हामी हाम्रा भाइहरुको ज्यान जाने हो कि भन्ने डरले धेरै समय पर्खिन सक्ने अवस्थामा थिएनौं । पटकपटक फोन गरेर भाइहरुलाई मारिदिने भन्दै धम्की आउँथ्यो ।
 
उनीहरुले सुरुमा वेस्टर्न युनियनमा पैसा हाल्दिनु भनेका थिए । अनि, हामीले वेस्टर्न युनियनसहित बैंकहरुमा पनि बुझ्यौं । तर, पैसा पठाउन सकिएन । पैसा पठाउने कारण चाहिन्छ भन्दै बैंकले पैसा पठाउन मानेन । कति गर्दा पनि त्यसरी पैसा पठाउन सकिएन ।
 
दुई दिनसम्म पैसा पठाउन नसकेपछि हामीलाई अपहरणकारीले काउन्टडाउन दिन थाले । यति घण्टामा पैसा पठा, नत्र मार्दिन्छौं भन्नथालेपछि हामी झनै आत्तियौं ।
 
कतारमा दाइ हुनुहुन्थ्यो । उहाँले त्यहाँबाट पठाउँदा हुन्छ कि भनेर उहाँले पैसा पठाउनु भयो । पहिलो पटक ४ हजार रियल पठाइदियौं । उसले त्यो पैसा निकालेको पनि थाहा भयो । तर, पैसा पाएकै छैनौं भन्यो ।
 
पटक पटक गरेर हामीले फिरौतीस्वरुप ९ हजार रियल पठायौं । त्यहाँबाट पनि नहुने भएपछि कता के गने के गर्ने भयो । उसले म्यासेन्जरबाट धम्क्याएको धम्क्याई गथ्र्यों । अब जसरी भएपनि दुई पटक पैसा पठाउनुपर्ने भयो ।
 
तेरो मान्छे मार्दिन्छु भन्छ, भाइहरु रोएको रोयै गर्छन् । हामीलाई फोन गरेरको गर्‍यै । अनि, फेरि यहीँ नेपालबाट पठाउन प्रयास गर्‍यौं । अन्तिममा हुण्डीमार्फत सुरुमा साढे १० लाख पाकिस्तान पठायौं । अनि बल्ल भाइहरु छुटे । पैसा पाएपछि उनीहरुले टर्कीको बस काउन्टरसम्म लगेर रुमसम्म जाने टिकट काटिदिएछन् । त्यसपछि हामीले यतैबाट टिकट काटिदिएपछि उनीहरुमध्ये दुईजना काठमाडौं फर्किएर आएका हुन् । एकजना अझैसम्म उतै छन् ।
 
हाम्रा भाइहरुलाई यसरी फसाउने एजेण्टबाट पैसा फिर्ता नपाउँदा र अपहरणकारीलाई इन्टरपोलमार्फत पक्रेर फिरौती लगेको रकम फिर्ता नपाउँदासम्म हामीले न्याय पाएको महसुस हुनेछैन ।
 
तर, यसवीचमा हामीलाई नेपाली प्रहरीले सकेसम्म सहयोग गरेको छ । हामीलाई फोन गरेर सहानुभूति प्रकट गरेको छ । पाकिस्तानस्थित नेपाली दूताबासले पनि त्यहाँको सरकारसँग सम्पर्क गरेर पैसा बुझ्ने पाकिस्तानीलाई पक्राउ गर्ने प्रयास गरिरहेको खबर पाएका छौं । विदेश पठाउने भन्दै फसाउने दलालहरु पनि चाँडै पक्राउ पर्ने हामीलाई आशा छ । र, हामीले पक्कै पनि न्याय पाइने आशा गरेका छौं । र, हाम्रो त यतिधेरै रकम डुब्यो, हामीजसरी नै अरु कोही नेपाली दाजुभाइहरुले यसरी ठगिनु नपरोस् ।
 
Published on: 17 February 2018 | Onlinekhabar

Back to list

;