s

तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै अगाडि सार्‍यो योजना

तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै विभिन्न योजना अगाडि सारेको छ। चालू आर्थिक वर्षमा बेरोजगार जनशक्तिलाई उद्योग स्थापनामार्फत् रोजगारी प्रदान गर्ने लक्ष्यसहित नगरपालिकाले विभिन्न योजना ल्याएको हो। यसका लागि लगानीकर्तालाई विभिन्न छुट सुविधा समेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ।
 
तिलोत्तमा नगरपालिकाले उद्योगमा लगानी गर्न चाहनेहरूलाई आकर्षित गर्न र बेरोजगार जनशक्तिलाई नगरभित्रै अवसर सिर्जना गर्न भन्दै न्यूनतम १० जनालाई रोजगारी दिने उत्पादनमूलक उद्योगहरूको करमा छुट दिने योजना बनाएको छ।
 
चालू वर्षमा उद्योग सञ्चालन भएमा आगामी ३ वर्षसम्म लाग्ने व्यवसायिक करमा २० प्रतिशत छुट दिइने छ। त्यस्तै, कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने उत्पादनमूलक चालू उद्योगको नाममा रहेको जमिनमा लाग्ने सम्पत्ति करमा पनि १५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ।
 
अपांगता भएका व्यक्तिले सञ्चालन गरेको उद्योग/व्यवसायहरूमा तोकिएको करमा ५० प्रतिशत छुट दिने नीति समेत नगरपालिकाले अवलम्बन गरेको छ।
 
त्यस्तै, नगरपालिकाले औद्योगिक ग्राम, नगर तालिम केन्द्र, सीपमूलक तालिम सञ्चालन समेतका कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा उद्योग क्षेत्र शिर्षकमा एक करोड २१ लाख रकम विनियोजन गरेको छ ।
 
नगरपालिकाका उपप्रमुख जगेश्वरीदेवी चौधरीले एकल महिलाले संचालन गरेका उद्योग तथा कम्तीमा ५० जना नेपाली नागरिकलाई रोजगारी दिने खालका उद्योगको सम्पत्ति करमा छुट दिने नीति अघि सारेको बताइन्।
 
नगरपालिकाले उद्योग क्षेत्र शिर्षकमा विनियोजन गरेको बजेटबाट नगरपालिकामा रहेका समग्र औद्योगिक व्यवसायलाई प्रवर्द्धन गरिने उनले बताइन्।
 
नगरभित्र उद्योग स्थापनासँगै रोजगार बढाउनका लागि नगरपालिकाले उद्योगमैत्री वातावरण निर्माणका लागि प्रयास गरेको नगरप्रवक्ता सुरेन्द्र श्रीले बताए। नगरपालिकाले यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक क्षेत्रका लागि चाहिने जनशक्ति उत्पादन गर्न विषयगत तालिमलाई एकीकृत अवधारणा अनुसार नियमित रूपमा सञ्चालन गर्न वडा नं. २ र १५ वडा कार्यालयलाई ‘तिलोत्तमा नगर तालिम केन्द्र’ को रूपमा विकास गर्ने नीति लिएको श्रीले बताए।
 
तालिम केन्द्रले सञ्चालन गर्ने तालिमबाट धेरैजना स्वरोजगार बन्नेछन् । उद्योगीसँगको सहकार्यमा यो कार्ययोजना कार्यान्वयन गर्ने नगरपालिकाले जनाएको छ ।
 
नगरपालिकाबाट प्रदान गरिने तालिमहरूलाई सीपयुक्त र स्वरोजगारमूलक बनाउने गरी आगामी वर्ष न्यूनतम पाँचसय युवा/युवतीलाई स्वरोजगारमूलक तालिम प्रदान गरिने नगरपालिकाको लक्ष्य छ ।
 
Published on: 10 December 2018 | Setopati

Back to list

;