s

टप ग्लोब्सका एक चौथाइ श्रमिकमा कोरोना

होम कार्की

काठमाडौँ — मलेसियामा कोरोना भाइरसबाट संक्रमित नवलपरासीका यमनारायण चौधरीको शनिबार बिहान मृत्यु भयो । दुई वर्षअघि मलेसिया पुगेका उनी मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै ठूलो कम्पनी टप ग्लोब्सको कारखाना नम्बर १३ मा सुरक्षागार्डका रूपमा कार्यरत थिए । उनलाई नोभेम्बर २१ मा केलाङ अस्पतालमा भर्ना गरिएको थियो ।

टप ग्लोब्सले श्रमिकको स्वास्थ्य सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा ५ हजार १ सय ४७ जना श्रमिक कोरोना संक्रमित भइसकेका छन् । यो संख्या उक्त कम्पनीमा कार्यरतमध्ये झन्डै एक चौथाइ हो । यहाँ २१ हजार श्रमिक कार्यरत रहेकोमा ५ हजार नेपाली मात्रै छन् । तर, कम्पनीमा कार्यरत कति नेपाली श्रमिक संक्रमित भएको भन्नेबारे खुलाइएको छैन ।

श्रमिकलाई व्यवस्थित बासस्थलमा नराख्दा र कार्यस्थलमा सीमित श्रमिक प्रयोग नगर्दा एकै पटक धेरै संख्यामा श्रमिकहरू संक्रमित भएका हुन् । कोरोनाले ‘विस्फोटको रूप’ लिएपछि मलेसिया सरकारले टप ग्लोब्सका ४१ उद्योगमध्ये २८ वटालाई बन्द गराएको छ । ‘यसलाई विश्वकै सबैभन्दा ठूलो पन्जा उत्पादन गर्ने कम्पनी भन्ने गरिन्छ । जसले सुरक्षाका लागि भनेर पन्जा उत्पादन त गर्छ तर त्यहीं खटिने श्रमिकहरूको ज्यान भने जोखिममा परेको छ,’ मकवानपुरका शान्त वाइबाले भने, ‘अहिले साँच्चिकै स्थिति डरमर्दो छ । हामी डराएका छौं ।’

उनका अनुसार सामान्य अवस्थामा बसाइ र कार्यस्थलमा सावधानी मात्रै अपनाइदिएको भए कोरोना संक्रमणले यति उग्ररूप लिने थिएन । ‘एउटै सानो कोठामा २५ जनालाई कोचेर राखिएको छ,’ तनहुँका मिट्ठु थापाले भने, ‘कोलाहलपूर्ण बासस्थल छ । धेरै व्यक्तिलाई एकै ठाउँमा राख्दा सफाइ पनि नहुँदो रहेछ ।’

टप ग्लोब्सका उद्योगहरूमा कार्यरत श्रमिकलाई गत महिनादेखि नै संक्रमण देखिन थालेको थियो । त्यतिखेर नै कम्पनीले आवश्यक ध्यान दिन सकेको भए महामारीको रूप नलिने थापाको दाबी छ । कम्पनीले श्रमिकलाई सामाजिक दूरीमा नराखेको भन्दै फोटो खिच्ने नेपाली श्रमिक युवराज खड्कालाई कामबाट निष्कासनसमेत गरिएको छ । कम्पनीले काम गर्दा मास्क र पन्जा प्रयोगमा कडाइ गरे पनि सामाजिक दूरी कायम गर्नुपर्ने अनिवार्य गरेको थिएन ।

श्रमिकलाई बाध्यकारी श्रममा लगाएको भन्दै अमेरिकाले टप ग्लोब्सद्वारा उत्पादित मेडिकल पन्जा खरिदमा रोक लगाएपछि कम्पनी दबाबमा परेको थियो । कम्पनीले श्रमिकहरू आउँदा लागेको लागत खर्च शोधभर्ना गर्न सुरु गरिरहेका बेला श्रमिकमा कोरोना संक्रमण फैलिएपछि अर्को चुनौती थपिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार मलेसिया सरकारले नै टप ग्लोब्समाथि निगरानी बढाइरहेको छ । ‘यो कम्पनीमा समस्या छ । यसलाई सुधार गर्न मलेसिया सरकारले दबाब बढाइरहेको देखिन्छ,’ उनले भने ।

टप ग्लोब्सले भने आइतबार विज्ञप्ति जारी गर्दै श्रमिकहरूको बासस्थललाई गुणस्तरीय बनाइरहेको दाबी गरेको छ । ‘मलेसिया सरकारले बासस्थलसम्बन्धी तय गरेको मापदण्डलाई कार्यान्वयन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले मलेसियाको मानव संसाधन मन्त्रालय र श्रम विभागको नजिक रहेर समन्वय गरिरहेका छौं ।’

कम्पनीले श्रमिकको बासस्थलको सुरक्षा र सुधारका लागि १७.५ मिलियन अमेरिकी डलर लगानी गरिसकेको जनाएको छ । ‘दुई महिनाभित्र ५ मिलियन डलर खर्च गरेर एक सयवटा अपार्टमेन्ट खरिद गर्नुका साथै केही आवासीय भवनहरू भाडामा लिइने छ । सन् २०२१ भित्रमा बृहत् बासस्थलहरू तयार भइसक्नेछन्,’ कम्पनीले भनेको छ । श्रमिकलाई मासिक १२ सय रिंगेट दिइरहेको पनि जनाइएको छ । ‘ओभरटाइमसहित मासिक १६ सय रिंगेट पाउँछन्,’ कम्पनीको दाबी छ ।

मलेसियामा पछिल्लो समय दैनिक १ हजारभन्दा बढी कोरोना संक्रमितहरू फेला पर्ने गरेका छन् । विदेशी श्रमिक बस्ने बासस्थल र कार्यस्थल भीडभाडयुक्त भएकोले संक्रमण फैलिएको भन्दै व्यवस्थित गर्ने मलेसियाका सरकारी अधिकारीहरूले बताउँदै आएका छन् । मलेसियामा हालसम्म ८३ हजारभन्दा बढीलाई कोरोना संक्रमण भइसकेको छ । १३ हजार ६ सयको हाराहारी सक्रिय संक्रमित छन् । ४ सय १५ जनाको मृत्यु भइसकेको छ ।

Published on: 15 December 2020 | Kantipur

Link

Back to list

;