s

टर्की रोजगारीका नाममा कामदारसँग लाखौं असुली

नेपालका लागि टर्कीका अवैतनिक महावाणिज्यदूत लोफेइजले नेपालबाट वैदेशिक रोजगारमा टर्की कामदार पठाउँदा ठूलो मात्रामा रकम असुल्ने गरेको गुनासो गरेकी छिन् । विहीबार परराष्ट्र मन्त्रालय तथा श्रम तथा रोजगार मन्त्रालयका उच्च अधिकारीहरुसँगको छलफलमा अवैतनिक महावाणिज्यदूत लोफेईजले उक्त गुनासो राखेकी हुन् ।
 
उनले टर्कीमा नेपाली कामदार अति नै रुचाइने भएपनि नेपालका म्यानपावर कम्पनी तथा केही कन्सल्टेन्सीहरुले अकल्पनीय रुपमा कामदारबाट ठूलो मात्रामा रकम असुली गरेर पठाउने गरेको पाइएको परराष्ट्र अधिकारीहरुसँग गुनासो गरेकी हुन् । वैधानिक रुपमा गएका कामदारहरुको पनि तालिमको अभावमा कार्यक्षमता नभएको उनको भनाइ छ ।
 
वैदेशिक रोजगार भर्ना प्रक्रृयामा कामदारबाट शुल्क नउठाउने अन्तराष्ट्रिय प्रचलन भएपनि धेरै रकम असुल गरिएका कारण कामदार सधैभरी ऋणको बोझले मानसिक समस्यामा पर्ने गरेकाले त्यस्तो प्रवृत्ति रोकिनुपर्ने उनको सुझाव रहेको परराष्ट्र श्रोतले बतायो ।
 
युरोपियन अन्तरगतको मुलुक भएकाले आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोवास अनुमति (पीआर) पनि पाइने भन्दै एजेन्टहरुले कामदारहरुसँग मोटो रकम असुल्ने गरेकोे उनको गुनासो रहेको परराष्ट्र मन्त्रालयको उक्त श्रोतले बतायो । केही म्यानपावर, शैक्षिक कन्सल्टेन्सी र मानव तस्करहरुले १० लाख रुपैयाँसम्म लिएर नेपाली कामदारलाई कामदार तथा पर्यटक भीषामा टर्की पुर्याउने गरेका छन् । मुलतः भारत हुँदै टर्की पुर्याएर ठगी गर्ने गरिएको उनको भनाइ छ ।
 
मानवतस्करले बसमार्फत दिल्ली लगेर महिनौं राखी दिल्ली एयरपोर्टमा सेटिङ मिलाएर बहराइन हुँदै टर्कीको स्तानाबूल पुर्याउने गरेका छन् । श्रोतका अनुसार आकर्षक तलब भनेपनि टर्की पुर्याइएपछि जंगलमा लगेर जबर्जस्ती जोखिमपूर्ण काममा लगाउने गरिएको छ । त्यहाँ काम गर्न नसक्नेहरु छिमेकी मुलुक ग्रीस पुग्ने गरेका छन् । युरोपमा आकर्षक तलबको झुटो आश्वासनको भरमा सयौँको संख्यामा नेपाली कन्सल्टेन्सीबाट मानव तस्करीको फन्दामा परेको प्रहरीको अनुमान छ ।
 
Published on: 17 February  2018 | Madhyanha

Back to list

;