s

तीन महिनायता बिदेसिने घटे

तीन महिनायता कामका लागि बिदेसिनेको संख्या निरन्तर घटिरहेको छ । माघमा गत वर्षको भन्दा ५ दशलमव १९ प्रतिशत कम युवा कामको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघमा २६ हजार ६ सय ७७ जना बिदेसिए । गत वर्ष यस अवधिमा २८ हजार १ सय ३६ युवा गएका थिए ।

सरकारले कागजातमा कडाइ गरेपछि संख्या घट्न थालेको हो । विज्ञहरू मुलुकमा रोजगारीको अवसर हुन नसक्दा पनि साउदी लगायत मुलुकमा देखिएको समस्याका कारण पनि बिदेसिने घटेको बताउँछन् ।

'पुसमा गत वर्षको सोही अवधिको तुलनामा २८ दशमलव ६६ प्रतिशतले बिदेसिने घटेका थिए,' तथ्यांक भन्छ, 'वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा मंसिर महिनामा पनि २६ दशमलव ६९ प्रतिशतले गिरावट आएको थियो ।' चालू आर्थिक वर्षको पहिलो ४ महिनामा निकै धेरै कामका लागि गएकाले समग्रमा पहिलो ७ महिनामा बाहिरिनेको संख्या २० प्रतिशत बढेको छ ।

चालू आवको सात महिनामा २ लाख २३ हजार ९ सय ४० जना बिदेसिएका छन् । गत वर्षको सोही अवधिमा १ लाख ८५ हजार ४ सय ७९ गएका थिए । विभागका अनुसार माघमा सबैभन्दा बढी कामदार कतार गए । कतारले निर्माण क्षेत्रलाई उच्च गतिमा अगाडि बढाएकाले त्यहाँ कामदारको माग बढेको हो । यस अवधिमा ८ हजार १ सय ९ कामदार कतार गएका छन् । त्यसपछि सबैभन्दा बढी साउदी अरब गए । माघमा साउदी जाने कामदारको संख्या ६ हजार ५ सय ३३ छ । मलेसिया ६ हजार १ सय ९ कामदार गए । यस्तै संयुक्त अरब इमिरेट्स जानेको संख्या २ हजार ६ सय ७१ छ ।

पछिल्लो तीन महिनामा पुनः श्रम स्वीकृति लिएर बिदेसिनेको संख्या पनि घटेको छ । मंसिरमा कुल २० हजार ९ सय ३० जनाले पुनः श्रम स्वीकृति लिएका थिए । पुसमा यो संख्या घटेर १८ हजार १ सय ३१ मा झर्‍यो । माघमा अझ घटेर १६ हजार ४६ पुग्यो ।

माघ महिनामा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या संस्थागत स्वीकृति लिनेको भन्दा धेरै कम छ । विभागका अनुसार २१ हजार ७९ जना कामदार संस्थागत स्वीकृति लिएर गएका छन् । जसमा २० हजार ६ सय २४ जना पुरुष र ४ सय ५५ जना महिला छन् । यस्तै व्यक्तिगत स्वीकृति लिने कामदारको संख्या ५ हजार ५ सय ९८ छ । जसमा ४ हजार २ सय ६८ जना पुरुष र १ हजार ३ सय १२ जना महिला छन् ।

Published on: 17 February 2012 | Kantipur

Back to list

;