s

तीन हप्ता वितिसक्दा पनि साउदीबाट आएन काशीराजको शव

गोपाल भण्डारी

कपिलवस्तु : साउदी अरेवियाको अल्जोफ सहरमा रोजगारीको सिलसिलामा रहेका बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज अधिकारीको शव ३ हप्ता भइ सक्दा पनि नेपाल आउन ल्याउन छैन । गत वैशाख २३ गते उनको अल्जोफ सहरमा मृत्यु भएको परिवार स्रोतले बताएको छ ।

साउदी अरेवियामा मृतकका अन्य साथीसँग सम्पर्क हुन नसक्दा र आफूहरुको शव ल्याउन सक्ने पहुँच नहुँदा मृतक काशीराजको शव नेपाल ल्याउन नसकिएको मृतकका भाइ शेरबहादुर अधिकारीले बताए । पतिको शव घरसम्म ल्याउन नसक्दा उनकी पत्नी लक्ष्मी भूषाल सहयोगका लागि दैनिकजसो भौतारिने गरेकी छिन् ।

उनका पति ४९ वर्षीय काशीराज अधिकारीको गत वैशाख २३ गते साउदी अरेवियाको अल्जोफमा मृत्यु भएको खबर उनले पाएकी थिइन् । तर आजसम्म पनि शव ल्याउन नसक्दा पति वियोगको पीडा लिएर शव घर ल्याउन चौतर्फी हारगुहार गर्दै हिँडेकी छिन् ।

श्रीमानको शव ल्याउन पहल गरिदिन आग्रह गर्दा जिल्ला प्रशासनबाट खासै पहल हुन नसकेको उनको गुनासो छ । १२ वर्षदेखि साउदी अरेवियामा काम गर्दै आएका उनका काशीराज यस वर्षको दशैंमा घर आउने योजनामा थिए।

४ वर्ष अघि पछिल्लो पटक आफ्ना पति साउदी अरेविया गएको उनले बताइन् । गाउँमा वन क्षेत्रमा घर बनाइ बसेका मृतक काशीराजका परिवारको जग्गा जमिन छैन । मृतक अधिकारीकी श्रीमती र २ छोरी र १  छोरा छन्। उनीहरु सबैको खर्च मृतक अधिकारीले नै व्यहोर्दै आएका थिए। तर उनको मृत्युसँगै अधिकारी परिवारमा बज्रपात परेको छ ।

अधिकारीको शव ल्याउनका लागि वडादेखि नगरपालिकाहुँदै पीडित जिल्ला प्रशासन कार्यालय तौलिहवा धाइरहेका छन् । तर उनीसँग काशीराजको मृत्यु दर्ता प्रमाण पत्र नहुँदा जिल्ला प्रशासन कार्यालबाट पहल अघि बढ्न नसकेको मृतक अधिकारीका आफन्त अच्युत अर्यालले बताए ।

पतिको मृत्युको खबर साउदी अरेवियाको कम्पनीबाटै आफूलाई आएको र कम्पनीले प्रक्रिया मिलाएर शव घर पठाइदिने आवश्वासन प्राप्त भएको लक्ष्मीले बताइन्। मृतक अधिकारीको पत्नी लक्ष्मीले भनिन्,'३ हप्ता बढी हुँदा पनि शव अझै आउन सकेको छैन ।'

Published on: 29 May 2021 | Annapurna Post

Link

Back to list

;