s

तीन सय नेपाली कामदार लैजान इजरायल सहमत

इजरायलले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सयजना नेपाली कामदार लैजाने भएको छ। यसरी जाने नेपाली नेपालीले केयर गिभर (हेरचाह गर्ने) को काम गर्नुपर्नेछ। नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच सोमबार भएको वार्तामा यस्तो सहमति भएको हो। कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन। द्विपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटीबारे टुंगो लगाउने सहमति भएको छ।

इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ। इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदूत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो। टोलीले आइतबार श्रम तथा रोजगारमन्त्रीसहित मन्त्रालयका उच्‍चअधिकारीसँग वार्ता गरेको थियो भने सोमबार श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीसँग वार्ता गर्‍यो।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले पाइलट प्रोजेक्टअन्तर्गत पहिलो चरणमा तीन सय नेपाली कामदार लिन इजरायल सहमत भएको जानकारी दिए। 'पठाउने विधि र प्रक्रियाबारे भने अन्तिम निर्णय हुन बाँकी छ', उनले भने। अहिलेको योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्। योजनाअनुसार काम भएमा सन् २०१४ भित्रै नेपाली कामदार इजरायल जान पाउनेछन्।

उनका अनुसार इजरायलले नेपालबाट दक्ष कामदार लिन चाहेको छ। तालिमप्राप्त तथा उच्चशिक्षा हासिल गरेका कामदार पठाउन इजरायलले जोड दिएको छ। पहिलो चरणमा जाने तीन सय कामदारमा अधिकांश महिला हुनेछन्। नेपालले तीन सयजना कामदार एकैचोटि पठाउने प्रस्ताव गरे पनि इजरायलले चरणबद्ध रूपमा लैजाने संकेत दिएको छ।

इजरायल पठाउने कामदारको परीक्षा लिने सहमति भए पनि परीक्षा लिखित, मौखिक वा दुवै हुने भन्ने टुंगो लागेको छैन। नेपालले कोरियाली मोडेलमा कामदार पठाउने प्रस्ताव गरेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) को राम्रो अनुभव रहेकाले सोही मोडेल प्रभावकारी हुने प्रस्ताव नेपालले राखेको हो। इजरायली पक्षले यो प्रस्तावमा औपचारिक धारणा दिएको छैन।

म्यानपावर कम्पनीबाट कामदार पठाउन बन्द भएपछि नेपालले सिक र कमाऊ (लर्न एन्ड अर्न) अवधारणामा नेपाली प्रशिक्षार्थी कामदार इजरायल पठाउने तयारी गरेको हो। नेपालले सहुलियत दरमा ऋण उपलब्ध गराई सिक र कमाऊ अवधारणामा प्रशिक्षार्थी कामदार पठाउने प्रस्ताव गरेको छ। यसरी जाने कामदारले तोकिएको अवधि पूरा गरेपछि नेपालमै फर्किएर काम गर्नुपर्नेछ।

इजरायल महिला कामदारका लागि आकर्षक गन्तव्य मानिन्छ। इजरायलमा केयर गिभर महिलाको धेरै माग हुने गरेको छ। कृषि क्षेत्रमा पनि कामको अवसर धेरै छ। कृषि क्षेत्रमा भने पुरुष कामदारसमेत पठाउने सरकारी योजना छ। विगत चार वर्षयता इजरायलमा नेपाली कामदार जान पाएका छैनन्। जाने कामदारसँग ७५ हजार रुपैयाँमात्र लिन पाइने नियम भए पनि म्यानपावर कम्पनीले सात लाख रुपैयाँसम्म असुलेपछि इजरायलले नेपाली कामदार लैजान रोकेको थियो।

इजरायलले पूर्वजानकारी नदिई कामदार लिन रोक लगाएपछि जाने तयारीमा रहेका करिब चार सय कामदार अलपत्र परेका थिए।

Published on: 16 September 2014 | Annapurna Post

Back to list

;