s

टुँडिखेलको सीप मेलामा तालिम लिन ४३ हजार जनाभन्दा बढीको आवेदन

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गर्दै आएको विभिन्न निशुल्क सीप तालिम लिन ६८ हजार ८६६ जनाले आवेदन दिएका छन् । त्यसमध्ये टुँडिखेलमा चलिरहको सीप मेलाका लागि मात्रै ४३ हजार ५८ जनाले आवेदन दिएको महानगरले जनाएको छ ।

२०८१ जनालाई तालिम दिने र तालिम दिएकालाई रोजगार दिने लक्ष्यसहित वैशाख १९ गतेदेखि सुरु भएको मेलामा निशुल्क तालिम लिन ईच्छुकका लागि महानगरले आवेदन आह्वान गरेको थियो । टुँडिखेलमा चलिरहेको सीप मेलामा विभिन्न १० क्षेत्रका ३० वटा विधामा सीप तालिम दिइरहेको छ ।

महानगर गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार जनलाई निःशुल्क तालिम दिने र तालिम लिएकामध्ये ५ हजार जनलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने लक्ष्य रहेको सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिए । उनले तालिमका लागि अनलाइन फर्मबाट आवेदन लिइरहेको सुनाए ।

‘यस्ता आवेदकहरुलाई नाम थर, मोवाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ’, उनले भने ।

झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । सीप मेलाका लागि पनि सुरुमा अनलाइन आवेदनमात्रै लिने भनिएको थियो । तर धेरै संख्यामा आवेदकहरुले मेलास्थानमै फारम भर्न पाउने माग गरेकाले उनीहरुको मागबमोजिम टुँडिखेलमै पनि फाराम भर्ने अवसर दिइएको महानगरले जनाएको छ ।

सीप मेलाको अन्तिम २ दिन रोजगार मेला पनि हुनेछ । यस दिन रोजगारदाता स्टलमै आउने र तालिम लिएकाहरुलाई छनोट गरेर रोजगारी दिने महानगरले जनाएको छ । ‘यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्नु हुनेछ । रोजगारदाताले सिपयुक्त जनशक्ति प्राप्त गर्नुहुनेछ’, महानगरले भनेको छ ।

Published on: 15 May 2024 | Onlinekhabar

Link

Back to list

;