s

टीपीएस नवीकरण गर्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको प्रतिनिधिमण्डलले टेम्पोरोरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा नवीकरणका लागि रिपब्लिकन पार्टीका प्रभावशाली सिनेटर टेड क्रुजसँग भेटवार्ता गरेको छ ।
 
एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेल नेतृत्वको टोलीले क्रुजलाई नेपालको वर्तमान अवस्था जानकारी गराउँदै टीपीएस नवीकरण नहुँदा अमेरिकामा रहेका टीपीएसधारी नेपालीमा पर्न सक्ने आर्थिक, सामाजिक, मानसिक समस्या अवगत गराएको थियो ।
 
त्यस क्रममा क्रुजले शक्तिशाली भूकम्पले नेपालमा पुर्‍याएको मानवीय एवं आर्थिक क्षतिप्रति आफू जानकार रहेको उल्लेख गर्दै टीपीएस नवीकरणका लागि सक्दो पहल गर्ने आश्वासन दिएको मिडिया संयोजक बाल जोशीले कान्तिपुरलाई बताए ।
 
वासिङ्टन डीसीस्थित सिनेट मुख्यालयमा एनआरएनए टोली सिनेटको न्यायिक समिति पनि पुगेको थियो । समितिको प्रतिनिधिका रूपमा क्याथलिन हुकरले भूकम्पपछिको नेपालको स्थितिबारे जानकारी लिएका थिए । भेटवार्तामा एनआरएनएका तर्फबाट विभिन्न च्याप्टरका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो । सन् २०१५ मा नेपालमा गएको शक्तिशाली भूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीलाई प्रदान गरेको टीपीएस सुविधा आगामी जुन २४ मा समाप्त हुँदै छ ।
 
Published on: 1 March 2018 | Kantipur

Back to list

;