s

तीन देशले आफ्ना नागरिकलाई लेबनान छाड्न भने

होम कार्की

लेबनानमा असुरक्षा बढेको भन्दै खाडीका तीन मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई तत्काल उक्त मुलुक छाड्न निर्देशन दिएको छ । त्यहाँ झन्डै ९ हजार नेपाली कार्यरत छन् । सिरियामा जारी हिंसाको प्रभाव लेबनानमा देखिन थालेपछि अरबका शक्तिशाली देश कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबले आफ्ना नागरिकलाई फिर्ता बोलाएको हो । यी देशका अधिकांश नागरिकको घर लेबनानमा छ । उनीहरूको घरमा नेपाली महिला कार्यरत छन् । लेबनान खाडी मुलुकको 'स्विट्जरल्यान्ड' का रूपमा मानिन्छ । 
 
गत बिहीबार लेबनानमा ३३ जना सिरियाली नागरिकको अपहरणसमेत भएको थियो । त्यसले बेरुतको विमानस्थल रोडमा दंगासमेत भएको एजेन्सीहरूले जनाएका छन् । सिरियासँग सिमाना रहेको लेबनानमा सिरियाली नागरिकको बाहुल्य छ । गएको मेमा तीर्थ यात्रामा गएका लेबनानी सिरियामा अपहरणमा परेका थिए । समाचारहरूमा त्यसकै विरुद्ध लेबनानमा सिरियालीमाथि आक्रमण भएको जनाइएको छ । लेबनानमा घरेलु महिला कामदार र विभिन्न कम्पनीमा नेपाली कार्यरत छन् । त्यहाँ कार्यरत अधिकांश नेपाली महिला यूएई, कतार र साउदी अरबका नागरिककै घरमा काम गर्छन् । अहिले खाडीमा निकै गर्मी बढेकाले तीन देशका अधिकांश नागरिक लेबनानको पहाडी क्षेत्रमा गएर बस्ने गरेका छन् । उनीहरूसँगै नेपाली महिला कामदार पनि त्यता जाने गरेका छन् । 'लेबनानको सुरक्षा व्यवस्था दिनहुँ कमजोर बन्दैछ,' लेबनानस्थित कतारको दूतावासको भनाइ उद्धृत गर्दै कतारको राष्ट्रिय समाचार एजेन्सीले भनेको छ, 'कतार आफ्ना नागरिकलाई तुरुन्त लेबनान छाड्न निर्देशन जारी गर्छ ।' 
यूएईको परराष्ट्र मन्त्रालयले 'लेबनानमा अप्रत्याशित रूपमा अवस्था गम्भीर बनेको' जनाएको छ । लेबनानको बेरुतमा कार्यरत गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष दीपेन्द्र उप्रेतीलेे 'हालसम्म नेपाली सुरक्षित' रहेको बताए ।  
उनका अनुसार नेपालीलाई परिचयपत्र लगाएर हिँडडुल गर्न अनुरोध गरिएको बताए । 'नेपालीको सुरक्षाका लागि परिचयपत्र लगाउन भनिएको छ,' लेबनानस्थित अवैतनिक महावाणिज्य दूतावासका स्वयंसेवीसमेत रहेका उनले भने, 'अधिकांश महिला घरेलु कामदारमा कार्यरत छन् । पुरुषहरू क्याम्पबाट बढी बाहिर निस्कने गरेका छैनन् ।' त्यहाँ पुरुष कामदारहरू पाँच सय मात्रै छन् । लेबनानमा शान्ति स्थापनाका लागि इजरायलको सिमाना नेपाली सेना कार्यरत छन् । मिसनले यस विषयमा औपचारिक सूचना दिएको छैन ।
 
Publishedon: 19 August 2012 | Kantipur

Back to list

;