s

३ वर्षदेखि मलेसियाको जेलमा

महराजगन्ज २, चमरसठका एक युवा ३ वर्षदेखि मलेसियाको कारागारमा थुनिएका छन् । छोरा फसाइएको भन्दै परिवारले चिन्ता व्यक्त गरेका छन् । ०६५ असार १६ मा मलेसिया उडेका ३२ वषर्ीय बिन्देश्वरीप्रसाद कुर्मीबारे परिवारलाई खासै जानकारी छैन । एक भियतनामी महिलालाई बलात्कार गरी हत्या गरेको अभियोग लगाइएको सुनेको परिवारले बताए ।

मलेसियाको पेनाङस्थित याओ न्यु इन्डस्टि्रज प्लास्टिक कम्पनीमा काम गर्न गएका उनी जेल परेको खबर उनका साथीले दिएको विशम्भरले बताए । उनी अहिले पेनाङस्थित अल वास्था विग कारागारमा छन् । घटनाबारे कसैले परिवारलाई आधिकारिक जानकारी दिएको छैन । साथीका अनुसार एउटै कम्पनीमा काम गर्ने भियतनामी महिलालाई बलात्कारपछि हत्या गरी फालिएको अभियोगमा उनी पक्राउ परेको बताइएको छ । सुरुमा घटनामा संलग्न रहेको अभियोगमा उक्त कम्पनीमा काम गर्ने भियतनामी, म्यानमार र नेपाली गरी ४४ जनालाई पक्राउ गरिएकामा सबैलाई छाडेर कुर्मीलाई मात्रै मुद्दा चलाइएको उनका साथीको भनाइ उद्धृत गर्दै दाजु विशम्भरले बताए ।

१ लाख १० हजार ऋण खोजेर रोजगारका लागि गएका कुर्मीले १० महिनामा ७० हजार पठाएका थिए । भाइ पक्राउ परेको १८ महिनापछि श्रम तथा यातायात मन्त्रालयमा गई तथ्य पत्ता लगाई कानुनी सहयोग उपलब्ध गराइदिन अनुरोध गर्दै दाजुले निवेदन दिएका थिए । तत्काल श्रमले परराष्ट्रलाई पत्र पठाए पनि अहिलेसम्म भाइकाबारे कुनै जानकारी नमिलेको हो ।

छोरा कहिले आउँछ भनेर बाटो हेर्दाहेर्दै ४ वर्ष हुन लाग्यो तर अनेकथरि कुरा सुन्दा पीडाले मन रुने आमा तारामतिले सुनाइन् । नातिनातिनाले बुवा खोइ भन्दै सोध्ने गरेकाले त्यसको जवाफ दिन नसकेको ६१ वषर्ीय बाबु बुधीरामले बताए । बाबु नहँुदा ९ वर्षकी छोरी निलम र ५ वषर्ीय छोरा सन्तोषले पढ्न छाडेका छन् ।

गरिब र विपन्न कुर्मी परिवार काठमाडौंका एक कानुन व्यवसायीमार्फत मेलसियाका एक वकिलको सम्पर्कमा पुगेका छन् । जसविर नामका वकिलले पैसा खर्च गर्न सके छोरा छुट्ने भन्दै परिवारसँग ७ लाख माग गरेका छन् । तर आफूहरूले यत्रो रकम दिन नसक्ने बताएको दाजु विशम्भरले बताए । पैसा खर्च गर्न नसके मलेसियामा यस्तो अपराधमा मृत्यु दण्डसम्मको सजाय हुन सक्ने वकिलको भनाइ उद्धृृत गर्दै दाजुले बताए ।

Published on: 16 December 2012 | Kantipur

Back to list

;