s

तिलोत्तमाले विपन्नको घरघरमा पुर्‍यायो खाद्यान्न

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दैनिक ज्यालादारीमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका अति विपन्न परिवारलाई घरमै पुगेर खाद्यान्न उपलब्ध गराउन थालेको छ ।

लकडाउन अवधिमा विपन्न वर्गलाई छाक टार्न समस्या भएपछि नगरपालिकाले टोल विकास संस्थाहरूको सिफारिसमा शुक्रबारदेखि खाद्यान्न उपलब्ध गराउन सुरु गरेको हो ।

शुक्रबार नगरपालिकाको वडा नम्बर ४ बाट सुरु गरिएको खाद्यान्न वितरण सबै वडामा चल्नेछ । वडा नम्बर ४ को सीमानगरमा नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले खाद्यान्न वितरण सुरु गरे ।

शुक्रबार वडा नम्बर ४ र ५ का विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराइएको र यसले दैनिक ज्याला मजदुरी गरेर खाने विपन्न वर्गलाई थोरै भए पनि राहत पुगेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यून गर्न देशव्यापी लकडाउन भएकाले मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने परिवारका लागि तत्काल प्रतिपरिवार १० किलो चामल, दुई किलो दाल र एक किलो नुन घरमै पुर्‍याउने नगरपालिकाले बिहीबार निर्णय गरेको थियो ।

नगरप्रमुख घिमिरेले भने, ‘सम्बन्धित टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले आफ्नै गाडीबाट घर–घरमै खाद्यान्न पुर्‍याइदिनेछ ।’

घरमै खाद्यान्न पाएपछि तिलोत्तमा वडा नम्बर ४ सीमानगरका इन्द्र थापाले संकटका वेलामा नगरपालिकाले सहयोग गरेपछि आडभरोसा मिलेको बताए ।

तिलोत्तमाले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई काममा लगाउने निर्माण व्यवसायी, उद्योगधन्दा, ठेकेदार, घरधनीलाई उचित व्यवस्थापन गर्न पनि अनुरोध गरेको छ ।

नगरका १७ वटै वडामा रहेका विपन्न परिवारको तथ्यांक संकलन गरी राहतको व्यवस्था गरिने नगर प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

नगरका १७ वटै वडामा रहेका टोल विकास संस्थाहरूले विपन्नहरूको पहिचान गरी वडा कार्यालयमा जानकारी गराएपछि वडाको सिफारिसको आधारमा नगरपालिकाले खाद्यान्न उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

Published on: 27 March 2020 | Nayapatrika

 

 

Link

Back to list

;