s

'ट्रेड युनियन दादागिरी मुलुकका लागि क्यान्सर'

निजामती सेवाको ट्रेड युनियन मुलुकको क्यान्सर भएको धारणा संसद्को राज्य व्यवस्था समिति बैठकमा सोमबार सहभागी अधिकांश सभासद्हरूले राखेका छन्।

सभासद्हरूले दलगत नभएर निर्वाचन गरी एकमात्र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्न सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसँग मागसमेत गरे।

मन्त्री पण्डितले वीर अस्पतालमा मात्र २६ वटा ट्रेड युनियन रहेको उदाहरण दिँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्मम ट्रेड युनियनको भूमिका कम गराउनेबारे सोचिरहेको जानकारी दिए।

प्रजातान्त्रिक आन्दोलन २०४६ र लोकतान्त्रिक आन्दोलन २०६२/०६३ को नेतृत्व लिएका प्रमुख दल नै निजामती सेवालाई अमर्यादित बनाउन जिम्मेवार रहेको भन्दै सम्बद्ध दलका सभासद्हरूले बैठकका क्रममा आलोचना गरे।

तराईमधेस लोकतान्त्रिक पार्टीका बृजेशकुमार गुप्ताले ट्रेड युनियन निजामती सेवाको क्यान्सर नै भएको उल्लेख गर्दै यसको उन्मूलन गर्न ट्रेड युनियन हटाउनुपर्ने बताए। राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले पनि दोहोर्‍याए, 'वास्तवमै ट्रेड युनियन क्यान्सर हो।

प्रमुख दलका प्रमुख नेताको गुटस म ट्रेड युनियन पुगिसकेकाले कर्मचारीले नेताहरू कमाउन आएका हुन्। हामीले पनि कमाउनुपर्छ भन्ने मान्यता राख्नु स्वाभाविकै हो।'

उनले अर्तीउपदेश डोकोमा भर्ने तर काम तिलजति नगर्ने प्रवृत्तिका कारण राणा, पञ्चायत, शाह गए पनि प्रशासन जहाँको त्यहीं रहेको बताए।

कांग्रेस सभासद् आरजू राणा देउवाले एकतिर ट्रेड युनियनको गतिविधि, अर्कोतर्फ एउटै फाइल पाँचछ वर्षसम्म घुमिरहने प्रक्रियाले राष्ट्रको विकास र जनताको दैनिकी कष्टकर बनेकोतर्फ गम्भीर हुन मन्त्री पण्डितलाई आग्रह गरिन्।

एमालेका यज्ञ सुनुवारले भने, 'पहाडमा कांग्रेस, एमाले र एमाओवादी तथा तराईमा थप केही मधेसवादी दलहरूसमेतका ट्रेड युनियनको क्यालेन्डर झुन्ड्याउँदै काम गर्नुको उद्देश्यबारे जानकारी माग्दा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायत अधिकारीहरूले 'पूर्वसावधानीको चिह्न' भन्ने गरेका छन्।' उनले ट्रेड युनियनका नाममा मुलुकलाई नै असफल गराउने षड्यन्त्र रहेको दाबीसमेत गरे।

कांग्रेसका अर्जुन जोशीले निजामती सेवाभित्र कार्यालयपिच्छे दर्जनौं ट्रेड युनियनको जन्मले राज्य संयन्त्रमै अप्ठ्यारो पारेको बताए।

एमालेका रामेश्वर फुयालले भने सिंगो निजामती सेवाको एउटै ट्रेड युनियन हुनुपर्ने बताए। उनले मन्त्री पण्डितसँग प्रश्न गरे, 'ट्रेड युनियनको निर्वाचन किन हुन सकेन? कसको कारणले भएन?'

बैठकले ट्रेड युनियनका गतिविधि मर्यादित, व्यवस्थित र जिम्मेवार बनाउन 'ट्रेड युनियन'को आधिकारिक निर्वाचन आगामी आर्थिक वर्षभित्र गर्न नेतृत्वदायी भूमिका खेल्न मन्त्री पण्डितलाई निर्देशन दिएको छ।

समिति बैठकले निजामती किताबखाना रहेको कार्यालय भवन अत्यन्त जीर्ण रहेको भन्ने मन्त्रालयको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै वैशाख मसान्तभित्र उचित स्थानमा उक्त कार्यालय स्थानान्तरण गर्नसमेत मन्त्रीलाई निर्देशन दियो।

हनुमानढोकास्थित महानगरीय प्रहरी परिसर काठमाडौंको भवनसमेत जीर्ण भएकाले उचित स्थानमा स्थान्तरण गर्न गृहमन्त्री र प्रहरी महानिरीक्षकसहितको उपस्थितिमा चैत १२ गते समितिले छलफल गर्ने भएको छ।

सरुवा बढुवाको खेती त्यागौं : मन्त्री पण्डित

राज्यव्यस्था समितिको बैठकमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सभासद्हरूलाई सरुवाबढुवाको खेती त्याग्न आग्रह गरे। 'अब अति भयो, सभासद्, दल र दलका नेताहरू, मन्त्रीहरूले मात्र सरुवा बढुवाको खेती त्यागे निजामती सेवा अत्यधिक मर्यादित हुन्छ', उनले भने।

उनले असार अन्त्यमा सबै मन्त्री, दलका नेता र सभासद्हरू सरुवाबढुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा केन्द्रित हुँदा संसद् नचल्ला भनेर आफूलाई डर लागेको बताए।

मन्त्री पण्डितले 'ट्रेड युनियनका साथीहरू'ले मन्त्रालयका सहसचिव बाबुराम अधिकारीलाई हात हाल्दा उनले सात दिन अस्पतालमै बस्नुपरेको सभासद्हरूसँग स्मरण गरे।

'एक नायब सुब्बाको सरुवाका लागि प्रमुख दलका ३७ सभासद्, कांग्रेसदेखि क्रमैसँगका ६/७ वटा पार्टीले समेत पहुँच लगाए तर मैले सरुवा गरिनँ', उनले भने।

पदोन्नतिसहितको सरुवाका लागि भारतले अपनाएको अग्रीम प्रणालीतर्फ जाने सोचाइमा रहेको जानकारी उनले दिए। पहिलो सरुवाकै पत्रमा दोस्रो अवधिमा कहाँ जाने भन्नेसमेत लेखिने जानकारी उनले दिए।

Published on: 24 March 2015 | Annapurna Post

Back to list

;