s

'तीर्थधाममा डोली बोक्नेहरूको गणनै छैन’

देवेन्द्र भट्टराई

बद्री केदार क्षेत्रमा १० वर्षदेखि होटल चलाउँदै र डोले काम गर्दै आएका रुकुम, साँख ४ का हिमबहादुर खड्गा (प्रेम) लाई बितेको १० दिन कुनै भयावह सपनाबाट तर्सिएर ओछ्यानबाट हाम फालेको समयझैं लाग्छ ।

केदारनाथ धामबाट ७ किलोमिटर तलको रामबाणामा होटल चलाउँदै आएका ३१ वर्षे प्रेमका अनुसार जुन १६ (असार २) को राति बाढीपहिरोको चपेटा सुरु भएपछि उनी ज्यान मात्रै लिएर त्यहाँबाट भागेका थिए । 'रामबाणामा मात्रै नेपालीका ३५ वटा होटल थिए, ती सबै बगेर गए । सबैजसो धर्मशाला पनि छिनभरमै बाढीमा मिले,' सात दिनसम्म कष्टपूर्ण पैदल हिँड्दै श्रीनगर (गढवाल) बाट ऋषिकेश आइपुगेका प्रेमले कान्तिपुरसँग भने । गुप्तकासी हुँदै देउप्रयागबाट श्रीनगर आइपुगेका उनले एकै दिनमा ५५ किलोमिटरसम्म पैदल हिँड्नुपरेको सुनाए ।

वैशाखदेखि कात्तिकसम्म होटल चल्ने होटलमा फुर्सद हुँदा प्रेम डोले काम पनि गर्छन् । 'स्थानीय जिल्ला पञ्चायत, क्षेत्र समितिबाट डोले कामका लागि अनुमति पत्र (लाइसेन्स) बनाउनुपर्छ, यो सिजनमा मात्रै ७ हजार नेपाली श्रमिकले यस्तो लाइसेन्स लिएका थिए,' प्रेमले सुनाए -'यी सबैजसो केदारनाथ आसपासबाट भागेका छन् । कति बाँचेका छन्, कति बाढीमा बगे 'म अन्दाज गर्न सक्तिनँ ।'  

प्रेमसहित झन्डै ५ सय श्रमिक मिलेर त्रिशूलीनारायण पर्तिरको खोलामा रूख ढालेर पुल बनाएका थिए । त्यो रूखको ढाट बहेर सयजति श्रमिक साथीहरू बाढीमा परेको उनले सुनाए । रामबाणा मास्तिरको चिर्पटे ताल फुटेर यो क्षेत्रमा विपत्ति बढेको उनको भनाइ छ ।

'यहाँ सबैतिर तीर्थयात्रुको कुरामात्रै भइरहेको छ, मजस्ता डोली बोक्ने, साना होटल चलाउने र भरियाहरूको यहाँ कुनै चासो देखिएको छैन,' प्रेमले भने, 'मसँगै मेरा साथीहरू जोगेन्द्रसिंह ओली, खड््गबहादुर, मनबहादुर घर्तीसमेत हराइरहेका छन् । यसको जानकारी कहीं कतै गराउन सकिएको छैन ।' ऋषिकेशस्थित एक गेस्ट हाउसमा बेखर्ची भएर बसिरहेका प्रेमलाई नेपाली दूतावासका अधिकारीले २ हजार रुपैयाँ सहयोग गरेका थिए ।

यस्तै सल्यान दार्माकोट गाउँबाट बद्री-केदारनाथमा डोले काम गर्न गएका ५० श्रमिकमध्ये २ जनामात्रै गाउँ फिरेपछि उनीहरू आफ्ना हराएका साथीहरूको नाम उत्तराखण्डका सूचना सम्पर्क केन्द्रमा टिपाउन व्यस्त छन् । दार्माकोटका कुलबहादुर र लालबहादुर विक मात्रै विपत्तिबाट उम्केर गाउँ पुगेका हुन् । 'भलचौरको इन्द्रबहादुर र भीमराज विक पनि गौरीकुण्डबाट केदारनाथसम्म डोली बोक्ने काममा थिए, अरू सयौं साथी कोही आँखैसामु बाढीमा बगे । कोही ठेगानपत्तो नभई पहाडमा भागिरहेका थिए,' उनले भने ।

