s

टोपबहादुरलाई फर्काउन झन्डै २१ लाख जुट्यो

होम कार्की

अपुग रकम संकलन गर्न विशेषज्ञ स्वास्थ्य शिविर

गैरआवासीय नेपाली संघ, यूएईले ‘ब्लडमनी’ बुझाउन नसकेर स्वदेश फर्कन नपाएका खैरेनी ९, चितवनका टोपबहादुर विक सुनारलाई आर्थिक सहयोग गर्न ७३ हजार दिराम (झन्डै २० लाख ६३ हजार रुपैयाँ) संकलन गरेको छ ।

२ जुन २०१४ मा क्रेन दुर्घटनाबाट दुई थाई नागरिकको ज्यान गएपछि संयुक्त अरब इमिरेट्स (यूएई) को अलऐनस्थित ‘सिभिल कोर्ट’ ले कम्पनी, क्रेन अपरेटर र हेल्पर टोपबहादुरलाई दोषी ठहर गर्दै पीडितका परिवारलाई ४ लाख दिराम दिनुपर्ने फैसला सुनाएको थियो । जसअनुसार कम्पनीका तर्फबाट २ लाख, पाकिस्तानी क्रेन अपरेटर र टोपबहादुरको भागमा एक–एक लाख दिराम परेको थियो ।
 
एनआरएनए, यूएईले एक महिनादेखि ‘टोपबहादुर सहयोग अभियान’ सञ्चालन गरेको हो । ‘एउटा लेबरले एक लाख दिराम जुटाउन सक्ने अवस्था छैन । फेरि उनी आफैंले कामदारको हत्या गरेको पनि होइन । कार्यस्थलमा दुर्घटना भएको हो,’ एनआरएनए, यूएईका अध्यक्ष रमेश श्रेष्ठले भने, ‘उनी आफैं परिबन्धमा पर्न गए । उनलाई सहयोग गर्न यूएईमा क्रियाशील सबै नेपाली समाज एक भए ।’
 
श्रेष्ठका अनुसार एक लाखमध्ये २६ हजार दिराम संकलन हुन बाँकी छ । यो रकम एक साताभित्र उठाइसक्ने अपेक्षा गरिएको उनले बताए । टोपबहादुर आफूले क्रेन अपरेटरलाई दिएको संकेत नदेख्दा घटना भएको बताउँछन् । ‘जानेर कसैबाट गल्ती हुँदैन । सचेतता अपनाउँदा अपनाउँदै दुर्घटना हुन गयो,’ उनले भने, ‘दुर्घटनापछि झन्डै ६ महिना जेल बस्नुपर्‍यो ।’ उनी कार्यरत अलऐनस्थित लिमा कन्स्ट्रक्टिङ कम्पनी बन्द भइसकेको छ । एनआरएनकै संरक्षणमा उनी आबुधाबी बस्दै आएका छन् ।
 
अध्यक्ष श्रेष्ठका अनुसार अपुग २६ हजार दिराम उठाउन अप्रिल १३ तारिख दुबईस्थित नुर अल अहलिय अस्पतालमा विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविर राखिएको छ । ‘शिविरकै दिन रकम नेपाली दूतावासलाई हस्तान्तरण गरिनेछ,’ उनले भने, ‘शिविरमा आउने इच्छुक नेपालीले पनि सहयोग गर्न सक्ने व्यवस्था मिलाएका छौं ।’
 
Published on: 11 April 2018 | Kantipur

Back to list

;