s

तोकिएको ज्याला माग गर्दै चिया मजदुर आन्दोलनमा

लक्ष्मी काफ्ले
 
सरकारले तोकेको न्यूनतम ज्याला नपाएपछि चिया मजदुर आन्दोलनमा छन । मजदुरहरूले सोमबार बिहानै औजारसहित सबै बगानमा चिया टिप्ने बोरा र थैली भुइँमा ओछयाएर धर्ना दिएका छन । नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङका अनुसार झापा, पाँचथर र धनकुटाका ५२ वटा बगानमा चिया मजदुरले आन्दोलन गरिरहेका छन ।
 
सरकारले गत साउनदेखि लागू हुने गरी चिया बगान तथा कारखानाका श्रमिकको न्यूनतम ज्याला दैनिक ३ सय ८५ रुपैयाँ तोकेको थियो । तर, सरकारले तोकेको सो ज्याला चिया उद्योगीले दिन नमानेपछि मजदुरहरू पटक–पटक आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ । सरकारले नयाँ ज्याला तोकेको ९ महिना पूरा भइसक्दा पनि आफूहरूले पुरानै ज्याला पाइरहेको उनले बताए ।
 
हाल चिया मजदुरले दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाउँदै आएका छन । अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाका अनुसार धनकुटा र इलामका केही उद्योगमा बाहेक अन्य ठाउँमा सरकारले तोकेको ज्याला कार्यान्वयन भएको छैन ।
 
श्रम ऐनमा भएका सेवा सुविधा कार्यान्वयन नगरे, तोकिएको मितिदेखिकै न्यूनतम पारिश्रमिक नपाए र चिया श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत नगरे आन्दोलन नरोकिने उनको भनाइ छ ।
 
झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुममा चिया उत्पादन हुँदै आएको छ । नेपालमा चिया बगान स्थापना भएको १ सय ५५ वर्ष भए पनि चिया श्रमिकहरूले शोषण भोग्दै आएको मजदुर नेताहरू बताउँछन । मजदुर संगठनहरूका अनुसार मुलुकमा हाल ५३ हजार चिया श्रमिक छन् ।
 
Published on: 2 April 2019 | Naya Patrika

Back to list

;