s

तीन हजार कामदार स्वदेश फर्किए

काठमाडौं : कोरोना भाइरस(कोभिड १९) का कारण वैदेशिक रोजगारीको क्रममा समस्यामा परेका ३ हजारभन्दा बढी नेपाली कामदार स्वदेश फर्केका छन्। गैरआवासीय नेपाली संघको पहलमा विदेशमा अलपत्र ३ हजार एक सय आठ जना नेपाली स्वदेश फर्र्किएका हुन्। सरकारले साउन ३२ देखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी एयरलाइन्सबाट विदेशी भूमिमा समस्यामा परेका नेपालीलाई फर्काउन सुरु गरेसँगै उक्त मात्रामा कामदार फर्केका हुन्।

संघका अनुसार मलेसियाबाट १ सय १८, यूएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपाली फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्घार गरिएको छ।

बंगलादेशबाट २ सय ५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियाबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएका छन्। यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्केका छन्। दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्।

कोरोना भाइरस (कोभिड १९) का कारण यो साता विदेशमा थप तीन जना नेपालीको ज्यान गएको छ। गैरआवासीय नेपाली संघका अनुसार कतारमा कार्यरत तीन जना नेपालीको निधन भएको हो। यो सँगै कोरोनाका कारण विदेशी भूमिमा एक सय ३० नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत साता संक्रमणका कारण नेपालीको मृत्यु नभए पनि यो साता कोरोनामा वैदेशिक रोजगारीमा गएका तीन नेपालीको कोरोनाका कारण ज्यान गएको हो।

यो साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। हालसम्म विभिन्न ३५ देशमा बस्नेत १७ हजार ७ सय ९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्।

यो साता विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना जितेर घर फर्किएका छन्। डेनमार्क, नेदरल्यान्ड, अस्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्यान्ड, रुस, न्युजिल्यान्ड, क्यानडा, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, स्विडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायत १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएको संघले जनाएको छ।

हालसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेनलगायत १३ देशमा रहेका नेपालीले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्।

विभिन्न देशमा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ४० जना नेपालीको शव नेपाल ल्याइएको छ। लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल पछिल्लो एक हप्तायता ल्याइएको हो।

संघका अनुसार कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको छ। लडाउनको समयमा निधन भएका तीन सय जनाका एक सय १४ जनाका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन्। एक सय ६४ शव गन्तव्य देशमै रोकिएका छन्।

वैदेशिक रोजगार बोर्डले पछिल्लो समय शव ल्याउनभन्दा गन्तव्य देशमै दाहसंस्कार गर्न प्रेरित गरिरहेको छ। अनुसन्धानकर्ता रामेश्वर नेपालले शव उतै व्यवस्थापन गर्न परम्परा, साँस्कृतिक र धर्मले नमान्ने बताए। ‘गन्तव्य देशमै अन्त्येष्टि गर्न परिवारलाई दवाव दिनुहुन्न’, उनले भने।

Published on: 22 June 2020 | Annapurna Post

Link

Back to list

;