s

तीन संदिग्ध इरानी हिरासतमा

शम्भु कट्टेल

इरानीको गैरकानुनी प्रवेश रोक्न अध्यागमन विभागले इरानी नागरिकलाई दिँदै आएको अन—अराइभल भिसा रद्द गर्न छलफल अघि बढाएको छ।  अर्को मुलुकको नक्कली राहदानीमा इरानीहरू शंकास्पद तवरबाट धमाधम नेपाल प्रवेश क्रम बढेपछि विभाग अन-अराइभल भिसा रद्द गर्न अघि सरेको हो। गृह मन्त्रालयले गैरकानुनी ढंगले प्रवेश गरेका २४ भन्दा धेरै इरानीलाई निष्काशन गरिसकेको छ।

त्यसरी नक्कली राहदानी बोकेर आएका ३ इरानी अहिले अध्यागमन विभागको हिरासतमा छन्। उनीहरू क्रमशः डेनमार्क, स्पेन र जर्मनीको नक्कली राहदानी लिएर आएका हुन्।  पछिल्लो पटक डेनमार्कको नक्कली राहदानीमा बाबाक फिरोजी, स्पेनको राहदानीमा सादेग महदिन र जर्मनीको राहदानीमा हमिद माफी नेपाल छिरेका हुन्। तीमध्ये स्पेनको नक्कली राहदानीमा आएका महदिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले चैत ३० मा पक्राउ गरेको हो।

गैरकानुनी ढंगले नेपाल प्रवेश गर्ने इरानीका गतिविधि कुनै पनि बेला सुरक्षा चुनौती बन्न सक्ने देखिएको छ। प्राविधिक हिसाबले कमजोर अध्यागमन प्रणाली र विदेशीमाथि अनुगमन नहुँदा त्यसको फाइदा उठाएर इरानीलगायत विदेशी गैरकानुनी ढंगले प्रवेश गरिरहेका छन्। नेपाललाई ट्रान्जिट बनाइ युरोप पस्न उनीहरू नेपाल आउने दाबी गरे पनि विभागका अनुसन्धानले वास्तविकता बाहिर ल्याउन सकेका छैनन्। इरानीहरू ट्रान्जिट बनाउन मात्र नेपाल आएका हुन् वा कुनै गम्भीर घटना गराउन नेपाल आएका हुन् गहिरो अनुसन्धान गर्नुपर्ने देखिएको छ। अर्को देशको नक्कली राहदानीमा आएर उनीहरूले नेपालको सुरक्षा कमजोरी साबित गर्ने प्रयासमा छन्।

गैरकानुनी ढंगले नेपाल प्रवेश गर्ने इरानीलगायत अन्य अवैध आप्रवासीका गतिविधि कुनै पनि बेला सुरक्षा चुनौती बन्न सक्ने देखिएको छ।

तारबाट इरानी राहदानीमा आएका महदिनले भिसा लिने क्रममा स्पेनको नक्कली राहदानी देखाएपछि अध्यागमन कर्मचारीले शंका लागी पक्राउ गरेका थिए। बयानका क्रममा उनले इरानबाट ९ हजार अमेरिकी डलरमा स्पेनको नक्कली राहदानी किनेको बताएका छन्। उनले त्रिवि अध्यागमन कार्यालयमा १५ दिनका लागि भिसा आवेदन दिएका थिए। अन्य २ इरानीको नक्कली राहदानी कर्मचारीले चिनेनन्। उनीहरूले बोकेको डेनमार्क र जर्मनीको नक्कली राहदानीमा आगमन अनुमति दिएका थिए। भारत र चीनको अध्यागमनले फिर्ता गरेपछि मात्र अध्यागमन कर्मचारीले राहदानी नक्कली भएको थाहा पाए।

केही दिन काठमाडौं बसेपछि डेनमार्क जाने क्रममा समेत त्यही नक्कली राहदानीमा अध्यागमनका कर्मचारीले प्रस्थान अनुमति दिएका थिए। भारतको दिल्ली अध्यागमनले डेनमार्कको राहदानी नक्कली ठहर्‍याएपछि त्यहींबाट इरानी नागरिक फिरोज फिर्ता भएका थिए। क्यानडा जाने क्रममा नेपाल पसेका माफीलाई समेत चीनको ग्वान्झाऊ अध्यामगनले फिर्ता पठाएपछि मात्र त्रिवि अध्यागमनले उनको राहदानी नक्कली भएको पत्तो पाए। त्रिवि अध्यागमनले स्पेन र जर्मनीको नक्कली राहदानीमा भिसा दिएका थिए। उनीहरू दुवैले नेपाल ओर्लिएपछि इरानको राहदानी लुकाएर नक्कली राहदानीमा नेपालको भिसा लिएका थिए। त्रिवि अध्यागमनले नेपाल प्रवेश गर्दा र बाहिरिँदा नक्कली राहदानीमा आगमन र प्रस्थान अनुमति दिएका थिए। त्रिवि अध्यागमन कर्मचारीले नक्कली राहदानीमा आगमन र प्रस्थान छाप दिनु मानवीय त्रुटि भएको अनौपचारिक प्रतिक्रिया दिएका छन्। त्रिवि अध्यागमन कर्मचारीले घटनाबारे औपचारिक प्रतिक्रिया दिन मानेनन्। अध्यागमनका एक अधिकारीले कमजोर प्रविधिका कारण इरानी मात्र नभइ धेरै देशका विदेशी नक्कली राहदानीमा नेपाल प्रवेश गर्ने बताए।  

Published on: 2 May 2019 | Annapurna Post

Back to list

;