नेपाली दूतावासका अधिकारीले उत्तराखण्डको देहरादूनस्थित राज्य आपतकालीन परिचालन केन्द्रमा सल्यान, रुकुम, रोल्पा, जाजरकोटबाट बद्री-केदारनाथ रुटमा काम गर्ने नेपाली श्रमिकको १ सय जतिको सम्पर्कहीन सूची बुझाएका छन् । तर स्थानीय जानकार पुष्पराज पाण्डेयका अनुसार उत्तराखण्डमा डोले, श्रमिक, भरिया काम गर्ने मात्रै १२ हजार जति नेपाली छन् । यही क्षेत्रमा खच्चडमा सामान बोकाएर भरियाको काम गर्ने नेपाली पनि उत्तिकै छन् । मंगलबार मात्रै सुर्खेत, सहारेका २५ वषर्ीय धनबहादुर बुढा खच्चडसहित ७ दिनदेखि सम्पर्कहीन रहेको जानकारी सूचना केन्द्रमा आएको छ ।

अझै पनि बद्री-केदारनाथ तीर्थयात्रामा गएकामध्ये ३ सयभन्दा बढी नेपालीको सम्पर्कविहीन छन् । बद्री-केदारनाथ यात्रामा निस्केका नेपाली तीर्थालुमध्ये बद्रीनाथमा अल्झेका ३१ जनाको मंगलबार पनि उद्धार हुन सकेको छैन । सोमबारदेखि परेको निरन्तरको बर्षाले हवाई उद्धारको काम असम्भव भएपछि ८२ बर्षीया गंगालक्ष्मी श्रेष्ठसहितका काठमाडौंबाट गएका २८ र चितवनका ३ जनाले बद्रीनाथमै उद्धार पर्खिरहेका छन् । बद्रीनाथमा व्यवसाय गर्दै आएका जितबहादुर खत्रीका अनुसार सबै तीर्थयात्रु सुरक्षित रहेको भए पनि तत्काल उद्धारको सम्भावना भने कम छ । विपत्तिबाट ज्यान जोगाएर पैदल हरिद्वार आइपुगेका ४० नेपाली यात्रु मंगलबार रुपडिया हुँदै नेपाल गएका छन् ।

केन्द्र र राज्य सरकारले बेपत्ताको खोजी गरिरहेको छ । विपत्तिको १३औं दिनमा हरिद्वारमा ठूलो महायज्ञ लगाउने घोषणा उत्तराखण्ड सरकारले गरेको छ । विपत्ति असार २ बाट सुरु भएको थियो ।

२५० शव केदारनाथमा जलाइने गौरीकुण्डदेखि केदारनाथसम्म फेला परेका पहिचानविहीन २ सय ५० शव बुधबार केदारनाथकै स्थानीय घाटमा जलाइने भएको छ । उत्तराखण्ड सरकारले स्थानीय सञ्चारमाध्यममा दिएको जानकारीमा ७२ घन्टाभन्दा बढी शव राखिएको अवस्थामा कुहिन थालेको र पहिचानका लागि डीएनए स्याम्पल संग्रहित गर्दै जलाउन लागिएको हो । त्यसका लागि मंगलबार मात्रै दाउरा र घिउ केदारनाथ क्षेत्रमा पुर्‍याइएको जानकारी दिइएको छ ।

एयरफोर्स विमान दुर्घटना गौरीकुण्डबाट १९ यात्री लिएर देहरादून फिर्दै गरेको भारतीय सेनाको एयरफोर्स विमान गौरीकुण्ड नजिकै पहाडमा दुर्घटनाग्रस्त भएको छ । गौरीकुण्डस्थित पत्रकार लकपत राणाले दिएको जानकारीमा विमानमा एमआई १७ मा ५ उड्डयन कर्मचारी तथा अन्य तीर्थयात्रु थिए । दुर्घटनामा पाइलटसहित ९ जना तीर्थयात्रुको मृत्यु भएको भनिए पनि यसको विवरण खुलाइएको छैन ।

Published on: 26 June 2013 | Kantipur

Back to list

;