s

टोपबहादुरले बुझाए ब्लडमनी, छिट्टै नेपाल फर्किने

काम गर्ने सिलसिलामा सन् २०१४ जून १४ मा थाइल्यान्डका दुई सहकर्मीको क्रेनको ठक्करबाट मृत्यु भएपछि यूएईमा चितवनका टोपबहादुर बिकले ब्लडननी तिर्नुपर्ने भयो । क्रेनमा सहयोगीका रुपमा काम गरिरहेका बिकले एक लाख दिराम (करिब ३० लाख रुपैयाँ ) एक्लै तिर्न सक्ने अवस्था थिएन ।
 
बिक कार्यरत कम्पनीको मालिक बेपत्ता भयो । करिब चार वर्ष अन्योलमै बसिरहेका  बिकको बारेमा विभिन्न संचार माध्यममा समाचार सार्वजनिक हुन थाल्यो । समाचार सार्वजनिक भएपछि र बिकले पनि नेपाली दूतावास र यहाँ क्रियाशील नेपाली संघ/संस्थालाई हारगुहार गर्दा निकै समय गुज्रिएको थियो । जनदबाब र चासो बढदै गयो । उनको मुक्तिका लागि आवश्यक पर्ने एक लाख दिराम जुटाउन नेपाली दूतावास अबुधाबीले नेपालको परराष्ट्र र श्रम मन्त्रालयमा सहयोगको अपेक्षा गर्दै पत्र पठायो । तर, श्रम बिभागबाट ब्लडमनी तिर्ने कुनै प्रावधान नभएको प्रतिउत्तर आयो । त्यसपछि एनआरएनए यूएइको संयोजकत्वमा चार महिनाअघि बिकको मुक्तिका लागि चन्दा संकलन अभियान चलाइयो ।
 
करिब ४५ दिनमा युएईका सक्रिय र जिम्मेवार नेपाली संघ/संस्था र व्याक्तिहरुले रकम जम्मा गरे । संकलित रकम एनआरएनए यूएईले नेपाली दूतावासमा बुझायो । नेपाली दूतावासले ब्लमनी बापतको रकम सम्बन्धित एलएनको अदालतमा बुझाउन जादा बिकको कम्पनी र बिकले संयुक्त रूपमा १/१ लाख गरेर दुई लाख बुझाएमात्रै बिकको केस समाप्त हुने जानकारी आयो । करिब ५ वर्षदेखि घर जान नपाएका बिकसँगै बिकलाई सहयोग गर्ने यूएईका नेपालीहरु पनि अदालतको पछिल्लो निर्णयबाट निराश भए ।
 
नेपाली दूतावास, अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बिकको मुद्दाको लागि सम्बन्धित अदालत र न्यायाधीशलाई भेटेर बिकको रकम बुझेर मुक्ति दिलाउन पहल गरे । अबुधाबीको मुख्य अदालतले सम्बन्धित अदालतलाई बिकको केसलाई कम्पनीसँग छुट्टाछुट्टै गरेर डिल गर्न निर्देशन दियो । अन्तत: यूएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिराम  साउन ६ गते (आइतबार ) बुझाइएको छ । नेपाली दूतावास यूएईका श्रम काउन्सिलर भेषबहादुर थापा, बिक स्वयं, एनआरएनए आरसिसी एलएनका अध्यक्ष गोपाल पौडेलसहितको शुभेच्छुकहरुको समुहले बिकले तिर्नुपर्ने ब्लडमनी बुझाएको र बिकले आफ्नो राहदानी हात पारेको जनाएका छन् ।
 
सन् २०१४ जून १४ मा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको थियो । घटनामा बिकको पनि संलग्नता भएको आरोपमा १ सेप्टेम्बर २०१४ मा अदालतले दुई लाख दिर्हाम ब्लडमनी तिर्नुपर्ने फैसला सुनाएको थियो । दुई लाखमध्ये कम्पनीले एक लाख र टोपबहादुरले एक लाख दिराम बुझाउनु पर्ने थियो ।
 
आइतबार ब्लडमनी बापतको रकम बुझाएपछि टोपबहादुरको मुद्दा समाप्त भएको र एक/दुई हप्ताभित्रमा बिक घर फर्किने यूएईका लागि कार्यवहाक राजदूत फुयाँलले जानकारी दिएका छन् । पासपोर्ट हात परे पनि प्रशासनिक प्रक्रिया मिलाउन बाँकी रहेका कारण केही समय लाग्ने बताइएको छ । विगत ४ महिनादेखि टोपबहादुरको खाने र बस्ने व्यवस्था एनआरएन यूएइले गर्दै आएको छ ।
 
Published on: 22 July 2018 | Onlinekhabar

Back to list

;